मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीका लागि पूर्व छलफल कार्यक्रम गरेको छ।
आइतबार भएकाे बजेट पूर्व छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिलाई अनुदान दिने प्रणालीलाई अवलम्बन नगरी अब समुदायलाई नै अनुदान तथा ऋण दिने नीति ल्याइने बताए । मन्त्री जम्कट्टेलले महिलाको उद्यमशीलतालाई जोड दिने, दलित र चेपाङ समुदायलाई विशेष ध्यान दिने र हरेक वर्ष कार्यक्रम नफेरी निरन्तरता दिने बताए।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट सन्तुलित र समानुपातिक ढङ्गमा विनियोजन गरिने बताए। बजेट खर्चलाई बढी न्यायोचित र दीर्घकालीन प्रभाव पार्ने गरि अगाडि बढ्ने मन्त्री थपलियाकाे भनाइ थियाे । उनले स्थानीय र संघीय सरकारबीच समन्वय गरेर विकास निर्माण कार्यलाई संस्थागत गर्ने बताए । ‘उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरि बजेटलाई कार्यान्वयनमा लैजाने छौ’ उनले भने ।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, प्रदेश सरकारका तुलनात्मक लाभका क्षेत्र, राजस्व दायरा विस्तार, पन्ध्रौं योजनाका लक्ष्य र प्रदेश सरकारको बजेटको तादम्यता, दिगो विकासका स्थानीयकरणका पक्षहरू, अति कम विकसित क्षेत्रहरूलाई प्राथमिकता , आयोजना व्यवस्थापन र परियोजना चक्रका सुधारका क्षेत्रहरू र नवीन तथा रणनीतिक महत्वका संभावित आयोजना र कार्यक्रमहरूमाथि छलफल भएको थियो। मन्त्रालयले छलफलबाट प्राप्त सुझावहरूलाई आत्मसात गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पार्ने बताएकाे छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोबिन्द लम्साल, नेकपा एमालेका मुख्य सचेतक मदुसुधन पौडेल, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, राप्रपाका प्रदेश सभा सदस्य गिरबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. पुष्प कडेल, आर्थिक मामिला तथा योजाना मन्त्रालयका सचीव प्रकाश दाहाल, डा. चन्द्रमणी अधिकारी, डा. तिलचन्द्र भट्टराई, डा. रामचन्द्र ढकाल, डा कपिलदेब सुवेदी, डा ध्रुबराज पोख्रेल, प्रदेश कोष तथा लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायलगायतका सहभागीता थियो ।
काठमाडौं। मकवानपुरका जनप्रतिनिधिले हेटौडा सिमेन्ट उद्योग सञ्चालनकाे पहल गरेका छन् । उद्योगको समस्या र सञ्चालनको वातावण बनाउन जनप्रतिनिधीले सघीय सरकारसँग पहल गरेका छन् ।
संघीय सरकारको स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्याेगलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सञ्चालनमा समस्या भैरहेको अवस्थामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले संघीय सरकारका मन्त्रीसँग समस्या समाधानकाे पहल थालेका हुन । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ र मकवानपुर २ का सांसद एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तोलाले उद्योग सञ्चालनका लागि सघीय सरकारका अर्थ मन्त्रीसमक्ष पहल गरेका हुन् ।
शुक्रबार उद्योगको तर्फबाट समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखान श्रमिक संघका प्रतिनिधीसहित मन्त्री श्रेष्ठ र साँसद बर्तोलाले अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारी समक्ष आवश्यक बजेट उपलब्ध गराईदिन आग्रह गरेका थिए ।
पछिल्लो केहि वर्षयता उद्योग लगातार घाटामा सञ्चालन भैरहेकोले कर्मचारीकाे तलब दिन समेत समस्या भएकाे अवस्थामा रहेकाे छ । यही अवस्थाले उद्योग सञ्चालन हुन नसक्ने बताउँदै उद्योग सञ्चालनको मोडालिटी चेन्ज गर्नुपर्ने सुझाव समेत उनीहरुले सुझाव दिएका छन् । यस्ते बजेट अभावकै कारण उद्योगका २८ जना अवकासप्राप्त कर्मचारीले विगत २ वर्षदेखि प्राप्त गर्नुपर्ने सेवाससविधा प्राप्त गर्न नसकेकाे नेपाल कारखाना श्रमिक संघ हेटौडा सिमेन्ट उद्योगका अध्यक्ष विशाल नेपालले जानकारी दिए । यो बर्षपनि केही कर्मचारीहरु अवकाश पाउने क्रममा रहेकोले निकै समस्या झेलिरहेको उनले बताए । नेपालका अनुसार तत्काल उद्योग सञ्चालनको लागि ६० करोड रुपैया आवश्यक रहेको भन्दै ऋण मार्फत नै भएपनि रकम उपलब्ध गराइदिन माग गरिएकाे छ ।
छलफलमा हेटौडा सिमेन्ट उद्योगका लागि आवश्यक बजेट उपलव्ध गराई उद्योग सञ्चालनका लागि अर्थमन्त्री पुन र उद्योग मन्त्री भण्डारी सकारात्मक भएको र छिटैनै केही बजेट उपलब्ध गराईदिने प्रतिवद्दता व्यक्त गरेको छलफलमा सहभागी जिफण्टका बागमती प्रदेश उपाध्यक्ष अर्जन अर्यालले जानकारी दिए । छलफलको क्रममा अर्थमान्त्री पुनले उद्योगको विषयमा आफू गम्भीर भएको र उद्योगलाई बन्द हुन नदिने बताएका छन्। यस्तै २८ जना अवकाश प्राप्त कर्मचारीको विषयलाई समेत सम्बोधन हुनेगरी बजेट उपलब्ध गराईदिने प्रतिवद्दता व्यक्त भएको पुनकाे भनाई उदृत गर्दै अर्यालले बताए ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्याेगले २०३३ सालमा स्थापना भई २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको हाे । उद्योग स्थापनाकालमा नेपाल सरकारको जमानतमा एशियाली विकाश बैंकबाट लिएको ऋण ७१ करोड ८८ लाख ८३ हजार २ सय अठसठ्ठी रुपैया मध्ये साँवा ५९ करोड ८८ लाख ८३ हजार २ सय अठसठ्ठी र ब्याज ७० करोड ३१ लाख १९ हजार ५ सय ४३ भुक्तानी भएकाे उद्योग प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा १२ करोड साँवा र ३४ करोड ६९ लाख ३६ हजार ९०८ ब्याज भुक्तानी गर्न बाँकी रहेकाे लेखापरीक्षण प्रतिवेदनले देखाउँछ ।
लेखापरीक्षण प्रतिवेदन अनुसार स्थापनादेखि आ.व.०७८/०७९ सम्ममा उद्योग करिव ९० करोड घाटामा गएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको वार्षिक ५२ लाख बोरा सिमेण्ट उत्पादन क्षमता रहेकोमा गतवर्षमा ९ लाख बोरा सिमेण्ट बिक्री भएको बताइएकाे छ । चालु आर्थिक वर्षको हालसम्म लगभग ४ लाख बोरा मात्रै सिमेण्ट बिक्री भएको उद्याेले जनाएकाे छ । जसकारण उद्योग निरन्तर घाटामा गैरहेको कर्मचारीहरु बताउछन् । विविध कारणले चालु दायित्वहरु बढदै गएकोमा असोज मसान्तसम्म उद्योग करिव ७० करोड घाटामा पुग्ने अनुमान छ।
मकवानपुर । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले वित्तीय संकट देखिएका सहकारीकाे नियमन गर्नु पर्ने बताएका छन् ।
मकवानपुरगढी- ३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाले बुधबार आयोजना गरेकाे २५ औं रजत महोत्सव समापन समारोहमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । सहकारीमा बसेर आफैं ऋणलिएर नतिर्ने प्रवृत्ति देखिएकोले सरकारले नियमित नियमन गर्नुपर्ने उनले बताए ।
उनले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताए । ग्रामीण भेगमा सहकारी स्थापना गरेर स्वर्णिम अवधी समेत पार गरेकोमा जागरणलाई उनले बधाई दिए । मन्त्री श्रेष्ठले अहिलेको समय बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउदै आगामी बजेट बनाउँदा कार्यान्वयन हुने खालकाे बनाइने बताए ।
सहकारी अभियानकर्मी सम्मानित
रजत महोत्सवमा संस्थाले संस्थापक सदस्य, मकवानपुरगढी गाउँपालिकाका सहकारी अभियानमा जिल्ला, प्रदेश र केन्द्रमा आफ्नो स्थान बनाएका सहकारी अभियानकर्मी, सञ्चारकर्मी, जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेकाे छ ।
४९ जना संस्थापक सदस्यलाई सम्मान गरिएको हाे । त्यस्तै अभियानकर्मीहरुमा मकवानपुरगढीका नारायणप्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, विदुर हुमागाई, कल्पना श्रेष्ठ, सुलोचना स्याङ्तान, निर्मला लम्साल, रामजी सापकोटा, हरिप्रसाद अधिकारी, खीलाप्रसाद चौलागाई, हरिप्रसाद कंडेल र कृष्ण बहादुर विडारीलाई सम्मान गरिएको छ ।
यसैगरी सञ्चारकर्मी सुरेश श्रेष्ठ र श्रीराम अर्जुनलाई सञ्चार माध्यमबाट सहकारी अभियानमा सहयाेग पुर्याएकाेमा सम्मान गरिएको हाे । यस्तै पुर्व कर्मचारीतर्फ भगवती घिमिरे, कल्पना सापकोटा, उमा रुम्बा, सन्तोषी श्रेष्ठ, कविता तिवारी, आइतीमाया थिङ र पुना राईलाई सम्मान गरिएको थियो । रजत महोत्सवको अवसरमा जागरण साकोस रजत वर्ष स्मारिका-२०८० विमोचन समेत गरिएको थियो ।
सहकारी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सहकारी मन्त्रालयका रजिष्ट्रार रोहित पोखरेल, मकवानपुरगढी गाउँपालिकाका वडा ३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना,बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, महासचिव जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल, नेफ्स्कुन फिल्ड हेटौंडा ईन्चार्ज विदुर खड्कालगायतका सहभागिता रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । सोमबारबाट सुरु सम्मेलनको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेकी छिन् ।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री मुक्तानले ‘महिला शसक्तिकरणको क्षेत्रमा भएकाे लगानीको समीक्षा हुनु पर्ने बताइन् । ‘महिला उद्यमशीलता क्षेत्रमा स्थानीय, प्रदेश तथा संघीय सरकारले लगानी गरेका छन्’ मन्त्री मुक्तानले भनिन् ‘महिला शसक्तिकरणकाे कार्यमा लगानी भएकाे छ तर व्यवस्थित भयाे भएन समीक्षा हुन जरुरी छ ।’
समाजले महिलालाई साेच्ने र बुझ्ने तरिका फरक छ त्याे सबै साेचलाई जितेर अघि बढ्नु परेकाे उनले बताइन् । महिलाले घर भन्दा बाहिर निक्लदा नेपाली समाजले अझै नकारात्मक सोच्ने प्रवृत्ति छ संस्कृति अझ पनि समाजमा रहेको उनको धारणा रहेको थियो । ‘पारिवारिक, सामाजिक संस्कार सबैलाई जितेर सीप सिक्दै अगाडि बढनु पर्ने अवस्था रहेकाे छ’ उनले भनिन् ‘महिलालाई उद्यमी बन्न पैतृक सम्पत्ति र अन्य आर्थिक स्राेत नहुदा थप संघर्ष गर्नु पर्छ ।’ सरकारले दिएकाे अनुदानलाई व्यवस्थापन गर्न गारो भएको महिला उधमीकाे गुनासाेलाई सामान्यिकरणका लागि अभिमुखीकरण आवश्यक रहेकाे मन्त्री मुक्तानले बताइन् ।
उद्यमशीलतासंग सम्बन्धित सबै महिला सिपमा दक्ष हुनुपर्ने उनले बताइन् । उनले महिला दक्ष भए स्थानिय स्राेत साधनलाई प्राथमिकता दिने र बजारीकरणमा ध्यान दिइने गरेको बताइन् । ‘महिलाले संचालन कुनै पनि उघममा बेइमानी छैन’ उनले भनिन् ‘महिला संचालक भएको सहकारीले ठगेर हिडेकाे सुनिन्न ।’ हामीलाई हार्न छुट नभएको उनको भनाई थियो ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका २८ उद्योग बाणिज्य संघका उधमी महिलाहरुकाे हातले बनाएका विभिन्न सामाग्री सहित सहभागिता रहेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिकाे संयाेजन तथा बागमती प्रदेश महिला उद्यमी विकास समिमि, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्ता हित संघ निर्देशनालय हेटौंडाकाे आयाेजनामा सम्मेलन भएको हो।
सामाजिक विकास मन्त्री कुमारी मुक्तानकाे प्रमुख आतिथ्यता तथा नेपाल उधाेग वाणिज्य महासंघ बागमती प्रदेश सचिव राजेन्द्र कुमार केसीकाे सभाध्यक्षता भएको उद्घाटनमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महिला उद्यमी समिति बागमती कार्यकारी सदस्य गिता अमात्य, कार्यक्रम संयाेजक मेनुका श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले आगामी चैत्र २ गतेदेखि बागमती प्रदेशको राजधानी हेटौडामा महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेकाे बुधबार हेटौंडामा पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे ।
“पर्यटन, कृषि, लघु उद्यमशीलता,महिला सहभागिता आजको आवश्यकता” नाराका साथ समितिले ११ वर्षपछि प्रदर्शनी गर्न लागेकाे महिला उद्यमी विकास समिति सभापति अंकिता सुमार्गीले जानकारी दिइन् । प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएकाे बताउँदै उनले प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहने बताइन् ।
चैत्र ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा आयोजना हुने प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने बताइएकाे छ । मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, सुनसरीलगायतका जिल्लाका उद्यमीहरुबाट स्टल बुक भएको समेत उनले जानकारी दिइन् । विशेष गरी मकवानपुर जिल्लाकाे उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी निः शुल्क अवलोकनको व्यवस्था गरिएको उनले बताइन् ।
प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुनेछ ।
मकवानपुर । यसवर्षकाे चैते धान राेपाइ सुरु भएकाे छ । पानीकाे सुविधा भएकाे स्थानमा असार र चैतमा वर्षकाे २ पटक धान बाली लगाउने गरिन्छ । आलु, ताेरी जस्ता नगदेबालीकाे खेती गरिएकाे स्थानहरुमा यसवर्षकाे चैतेधान राेप्न सुरु गरिएकाे छ ।
गहुँ लगाइएकाे स्थानहरुमा भने चैतकाे मध्यतिरबाट धान राेपाइ सुरु हुन्छ । हेटाैडा उपमहानगरपालिका वडा न ८ मा चैते धान राेपाइ गरिदै ।
तस्बिरहरु सहीखबर डटकम
मकवानपुर । कर्मचारीकाे ड्रप आउट कारण राेजगारदातालाई आइपर्ने समस्यामा सहजिकरण गर्ने डाटाबेस प्रणालीबारे हेटाैंडा औद्याेगिक क्षत्रका राेजगारदाताहरुलाई जानकारी गराइएकाे छ ।
उद्याेग संघ मकवानपुरकाे कार्यालयले निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेसमा दर्ता हुनकाे लागि सहजिकरण गरेकाे हाे । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना तथा उद्योग संघ मकवानपुरको सहकार्यमा कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
राष्ट्रिय सीप परिक्षण वोर्डले सिप परीक्षण गरि प्रमाणीत गरेका दक्ष जनशक्तिलाई राेजगार प्राप्त गर्न र राेजगारदातालाई जनशक्तिकाे छनाैट गर्नमा समेत सहज हुने गरी सञ्चालित डाटाबेसबारे जानकारी प्रदान गर्ने, सुझाव समेत संकलन गर्ने गरी कार्यक्रम गरिएकाे हाे । राष्ट्रिय सिप परीक्षण बाेर्डकाे राेजगार बारे जानकारी दिने डाटाबेस NSTB बारे जानकारी भएपछि कर्मचारीकाे ड्रप आउट कारण राेजगारदातालाई आइपर्ने समस्या र आवेदकलाई समेत राेजगारी खाेज्न सहयाेग पुग्नेछ ।
याे डाटाबेसबाट तत्काल कर्मचारी अभाव भएकाे अवस्था कर्मचारी खोज गर्न सकिने भएकाेले राेजगारदातालाई सहज हुने र राेजगारकाे खाेजिका रहेकाहरुलाई समेत सहज हुने कार्यक्रममा बताइएकाे थियाे । याे डाटाबेस बजारमा रहेका अन्य जब पोल्ट्रलभन्दा फरक र भरपर्दाे रहेकाे बागमती प्रदेशका अधिकृत स्तर साताैं चन्द्रबहादुर श्रेष्ठले बताए ।
आफ्नाे दक्षतामाथि CTEVT बाट सीप परिक्षा पास गरेका मात्रैले हेर्न डाटाबेसमा पहुँच पाउने र राेजगारदाता कम्पनी/ उद्याेग/संघसंस्थाहरु मध्ये पनि पाेट्रलमा दर्ता भएकाहरुकाे मात्रै पहुँच हुने भएकाेले याे सहज डाटाबेस हाे । जसमा सवै प्रकारका उद्योगहरु दर्ता हुन सक्नेछन् । सवै प्रकारकाे सीप भएका व्यक्तीहरु र राेजगारदाताबीच याे डाटाबेसले पुलकाे काम गर्ने उद्योग संघका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
डाटाबेसमा दर्ता भएका राेजगारदाता र सिप परिक्षा पास गरेका दक्ष जनशक्तिकाे लागी निशुल्क सूचना तथा जानकारी आदनप्रदान गर्न सकिन्छ ।
नेपालमा हाल ४ लाख ९६ हजार ३० जना दक्ष जनशक्ति यहाँ सुचिकृत रहेका श्रेष्ठले बताए । डाटाबेसमा दर्ताकाे लागि उद्योग दर्ताको प्रमाणपत्र र प्यान दर्ताको प्रमाणपत्र भएमा रजिस्टर हुन सकिने श्रेष्ठले बताए । www.nstb.org.np मा आफैंले दर्ता गर्न सकिने छ । औद्याेगिक क्षत्रभित्र रहेकाे उद्याेगीहरुलाई लक्ष्यित गरी आयाेजना गरिएकाे कार्यक्रममा उद्योग परिसंघ बागमती प्रदेशका प्रशासकीय अधिकृत जगन्नाथ लामिछानेलगायत औद्याेगिक क्षत्रका झण्डै ३ दर्जन उद्याेगका सञ्चालक तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका श्रेष्ठ र सुरेन्द्र कुमार रामले सहजीकरण गरेका थिए ।
औद्योगिक क्षेत्र भित्रका उद्योगीहरूको लागि लक्ष्यित गरेर कार्यक्रम गरिएको उद्योग संघका कार्यकारी निर्देशक नेपालले बताए । डाटाबेसमा सहभागी हुनकाे लागि आफूहरुले पनि सहयाेग गर्ने उद्योग संघका सह-काेषाध्यक्ष दिवस चौलागाईंले बताए । सिपयुक्त जनशक्तिको हालको ठेगान उपलब्ध हुनपर्ने, दर्ता भएका सङ्ख्यासंगै रोजगार प्राप्तको संख्या समेत अपडेट हुनुपर्ने, विवरणमाथी गोपनीयता कायम हुनुपर्ने जस्ता सवालमा भने ध्यान दिनुपर्ने देखिएकाे उनले बताए ।
हाल विभिन्न ३१४ प्रकारकाे सिप भएका मा ४ लाख ९६ हजार ३० जना जनशक्तिले दक्षताकाे सिप परिक्षा पास गरेकाे NSTB डाटाबेसले देखाउँछ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा बजारबाट ३५ किलोमिटर पश्चिममा पर्छ मनहरी गाउँपालिकाको वडा नम्बर ७ । यही वडामा छ बोटे समुदायको सानो बस्ति । निर्वाचनताका यस समुदायमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको बाक्लै आवागमन हुन्छ, जब चुनाव सकिन्छ सुनसान बन्छ यो बस्ति ।
“हाम्रो समुदायको विकास र हाम्रो लागि सहयोग गर्ने भनेर चुनावको बेलामा नेताज्यूहरु आउनु हुन्छ, हामी चिन्दैनौ, उहाँहरु नै नमस्कार गर्नुहुन्छ” स्थानीय बबिता बोटे भन्छिन् “हामीलाई आफ्नो जग्गा पनि छैन, बल्लबल्ल बास बस्ने घर बनाइदिनुभयो तर के खाने भन्ने समस्या छ ।”
राजनीतिक चासो र चेतना कमै भएका बोटे समुदायलाई भोटर बैंकको रूपमा प्रयोग गर्न निर्वाचनताका सबैजसो दलका नेता तथा कार्यकर्ताहरू आईपुगे पनि उनीहरुको जीवनस्तर उकास्ने, सामाजिक सशक्तीकरणको सवाल बुझाउन कोही नभएको कमल बोटे बताउँछन् । “हामी सबैको पेशा भनेको माछा मार्ने र मनहरी बजारमा विक्री गर्ने थियो, तर अहिले त्यै माछा मार्ने काम पनि आरक्षण (पर्सा वन्जन्तु आरक्ष)ले रोक्यो ” उनले भने “अब यसो छिमेकमा ज्यालादारी मात्रै हो, आमा दिदी बहिनी, भाउजुहरुलाई सिप तथा नेतृत्व विकासको तालिम आवश्यक छ ।”
संगिता माझि पनि यही बस्छिन् । विहान सामान्य घरधन्दा अनि छोराछोरीलाई स्कुल पठाउँछिन्, अनि दिनभर अलमल मै बित्छ । “केही काम छैन, काम नभएपछि खान पनि कहाँबाट आउनु छर, सिप छैन, शिक्षा छैन” उनी भन्छिन् । आफ्नो जग्गा नभए पनि हातमा गर्ने सिप सिक्न पाए परिवार चलाउने आधार हुने उनको बुझाइ छ । उनीहरुको छोराछोरीलाई पढ्न त समस्या छैन, बस्तीको नजिकै विद्यालय छ । शारीरिक रुपमा सशक्त पुरुष र महिलाहरु ज्याला गर्न जान्छन् । खेतीको मौसममा ज्यालाको काम पाइए पनि अन्य मौसममा त्यो पाइदैन । केहीले नजिकैको खोलामा बालुवा चालेर दैनिकी चलाउँथे तर नदि जन्यपदार्थको उत्खनन तथा निकासी बन्द गरेपछि त्यो काम पनि रोकिएको छ ।
मनहरी गाउँपालिका ७ स्थित बोटे बस्तीमा झण्डै २५ घर बोटे समुदायको बसोबास छ । झण्डै ९० को हाराहारीमा भोटर छन् तर नेताहरु र स्थानीय सरकारले उनीहरुको जीवनस्तर उकास्न दीगो कार्यक्रमभन्दा क्षणिक लाभ दिने र आफ्नो भ्यार्याङ पुरा गर्नमा मात्रै प्रयोग गर्ने गरेको कान्छिमाया बोटे बताउँछिन् । मनहरी गाउँकार्यपालिकाको निवर्तमान कार्यपालिका सदस्य समेत रहेकी कान्छीमाया आफूहरुले बोल्न नसकेकै कारण अरुको कुरामा सही मानेर हिड्नु पर्दा समस्या भएको बताउँछिन् । “५ वर्ष कार्यपालिका सदस्य पनि भएँ, मैले समेत यो बस्तीको लागि केही गर्न सकिन, बजेट बनाउँदा नै सबै कार्यक्रमको तयारी हुने रहेछ, आफूलाई त्यो बारेमा थाहा भएन, हामी सधैं पछिको पछि नै” उनले भनिन् “सबैभन्दा पहिले यहाँका महिलाहरुलाई आर्थिक पाटोमा सशक्त बनाउन कुनै सिप र व्यवसायमा जोड्नु पर्छ ।”
धेरै महिलाहरु हिंसाको शिकार समेत हुने गरेको उनले बताइन् । “सरकारले दिने भत्ताको भरमा जीवन चलेको छ, त्यो भत्ता आउला र खानेकुरो, लत्तापकडा किनौला भनेर बस्छन्, बिरामी पर्दा उपचार गर्ने पैसा हुँदैन” उनले गुनासो गरिन् ।सरकारले सिमान्तकृत समुदायको लागि दिने सामाजिक सुरक्षा भत्ताले उनीहरुलाई सशक्तीकरण भन्दा पनि आशावादी बनाएको देखिन्छ ।
बोटे समुदायको लागि बागमती प्रदेश सरकारले आवासको व्यवस्था गरेको छ, तर उनीहरुसँग आफ्नो निजी जग्गा नभएकोले खेती किसान र पशुपालनको समेत समस्या छ । “हामी खेती किसानी र पशुपालन गर्न त सक्छौ, तर सबैभन्दा पहिले जग्गा चाहिने रहेछ, त्यै छैन हामीसँग” कान्छिमायाले भनिन् ।
मकवानपुरको मनहरी गाउँपालिकामा रहेको यो बोटे समुदायको जस्तै समस्या छ राई बस्ति, वनकरीया वस्ति, चेपाङ बस्तीमा पनि । उनीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरणको लागि दीगो रुपमा जीवन सुधार ल्याउने कार्यक्रमको अभाव रहेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती बताउँछन् । “स्थानीय सरकारले उनीहरुको सहज जीवनको लागि समन्वय गरिरहेकै छ, तर पर्याप्त नभएको जस्तो देखिन्छ” अध्यक्ष कालाखेतीले भने । उनीहरु दिनभर जसो फुर्सदीला नै हुन्छन्, केही सिप भए आयआर्जनमा जोड्न सकिन्थ्यो कि भन्ने तर्फ ध्यान दिनु पर्ने आवश्यकता महसुस भएको उनले बताए । गाउँपालिकासँग त्यो दीगो प्रकारको कुनै कार्यक्रम नभएकोले गैससहरु इच्छुक भएमा आफूले समन्वय गर्न समेत पालिका तयार रहेको उनले बताए । उनीहरुलाई गरिबीको जीवनस्तरबाट माथि उकास्न उद्यमशीलताको विकास आवश्यक रहेको अध्यक्ष कालाखेतीले बताए ।
४६ वर्षीय नारायणी विष्टसँग आराम गर्ने समय खासै हुँदैन । तरकारी खेती र बाख्राको हेरचाह गर्दै उनको अधिकांश समय बित्छ । यही तरकारी खेती र बाख्रा व्यवसायले उनको आर्थिक अवस्था उकासेको छ । आर्थिक अवस्थामात्रै हैन उनको जीवन शैली, समुदायबाट पाउने मान मर्यादा पनि उठाएको छ, र सँगै उठाएको छ उनको हौसला, जोश र जाँगर । “विहान पहिले बाख्राको स्याहार गर्छु, एकलट काम बाख्राको खोरमा भ्याएपछि तरकारी खेती तिर जान्छु” उनी भन्छिन् “खेतमा नियमित काम हुँदैन, बाख्रालाई छिनछिनमा घाँस, पानी, सोतर, दाना दिनुपर्छ ।” जति काममा खट्यो उति नै आम्दानी बढेको छ, यसैले खुसी छिन् नारायणी । ५ जनाको परिवारलाई घरखर्च मात्रै हैन बचत पनि राम्रो भएको बताउँछिन् उनी ।
“पहिले फुर्सद नै फुर्सद हुन्थ्यो, तर पैसाको अभाव धेरै थियो, अब फुर्सद पनि छैन, फुर्सदीलो बसौं झै पनि लाग्दैन” उनले भनिन् “पहिले ऋण माग्दा के आधारमा दिउँ भनेर प्रश्न सोध्नेहरु अब लगानी बढाउन परे सम्झनु है नारायणी भन्छन् ।” आफ्नै समाज, आफ्नै नातेदारमा पनि “पत्याइने” (विश्वाशिलो) बन्न पैसा नै कमाउनु पर्ने रहेछ भन्ने बुझीन् नारायणीले ।
पाल्पाको तानसेन नगरपालिका १० निवासी नारायणीलाई यो जीवन शैलीको सहजता उसै मिलेको हैन । हेफर नेपालको सहयोगमा उनी सहभागी भइन् । उक्त अवसरले नै उनलाई जीवनशैली परिवर्तन सम्भव भन्ने उदाहरणीय व्यक्ति बन्न सघायो । प्रोजेक्टमा सहभागी भएपछि नै उनले बाख्रा पालन र टनेल तरकारी खेती सुरु गरेकी हुन् । यही व्यवसायले उनलाई छोराहरु पढाउन र आरामले घर चलाउन सम्भव बनायो ।
२० वटा बाख्रा पालेकी उनलाई सानो परिवारको लागि भरपर्दा आर्थिक आधार भयो । बाख्राको मल प्रयोग गरेर तरकारी पनि राम्रो फलाइन् । साग, आलु टमाटर जस्ता तरकारीबाट मात्रै १ लाख ५० हजार बचत गरेको उनले सुनाइन् । यसैगरी उनले बाख्राबाट १ लाख २० हजार बचत गरिन् । “भर्खरै आलु बेचें त्यसबाट पनि ५० हजार बचत भयो” उनले सुनाइन् । सिँचाइको सुविधा राम्रो भइदिएको भए अझै राम्रो आम्दानी गर्न सकिने संभावना भएको उनले थपिन् ।
हेफरको सहयोगकै कारण आफू अहिले स्थानीय सरकारसम्म पुगेर आफ्नो आवश्यकताको सवालमा निर्धक्क बोल्न सक्ने भएकी छिन् । “हामी महिला घर र वन मात्रै गथ्र्यौ, अधिकारबारे पनि केही थाहै थिएन, अब बुझेको कुरा अरुलाई बुझाउन पनि सक्छु, खबरदारी गर्न पनि सक्छु” उनले भनिन् ।
नारायणीको जस्तै जीवनशैली फेरिएको छ २९ वर्षिया हरिकलाको पनि । गुल्मिदरबार गाउँपालिका ३ निवासी हरिकला झाँक्रीले टनेलमा तरकारी खेती गरेकी छिन् भने बाख्रा पनि पालेकी छिन् । “२ साना नानीहरु सहित ७ जनाको परिवार छौ, सबै मिलेर सकेको काम गर्छौ, घर चलाउन पहिले जस्तो चिन्ता छैन” उनले भनिन् “पहिले पनि खेती गथ्र्यौ, तर आफैंलाई खान पुग्दैनथ्यो, अब बचत पनि हुन्छ ।” हेफरले खेत बारी जोत्ने ट्याक्टर समेत दिएकोले समूहमा बसेर काम गर्ने बानीको समेत विकास भएको उनले बताइन् । “घरबाहीर (परिवारको सदस्यसँग बाहेक) बोल्न डराउँथे” उनी भन्छिन “चाहिने ठाउँमा पनि हामी नबोलेपछि पो हेपाइ सहनु पर्ने रहेछ, अब चुप बसिदैन ।” हेफरले सञ्चालन गरेको तालिम लिएपछि नै आफूमा यस्तो बुझाइको विकास भएको उनले बताइन् । तरकारी खेती र बाख्रा पालनबाट भएको आम्दानीको बचत समेत गरेको उनले बताइन् ।
मकवानपुरका बबिता बोटे, संगिता माझि र कान्छिमाया बोटेको समस्या ग्रस्त दैनिकी र नारायणी, हरिकलाको विगत उस्तै छन् । वर्तामान भने फरक । समस्यासँगै समाधान पनि आउँछ, तर मकवानपुरका बबिता, संगिता कान्छिमायाहरुको जीवनमा समाधानको खोजि जारी छ । उनीहरुलाई पनि सघाउने विभिन्न संस्थाहरु नभएका भने हैनन्, तर उनीहरुलाई सक्षम हुन हैन, आश्रित हुन मात्रै सिकाइएको पाइन्छ । दाताहरुले बालबालिकाहरुलाई स्कुलको लागि झोला, स्टेशनरी किनिदिने, खाद्यन्न सहयोग गर्ने, चाडपर्वको समयमा पर्व मनाउन आवश्यक सामग्रीहरु जुटाइदिने गरेपछि स्थानीयहरु सक्षम हैन आश्रित बने ।
दाताहरुले सहयोग गरुञ्जेल हैन, दीगो जीवन यापनको लागि सिप र आधार सिर्जना गरिनु पर्ने स्थानीय अगुवा माधव गौतम बताउँछन् ।
दाताले दिने र उनीहरु (लक्षित समुहहरु) ले लिने प्रचालन रहुञ्जेल सामाजिक विकासमा फड्को मार्न संभव नभएको उनी बताउँछन् । हेफर प्रोजेक्टको बारेमा आफूले सञ्चारमाध्यबाट सुनेको स्मरण गर्दै उनले भने “खासमा गर्नु पर्ने सहयोग हेफरले गरेको जस्तै हो, तर यहाँ कर्म गर्न हैन, माग्न सिकाइयो ।” यि समुदायको जीवनस्तर उकास्नको लागि विभिन्न सिप विकासको कार्यक्रमहरु लागु गर्न स्थानीय सरकार तयार रहेको र सहभागी मोडलमा काम गर्ने गैससहरु भएमा अझै सहज हुने उनले बताए ।
हेफर इन्टरनेशनल नेपालले हाल नेपालको ५० जिल्लामा काम गरिरहेको छ । कोभिडको समयमा स्थानीय सरकारलाई राहत कोष स्थापनाको लागि सहयोग होस् वा महिला सहकारीहरुलाई सामान ढुवानीको लागि सवारी साधन सहयोग वा सिमान्तकृत समुदाय, ग्रासरुट तहका सर्वसाधारणको जीवनमा दीगो विकासको लागि सहकार्य गर्दै आएको संस्था हो । हेफर, नेपालको भोकमरी, गरिबी निवारणको लागि र पशु पालन क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय मानवीय संस्था हो । हेफरले सन् १९९३ मा चितवन जिल्लाको गितानगरमा बरुवा बाख्रापालन परियोजना सुरु गरेको थियो ।
त्यो समय २५ परिवारबाट परियोजना शुरु गरिएको थियो । अहिले देशको ५० जिल्लामा काम गरिरहेको हेफरका ज्ञान व्यवस्थापन तथा सञ्चार प्रमुख प्रविन गुरुङले बताए । जसबाट हालसम्म ४ लाखबढी परिवारसंङ्ख्या लाभान्वित भएका छन् । संस्थाको कामबाट लाभान्वित हुनेहरु मध्ये ९९ प्रतिशत महिला रहेको गुरुङले बताए । उनका अनुसार हेफर नेपालको प्रधान कार्यालय काठमाडौंमा र प्रादेशिक कार्यालयहरु बुटवल, भरतपुर, नेपालगंज र जनकपुरमा रहेका छन् ।
हेफरले समुदायहरूसँग साझेदारीमा काम गर्छ, संस्थासँग साझेदारी र समन्वयमा काम गर्ने साना किसानको आयमा करिब दोब्बरले बृद्धि गर्न सफल भएको लाभान्वित लुम्बिनी प्रदेश, गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका–२ जुभुङका लेखबहादुर बोगटीले बताए । वातावरण संरक्षण, महिला सशक्तीकरण, सामाजिक सद्भाव बलियो बनाउनमा पनि संस्थाले महत्वपूर्ण योगदान पुर्याएको गुल्मीदरबार गाउँपालिका सूचना अधिकारी नवराज घिमिरेको बुझाइ छ ।
पूथ्वीको हेरचाह गर्दै गरिबी न्यूनिकरणमा सघाउने कार्यक्रमहरूले दिगो सिर्जना गर्दै उद्यमीहरूलाई समर्थन गर्दै आएको हेफरका तथा सञ्चार प्रमुख गुरुङले बताए । “पशुधन र कृषिमा बीउ लगानीबाट हाम्रो साझेदारी शुरु हुन्छ, त्यसपछि परियोजनामा सहभागीहरूलाई व्यवसायहरू निर्माण गर्न र आपूर्ति श्रृंखला र बजारहरूमा पहुँच प्राप्त गर्न पनि हामीले मद्दत गर्ने गरेका छौं” गुरुङले भने ।
“जसले गर्दा परिवारको जीविकोपार्जन उकासिन्छ, सफल सहभागीले उनीहरूको नयाँ पुस्तालाई तालिम दिन्छन्, सहजिकरण गर्छन्, अनुभव आदनप्रदान गर्छन जसले गर्दा समुदायहरूलाई निरन्तर माथि उठाउन मद्दत मिलिरहन्छ” उनले भने ।
मकवानपुर । स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा मकवानपुर जिल्लाकाे १० स्थानीय तहहरुमा मनहरी गाउँपालिका र थाहा नगरपालिका प्रथम भएका छन् ।
दुवै स्थानीय तहहरुले वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति (जिसस) को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् ।
यस मुल्याङ्कनमा योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यन्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई जिसस ले मुल्यांकन गरी प्रतिवेदन तयार पार्दछ । जिल्ला समन्वय समिति मकवानपुरले गत आ.व २०७९/८० को प्रतिवेदनमा मनहरीलाई योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।
जिससले प्रदान गरेको सम्पुर्ण विषयको औषत ७३ दशमलव ५ प्रतिशत प्राप्त गरी मनहरी गाउँपालिका मकवानपुरमै प्रथम भएको हो । यस्तै बराबर ७३ दशमलव ५ न अंक प्राप्त गर्नेमा थाहा नगरपालिका पनि रहेको छ । जिससले थाहा नगरलाई योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९ दशमलव ०५ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९ दशमलव ३१ प्रतिशत , लेखाङ्कन तथा प्रतिवेदनमा ७० दशमलव ५९ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६८ दशमलव ७५ प्रतिशत र राजस्व व्यवस्थापनमा ७६ दशमलव ४७ प्रतिशत प्रदान गरेको छ ।
यसैगरी कुल ७१ अंक सहित हेटाैंडा उपमहानगरपालिका दाेस्राे स्थानमा छ भने कैलाश र मकवानपुरगढी गाउँपालिका समान अंक ७० दशमलब ५ ल्याइ तेस्राे स्थानमा रहेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला प्रथम भए पनि स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा दाेस्राे भएकाे हाे ।
हेर्नुस् कुन कुन स्थानीय तहले कति कति अंक पाए:
सौराहा,चितवन । १८औं सौराहा फुड फेस्टिवलमा होटल आइकावा उत्कृष्ट भएको छ । चितवन व्राण्डको रुपमा स्थापित महोत्सव पर्यटकीय नगरी सौराहामा प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिवल आयोजना गरेको थियो ।
फेस्टिवलमा उत्कृष्ट होटल तथा रेष्टुरेन्टमा होटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्वितीय र होली लज तृतीय हुँदै पुरस्कृत भएकाे महासचिव नवीन नेपालले बताए । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिवसको अवसर पारेर फेस्टिवल आयोजना गरिएको हो । सौराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि सौराहामा पर्यटक भित्र्याउन हरेक वर्ष फेस्टिवल गर्दै आएको कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले बताए ।
फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियोगिता गरिएको संयोजक रिमालले बताए । समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता र म्युजिकल चियर प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिवल सफल बनाउन सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त अवसरमा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङको श्रीमतिलाई उपचारको लागि रेवान सौराहाले १५ हजार र सपना भिलेज सोसल इम्प्याक्टले १५ हजार आर्थिक सहयोग गरेका थिए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिवलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका थिए । ५ दिनसम्म सञ्चालन भएको फेस्टिवल पर्यटन प्रवर्द्बनका हिसाबले सफल भएको र ३० हजार पर्यटकले अवलोकन गरेकाे रेवान सौराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए ।
चार दिन प्रवेश शुल्क नि:शुल्क गरेको रेवानले प्रणय दिवसको दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएको थियो । सो दिन १२ हजार बढीले फेस्टिवल अवलोकन गरेको अध्यक्ष गिरीले बताए । एक दिन लगाइएको प्रवेश शुल्क बापत भएको आम्दानी सौराहाको सौन्दर्यकणका लागि खर्च गर्ने योजना रहेको गिरीले बताए ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको आयोजकले जनाएको छ ।