मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आवधिक योजना निर्माण गर्न हिजोका दिनमा कुरा उठाउँदा विषयगत क्षेत्रका व्यक्तिहरुले आ-आफ्नो कर्तव्य र जिम्मेवारी बोध नहुँदा ढिला भएको औंल्याउदै अब निर्माण गर्ने दस्तावेजको लागि सबै सरोकारवालाहरुले प्रतिबद्ध भै सहयोग गर्न अनुरोध गरे।
कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना तर्जुमा अभ्यास, योजना र विकास योजना, आवधिक योजना, विधि, प्रक्रिया र परिणाम, विषय क्षेत्रगत आधार सुचक र लक्ष्य सुचक, मध्यकालीन खर्च संरचना, योजना तर्जुमाको लागि आवश्यक निर्देशक समिती, विषयगत समिती र प्राविधिक समिती र तिनीहरुको कार्य जिम्मेवारी लगायतको विषयमा अभिमुखिकरण गरिएको थियो ।
गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा फाल्गुन ६ गते विहिवार मार्खुमा कार्यशाला सञ्चालन भएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाले कार्यशालाले आवधिक योजना र मध्यकालीन खर्च संरचनाको विषय र महत्व छर्लङ्ग भएको र यसबाट बनेको दस्तावेजलाई टेकेर आगामी दिनमा अगाडि बढ्ने बताइन् ।
जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक, नागरिक, कर्मचारी लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागीतामा विषेश महत्वका साथ योजना निर्माण गर्नु पर्ने भएकाले आवधिक योजना निर्माणका लागि विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सम्पन्न गरि ३ दिने कार्यशाला गोष्ठी गरिने भएको छ ।