मकवानपुर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदैछन । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लगेका हुन ।
भट्टराईको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर ( Neuroendocrine Tumour )भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन। दिल्लीमा ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुनेछ ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपाली दूतावासमा हुनेछ । उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन ।