हेटौंडा / दाहाल प्रतिष्ठान जिल्ला कार्यसमिति मकवानपुरको आठौं वार्षिक साधारणसभा तथा कुल पूजा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कुलपूजा तथा वार्षिक साधारण सभामा प्रतिष्ठानको लागि जग्गा दान गरेका बिष्णु प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
दाहालले प्रतिष्ठानको लागि करिब डेढ कठ्ठा जग्गा प्रदान गरेको प्रतिष्ठान जिल्ला अध्यक्ष सिताराम दाहालले बताए । उक्त जग्गा प्रतिष्ठानको नाममा पास गरिसकेको उनले बताए । दाहाल सेवा प्रतिष्ठान, दाहाल सेवा समाजलाई ऐक्यबद्ध गराइ दाहाल प्रतिष्ठान मकवानपुर नामक संस्था स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत, प्रतिष्ठानका पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद दाहाललाई पनि सम्मान गरिएको अध्यक्ष दाहालले बताए ।

यसैगरी दाहाल कुलमा जन्म लिएर दन्त चिकित्सक बन्न सफल हुनुभएकोमा हेटौंडा २ निवासी तनिसा दाहाललाई प्रतिष्ठानले यस बर्षको युवा उत्प्रेरित पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको लागि प्राप्त जग्गामा कार्यालय तथा सभा हल र कुल पूजाको लागि मन्दिर निर्माण अबको मुख्य कार्ययोजना रहेको प्रतिष्ठान सचिब सरिता दाहालले बताइन् ।
यसैगरी आगामी दिनमा प्रतिष्ठानले देशै भरका बन्धुहरुसँग सम्बन्धित संस्थाहरुलाई एकताको सुत्रमा बाँधी एउटै प्रतिष्ठानमा आवद्ध गराउनको लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने, दाहाल बन्धुहरुको हित र विकासमा केन्द्रीत हुनेगरी प्रतिष्ठानको अक्षय कोषहरु स्थापना गरी सञ्चालन गर्ने र यसको लागि दाताहरुको खोजी गर्ने, बन्धुहरुको व्यक्तित्व विकासको लागि पुरस्कृत, सम्मानित जस्ता अभिप्ररणा जगाउने कार्यलाई निरन्तरता दिइने योजना रहेको प्रतिष्ठान सचिब दाहालले बताइन् ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्यहरू दीपक दाहाल,रिपेश दाहाल, प्रकाश दाहाल, बागमती प्रदेश सदस्य बालकृष्ण दाहाल,अम्बिका दाहाल, निर्वाचित जनप्रतिनिधि कृष्णप्रसाद दाहाल, जुना दाहाल, सरस्वती दाहाल, प्रतिष्ठान पुर्व अध्यक्ष तथा सल्लाहकारहरु गणेश दाहाल, बालकृष्ण दाहाललगायतको उपस्थिति थियो । कार्यक्रममा प्रतिष्ठान सचिब सरिता दाहालले संस्थागत तथा कोषाध्यक्ष दीपा दाहालले आर्थिक तथा प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बक्ताहरूले प्रतिष्ठानबाट बंश उत्थानका लागि खोज कार्यलाई महत्त्वका साथ अगाडि बढाउनु पर्ने लगायतको सवाल उठाएका थिए ।