चितवन। साहित्यकार राजन पौडेलको मुक्तकसङ्ग्रह ‘अनिदो मन’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब नारायणगढले गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, मुक्तककारका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् ।कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा स्रस्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेका थिए । ५० को दशकको अन्त्य र ६० को सुरुवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए । सोही क्रममा पौडेलले कृतिमा रहेका मुक्तक वाचन गरेका थिए । पौडेल भरतपुर- ८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् ।
प्रेमवस्ती मावि भरतपुर-७ बाट २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका पौडेल विद्यालयकालबाटै कविता लेखनमा लागेका थिए । पौडेलले पक्लिहवा क्याम्पस रुपन्देहीबाट कृषिमा प्रवीणता प्रमाणपत्र तह पास गरेका छन् । त्यसपछि रामपुर क्याम्पसबाट कृषिमा स्नातक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट स्नातकोत्तर गरेका छन् । सीटीइभीटी अन्तर्गत दिपायल, धनकुटा र चितवनमा करिब १५ वर्ष जागिर गरेका पौडेल पछिल्लो ४ वर्षदेखि परिवारसहित क्यानडमा छन् ।
नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेखनमा कलम चलाएका थिए । पौडेलका यसअघि `गजलपथका यात्रीहरू´ र `गजल बिम्ब´ गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा `आधारभूत मत्स्यपालन´ र सहलेखनका रूपमा `कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि´ गरी ४ वटा कृति प्रकाशित छन् । ५० को दशकमा पौडेलका सिर्जना रेडियो नेपाल प्रशारण तथा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रकाशन हुनेकाे गरेकाे अधिकारी बताउँछन् ।
पौडेलको पाँचौँ कृति अनिदो मन १२६ पृष्ठ र २३० वटा मुक्तक समावेश गरिएका छन् । पुस्तकको मूल्य ४०० रुपैयाँ कायम गरिएकाे छ । मुक्तक संग्रह सार्वजनिक कार्यक्रमलाई गजल मञ्च चितवन अध्यक्ष लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा कृशु अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ विमोचन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालकाे कविता संग्रह विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो ।
पुस्तक विमोचन कार्यक्रममा सर्जक संजाल मकवानपुर अध्यक्ष निमेष निखिलले कविले समाजलाई सही बाटो पहिल्याउन र देखाउनु पर्नेमा जोड दिए । ‘साहित्य भाषामा अनेक विधा हुन्छन्’ निखिलले भने ‘कविता विधा अरु साहित्य भन्दा फरक हुनुपर्छ।’ साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले कृशु अर्यालको कविता सङ्ग्रहको समिक्षा गरेका थिए ।
३७ वटा कविता समावेश भएको अर्यालको पुस्तकमा थोरै सम्पादनको खाचो आवश्यक रहेको बानियाँले औल्याएका थिए । अर्यालद्वारा लिखित पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको सापकोटाले बताइन् । पल्लवित पाइला अर्यालको पहिलो कृति हाे ।
स्थानीय पत्रपत्रिकामा प्रकाशित आफ्ना रचनाहरु समावेश गरी पुस्तक तयार गरेको अर्यालले बताइन् । स्कुलकाे माया, शिक्षक तथा हजुरबुवा दुण्डिराज पोखरेलको हौसलाले गर्दा पुस्तक प्रकाशनमा सहयोग मिलेको उनले बताइन् । उक्त पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा हुन् । दृढ स्वभाव भएकी कृशु अर्यालले सानै उमेरदेखि शब्द खेलाउँदै आएकाे विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताए ।
प्रधानाध्यापक सुवेदीको अध्यक्षता तथा सर्जक सञ्जाल अध्यक्ष निखिलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याल, विभिन्न साहित्य संस्थाका प्रतिनिधि तथा साहित्यकारलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले ७ जना सर्जकलाई सम्मान गर्ने भएको छ । सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुने छन् । शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा सक्रिय छन् । सम्मानकाे राशी १५ हजार ५ सय ५५ रहेकाे छ ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैया राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु हुने भएकाे छ । सो सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुने भएका छन् । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडा २ का प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् ।
‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेल सम्मानित हुने भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । यसैगरी हेटौंडाका देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैया राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटा सम्मानित हुने भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् ।
यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुने भएका छन् । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेल सम्मानित हुने भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन्।
आगामी चैत्र १० गते हेटौडामा एक कार्यक्रमबीच उक्त सम्मान समर्पण गरिने सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिए ।
२५ हजार राशिको निबन्ध पुरस्कार घोषणा
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकाे छ । २५ हजार १ रुपैयाँ राशिको सो सम्मानकाेलागि सर्वोत्कृष्ट कृति छनौटकाे दर्ता आह्वान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
उक्त सम्मानकाे लागि २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनु पर्ने तथा कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने बर्तौलाले जानकारी दिए । आगमी चैत्र २० गतेभित्र पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख गरी छनोट समितिसमक्ष उपलब्ध गराउनु पर्ने उनले बताए ।
मकवानपुर । मकवानपुरकाे झरना साहित्यिक परिवारले लमजुङ जिल्लामा काव्य गोष्ठी गरेकाे छ । लमजुङ जिल्लाको लिस्नो साहित्यिक मञ्च र मकवानपुरको झरना साहित्यिक परिवारले लमजुङको बेसीसहरमा संयुक्त काव्य गोष्ठी गरेका हुन् ।
झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्तर्गत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । कार्यक्रममा मकवानपुरबाट झरनाका संरक्षकद्धय रमेशमोहन अधिकारी र जनार्दन खनाल, सल्लाहकार लक्ष्मी जिम्बा, कविहरू सीता खनाल, सुवास खनाल, लोकगायिका मञ्जु दाहाल, पत्रकार महेन्द्र ओझा, इन्दिरा पाण्डेलगायतको उपस्थीति रहेको थियो ।
यसैगरी लमजुङबाट साहित्यकारहरू वासुदेव सेढाई, बेन बहादुर सुयाल, बसन्त अधिकारी, राजु थापा, देवीदास बराल, कमला केसी, बालचन्द्र सुवेदी, तीर्थ गुरुङ, सूर्यकला थापा र कमला दनाईको उपस्थीति रहेको थियो ।
यस्तै कार्यसमितिका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवि लामिछाने र गायत्री रुपाखेती, सचिव मसान उपासक, कोषाध्यक्ष कृष्ण घतानीको उपस्थिति रहेको थियो । झरना मकवानपुरको आयोजनामा फागुन २६, २७ र २८ गते भएको तीन दिने साहित्यिक भ्रमणका क्रममा लमजुङको घलेगाउँ, भुजुङ र तनहुँका बन्दीपुरलगायतका क्षेत्रमा साहित्यिक संघसंस्थाहरूले गरिरहेका गतिविधि, त्यहाँका लेखन परम्परा र सांस्कृतिक क्षेत्रका बारेमा अध्ययन अवलोकन गरिएको संथाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।
संस्थाले हरेक बर्ष फरक–फरक क्षेत्रमा साहित्यिक भ्रमण गर्दै आएको छ । साथै संस्थाले हरेक बर्ष बकैया कला–साहित्य महोत्सव, प्रत्येक महिना साहित्यिक प्रशिक्षण तथा काव्य गोष्ठीहरू, अर्धबार्षिक रुपमा पत्रिका प्रकाशनलगायतका विविध साहित्यिक कार्यहरू गर्दै आइरहेको छ ।
१.
सम्झिएर आँसु कहिल्यै खसाल्नु नपरोस्
धोकेवाजलाई मनमुटुमा बसाल्नु नपरोस्
एकोहोरो माया गरेर पाप गरे पनि
सधैं यादमा चित्त पखाल्नु नपरोस् ।
२.
मलाई जस्तो बज्र तिम्लाई पर्यो भने के गर्छौ
वेदनाले मुटु पोल्दा आँसु झर्यो भने के गर्छौ
रोज्नु पर्यो भने मृत्यु रोज्छौकि जीवन
जबर्जस्ती कसैले अन्याय गर्यो भने के गर्छौ ।
३.
भत्किएपछि कमजोर भए मनका भित्ताहरू
सधैं वेदना भरिएका छन् खुसीका कित्ताहरू
एउटा घाउ निको नभै अर्को चोट लागेपछि
आशुसगै खुम्चिन्छन् चाहानाका फित्ताहरू ।
मकवानपुर । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गरेकाे छ । झरनाले ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० काे अवसरमा ती सष्ट्राहरूलाई सम्मान गरेकाे हाे ।
साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँका डा. गीता त्रिपाठीलाई सम्मानित गरिएकाे छ । त्रिपाठीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ राशीकाे उक्त सम्मान प्रदान गरिएकाे झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले बताए । यसैगरी,साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट खोटाङका बाबुराम पोखरेललाई सम्मानित भएका छन् । पाेखरेललाई साहित्यकाे मुक्तक विधामा योगदान पुर्याए वापत नगद १५ हजार ५ सय ५५ सहित उक्त सम्मानबाट सम्मानित गरिएकाे उनले बताए ।
मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिएकाे छ । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका उक्त पुरस्कारबाट जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत ढकाललाई सम्मान गरिएकाे हाे । उक्त पुरस्कार राशी नगद १५ हजार ५ सय ५५ रहेकाे छ ।
त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिएकाे झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिएकाे हाे ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिएकाे छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको योगदानकाे कदर गर्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएकाे छ । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार गौतमका माता नन्ददेवीले स्थापना गरेकी हुन् ।
झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० शुक्रबार र शनिबार दुई दिन बकैया–९, शिखरपुरमा भएकाे हाे । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव भएको छ । बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालिदेवी माविमा शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले महोत्सवको उद्घाटन गरे । झरनाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष टंकध्वज लोप्चनकाे आतिथ्यता रहेको थियो ।
पहिलो दिन शुक्रबार गाउँपालिकाका विद्यालयका विद्यार्थीको सहभागितामा कविता प्रतियोेगिता र चित्रकला प्रतियोेगिता समेत भएको छ । विद्यार्थीले नृत्यकला समेत प्रस्तुत गरेका छन् । यस्तै कला साहित्य महोत्सवको दोस्रो दिन विविध सम्मान समर्पण, पालिका अध्यक्षलाई प्रश्न कार्यक्रमको भिडियो प्रदर्शनी, कविता वाचन कार्यक्रम, नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम भएकाे हाे ।
महोत्सव आयोजनाका लागि ४ लाख ५० हजार रुपैैयाँ सहयाेग गरेकाे बकैया गाउँपालिकाले कला सहित्य प्रतिष्ठान समेत गठन गरेको छ । २०५० साल फागुन १२ गते स्थापना भएको झरनाले विविध साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरका साहित्यकार तुलसी घिमिरेको कविता संग्रह माटोको मोह लोकार्पण गरिएकाे छ । साहित्य संगमकाे ३ सय ४० औं सन्ध्यामा हेटौडामा शनिबार घिमिरेकाे कविता संग्रह विमाेचन गरिएकाे हाे ।
कृतिकार घिमिरे,समाजसेवी मुक्तिगाेविन्द वैद्य, व्यङ्यकार आरसी रिजाल, प्राध्यापक निरा शर्मा, हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, अग्रज साहित्यकार देवराज खरेल, साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलालगायतले माटोकाे माेहकाे लाेकार्पण गरेका हुन् ।साहित्य संगम मकवानपुर संस्थापक हाल सल्लाहकार कवि घिमिरेकाे यस अघि फूलका कुरा जूनका कुरा गीत संग्रह २०७१ प्रकाशित छ ।
विमाेचन गरिएकाे कृतिमाथि कवि सुवास खनाल र समिक्षक घनश्याम घिमिेरेले समिक्षात्मक टिप्पणी गरेका थिए । कवि खनालले घिमिरे लेखनका विविध आयाम कविता, गजल, मुक्तक, गीतलगायतमा फेलनु भएका बताए । सचेतता र वैचारिकताका साथ लेखन यात्रामा रहनु भएका घिमिरेकाे माटोकाे माेह कृति भित्रका कवितामा ग्रामिण परिवेश जीवनप्रतिकाे प्रेम र देशकाे सही यात्राकाे अपेक्षा गरिएकाे खनाले बताए । उनले देशकाे व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेकाेले राजनीति प्रतिकाे असन्तुष्टि स्वभाविक ढंगले कृतिमा आएकाे बताए । गाउँ तथा देश छाडी जानेहरुलाई फर्केर आफ्नै माटोमा पसिना बगाउन समेत उनले कवितामर्फत आग्रह गरेकाे खनालले बताए ।
यसैगरी समिक्षक घनश्यामले कवितामा अहिलेका पुस्ताले बिर्सिसकेका तथा सुन्दै नसुनेका शब्दकाे प्रयाेग गरेर कविता लेखिएकाले भाषा साहित्यका विद्यार्थीकाे लागि अनुसन्धानकाे विषय हुने बताए । कविताहरुमा आर्गानिक बिम्बहरुका साथ लेखिएका कविता कृतिले पाठकमा मनमा प्रभाव छाड्न सक्ने बताए ।
यसैगरी साहित्य सङ्गम मकवानपुरले प्रदान गर्ने ‘शेषजङ्ग स्मृति कथा पुरस्कार-२०८०’ ‘आदर्श मानव’ कथाकालागि समर्पण न्यौपानेलाई प्रदfन गरिएकाे छ । नगद ५ हजार रुपैया राशीकाे उक्त पुरस्कार स्वर्गीय डेन्टिजङ्ग शाहले आफ्नो छाेराकाे नाममा स्थापना गरेका थिए । संगमले समयावधी ताेकेर सूचना प्रकाशित गरी माग गरिएको कथाहरूको मूल्याङ्कनबाट ज्ञानदीप शिक्षा निकेतन माविका छात्र न्यौपाने उत्कृष्ट हुँदै उक्त पुरस्कारद्वारा सम्मानित भएका संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
यसैगरी ‘णकुमारी स्मृति साहित्य पुरस्कार-२०८०’ बाट सुजिता कुमारी विश्वकर्मा सम्मानित भएकी छिन् । मकवानपुरका अग्रज साहित्यकार तथा व्यङ्यकार आरसी रिजालले आफ्नी आमाकाे स्मृतिमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी नगद ५ हजार रुपैया रहेकाे छ । समयावधी ताेकेर सूचना प्रकाशित गरी माध्यमिक विद्यालयका छात्राहरू बिच स्थलगत निबन्ध प्रतियोगिता गराई प्रतियोगितामा उत्कृष्ट हुदै ज्योति माध्यमिक विद्यालय हर्नामाडीकी छात्रा विश्वकर्मा उक्त पुरस्कारबाट सम्मानित भएकी हुन् ।
संगम अध्यक्ष डीबी बर्तौताकाे अध्यक्षता वडा अध्यक्ष नविन सिग्देलकाे प्रमुख आतिथ्यतामा भएकाे ३ सय ४० साहित्य सन्ध्या कृति लाेकार्पण तथा पुरस्कार समर्पण कार्यक्रमकाे सहजीकरण संगम सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
मकवानपुर । श्यामप्रसाद श्रेष्ठको लघु कथासंग्रह “व्यथाभित्रको कथा” सार्वजनिक गरिएको छ । पोखरामा आयोजना भएकाे नेपाल–भारत साहित्य महोत्सवमा हेटौंडाका श्रेष्ठको कथासंग्रह सार्वजनिक गरिएको हो ।
पाँचौं संस्करणको महोत्सवअन्तर्गत पहिलो दिन बिहिबार कृति लोकार्पणसँगै लघुकथा एवम् काव्य वाचन भएको छ । महोत्सव भाेलीसम्म संचालन हुनेछ । क्रान्तिधरा साहित्य अकादमीद्वारा आयोजित महोत्सवको उद्घाटन सत्रमा हेटौँडाका लघुकथाकार किशन पौडेलको हिन्दी अनूदित लघुकथा कृति “अन्तरदृष्टि” लघुकथा संग्रहको औपचारिक लोकार्पण र समीक्षा समेत गरिएको थियो ।
विमोचित कृतिमाथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तवले चर्चा गरे । क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित कार्यक्रममा वरिष्ठ काव्यकार डा. बलराम उपाध्याय रेग्मीको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख आतिथ्यता,वीरगन्जका साहित्यकार गणेश प्रसाद लाठकाे विशिष्ट आतिथ्यता, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया, नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति डा. घनश्याम परिश्रमी, भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानीको पनि आतिथ्य रहेको थियो ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गरेको छ ।
सोमबार मञ्चको प्रथम अधिवेशन तथा १४ औँ मुक्तक वाचन श्रृङ्खला कार्यक्रममा मुक्तककार दीपक समिप (पोखरा),हरिकृष्ण काफ्ले(रौतहट) र बिर्खे अन्जान(मकवानपुर)लाई सम्मान गरिएको हो ।
मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार समिप सम्मानित भए । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ नगद रहेको छ । गत वर्ष उक्त सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।
यस्तै मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० बाट मुक्तककार काफ्लेलाई प्रदान गरेको छ । उक्त सम्मानको राशि ७ हजार ५ सय रुपैया रहेको छ । गत वर्ष सो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए ।
प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित नगद ५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मानबाट २०७९’ थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जान सम्मानित भए । गत वर्ष उक्त सम्मानबाट माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।
तीनै जना स्रष्टालाई नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेकोमा नगदसहित सम्मान गरिएको मञ्च मकवानपुरले जनाएको छ ।
यस्तै मुक्तक मञ्चलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी समेतलाई सम्मान गरिएको थियो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सम्मानित श्रष्टाले ५/५ वटा तथा किशन पौडेल, अजिता ओझा, देव निर्दोष, अनुसिया खनाल, प्रविना प्रयासीलगायतले मुक्तक वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुर अध्यक्षमा तिमल्सिना चयन
मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन भएका छन् । सोमबार भएको प्रथम अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै मञ्च उपाध्यक्ष मेनु तिमल्सिना, सचिव सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल, कोषाध्यक्ष मिथिला अधिकारी चयन भएका छन् । यसैगरी सदस्य अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।
सौराहा, चितवन । चितवनको सौराहामा भएको पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । गत फागुन ३ गतेबाट सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको दुबै तालिम सोमबार समापन भएको छ ।
डाटा ड्रिभन पत्रकारिता र पटकथा लेखन तालिमका लागि छुट्टाछुट्टै प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा सहभागी काठमाडौकी पत्रकार पुष्पा थपलियाले तालिमा सहभागी हुनु अघि गुगल सिट खोल्ने समेतको जानकारी नरहेको बताइन् । तालिमपछि तथ्याङ्कलाई समाचारको शैलीमा जोडेर पाठकले सहज रुपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्न सकिने बताईन ।
उक्त तालिममा मकवानपुरबाट सहभागी पत्रकार सञ्जिव सुनारले तालिम उपलब्धीमूलक भएको बताए ।तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा उमेश श्रेष्ठ र अरुण कार्कीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक श्रेष्ठले पाँच दिनको तालिमले भोक जगाउने काम मात्रै गरेको बताए । अब अगाडि कसरी बढ्ने भनेर बाटो आफैंले खोज्न उनको आग्रह छ ।
यसैगरि पटकथा लेखन तालिममा सहभागी भएकी सृजना दुवालले ‘कथा लेख्न त आउँछ भनेर लाग्थ्यो तर त्यो सत्य रहेनछ । ‘तालिमपछि अझै धेरै सिक्न बाँकी रहेको महशुस भएको छ ।’ उनले भनिन् ।
अर्का प्रशिक्षार्थी श्रीधर न्यौपानेले तालिमले पटकथा लेखनका लागि बाटो देखाएको बताए । पटकथा लेखन तालिमका प्रशिक्षक केशव पाण्डेले तालिम पाँच दिने तालिम पटकथा लेखन यात्राको शुरुवात मात्रै भएको बताए । ‘ अहिले नै कथा लेख्ने, कथा भन्ने यात्रामा फुल स्टप लागेको हैन, यात्राको शुरुवात मात्रै हो ।’ उनले भने ‘सपनाको यात्रा चलिरहन्छ । सपनालाई मर्न दिनुहुँदैन ।’ पटकथा लेखन तालिममा केशव पाण्डे, प्रविण कुमार रावत र सुवास कोइरालाले प्रशिक्षण दिएका थिए ।
सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिम क्लास रुममा जानु अघिको रिक्तस्थान भर्नका लागि पुल मात्रै भएको बताए । ‘हामी सिक्न आएका थियौं, प्रशिक्षकले दिनरात नभनी प्रशिक्षण दिएका छन्’ उनले भने ‘ त्यसको सदुपयोग गरिदिनुस ।’
दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘ पाँच दिने तालिम मार्फत टन्न दिएका छौं भन्दैनौं । सिक्ने भोक जगाएका छौं । कम्तीमा तीन तीन महिनाको तालिम आवश्यक पर्छ । ’ सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘ सिकेको कुराको सदुपयोग गरिदिनुस ।’
पटकथा मात्रै तयार गर्नेलाई २५ हजार र फिल्म बनाउनेलाई ७५ हजार रुपैयाँ सहयोग गर्ने बताए । फिल्म प्रदर्शनका लागि विदेश जाँदा लाग्ने भाडामा पनि सकेको सहयोग गर्ने उनको आश्वासन छ । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।