मकवानपुर /पोखरा स्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको अग्रेणी साहित्यिक संस्था झरना साहित्य परिवारलाई पुरस्कृत गरेको छ । हेमराज पहाडी स्मृती पुरस्कार २०७७ बाट झरना समाजलाई नगद १ लाख राशि सहितकाे पुरस्कार प्रदान गरेकाे हाे ।
देशभरका साहित्यिक संस्था तथा व्यक्तिहरुबाट झरना साहित्य समाज मकवानपुरलाई छनौट पुरस्कार छनाैट समिति संयाेजक हरिदेवी काेइरालाले बताइन् ।
मकवानपुरको छतिवनमा रहेर विगत २८ वर्षदेखि नेपाली भाषा र साहित्यको उन्नयनमा यस परिवारले पु-याउँदै अाएको योगदानलाई मुल्याङ्क गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । जनस्तरबाट स्थापित र सञ्चालित परिवारले हालसम्म २ सय ६१ वटा मासिक साहित्य शृङ्खला सञ्चालन गरिसहेको परिवारका अध्यक्ष दीपक गौतमले बताए । यसैगरी झरनाले ३४ अङकसम्म ‘झरना’ अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिसकेको छ । १ सयभन्दा बढी अग्रज तथा युवा साहित्यकारहरूको सम्मान तथ अभिनन्दन, कृति प्रकाशन कोष मार्फत साहित्यिक कृति प्रकाशन, पछिल्लो ६ वर्षदेखि सिर्जनशील नयाँ पस्ता निर्माण अभियान अन्तर्गत ५० भन्दा बढी विद्यालय तथा क्याम्पसहरूमा काव्य प्रशिक्षण, बालसाहित्य समिति गठन र परिचालन, विधाविशेष साहित्य श्रृङ्खला सञ्चालन गरेको छ ।

विभिन्न व्यक्ति, संस्था र स्थानका नामका ८ वटा पुरस्कारहरूको स्थापना र वितरण गर्दै मकवानपुर जिल्लाका निकटदेखि विकट गाउँसम्म कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गौतमले बताए । झरना साहित्य परिवारले विभिन्न क्षेत्र, उमेर र विधाका स्रष्टालाई साझा छहारी प्रदान गरेर नेपाली बाङ्मययको समग्र पक्षलाई सबल र सक्षम बनाउने काममा सेतुको भूमिका निर्वाह गरे वापत यस परिवारलाई २०७७ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समिति संयोजक कोइरालाले बताइन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले झरना साहित्य परिवारका पूर्व अध्यक्ष उद्दब सापकोटा, वर्तमान अध्यक्ष दीपक गौतम, अन्य पदाधिकारी, सदस्यहरुलाई सयुक्त रुपमा पुरस्कार र ताम्रपत्र हस्तान्तरण गरेका थिए । नेपाली भाषा सहित्यको वाङ्मयको संरक्षणमा लागि परेको संस्थालाई पुरस्कृत गर्ने आवसर प्राप्त भएको भन्दै हेमराज पहारी स्मृति प्रतिष्ठान अध्यक्ष रीता न्यौपानेले खुसी व्यक्त गरिन् ।