बकैया (मकवानपुर) / मकवानपुर जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका बकैया गाउँपालिका आज विहीबार बालमैत्री घोषणा गरिदै छ । देशभरमा दाेस्राे बालमैत्री स्थानीय तहकाे रूपमा मकवानपुरकाे बकैया गाउँपालिकालाइ बालमैत्री घाेषणा गर्न लागिएकाे हाे ।
मकवानपुर बकैया गाउँपालिका ४ जुरेली चाैरमा आयाेजना हुने कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डाेरमणी पाैडेलले पालिकालाइ बालमैत्री घाेषणा गर्ने कार्यक्रम रहेकाे गाउँपालिका उपाध्यक्ष सरला बाेलखेले बताइन् । नेपाल सरकारले स्थानीय तहहरुलाई बालमैत्री घोषणाको लागि तोकेको न्यूनतम मापदण्ड पुरा गरेपछि बकैया गाउँपालिका आज बालमैत्री घोषणा गर्न लागिएको अध्यक्ष दामोदर खनालले बताए ।
बालमैत्री स्थानीय शासन रणनीति २०६८, तथा बालमैत्री स्थानीय शासन कार्यविविध –२०६८ अनुसार तोकिएको ३९ वटा सूचकमा आफूहरुले उच्च अंक हासिल गरेको अध्यक्ष खनालले बताए । तोकिएको सूचक मध्ये अनिवार्य रुपमा सतप्रतिशत पुरा हुनपर्ने १७ वटा सूचकमा सबै पुरा भएको र ८० प्रतिशत पुरा हुनुपर्ने २२ वटा सूचकहरु मध्ये ३ वटा सतप्रतिशत नै र २० वटा ९८ प्रतिशत हाँसिल भएको बकैया गाउँपालिका सामाजिक विकास शाखा प्रमुख फटिक रमण प्याकुरेलले बताए ।
‘तोकिएको मापदण्ड भन्दा हामी धेरै माथि छौ’ सामाजिक विकास शाखा प्रममुख प्याकुरेलले भने ‘बाकी सूचकहरु पनि चाँडै नै सतप्रतिशत हाँसिल गर्ने छौ ।’ कार्तिक २२ र २३ गते अन्तिम सूचक मापन गर्दा उक्त नतिजा आएको र त्यसपछि पनि धेरै उपलब्धी हासिल भएको उनले
बताए ।
४६ हजार २ सय ४८ जनसंख्या भएको यस गाउँपालिकामा १७ हजार ४ सय ६० जना अर्थात ३७ प्रतिशत बालबालिका रहेका छन् ।गाउँपालिकामा १२ वटा स्वास्थ्य संस्था, ७६ सामुदायिक र ५ संस्थागत गरी ८१ वटा विद्यालय छ ।

सामाजिक शाखा प्रमुख प्याकुरेलका अनुसार गाउँपालिकामा रहेका ४ हजार २ सय ८२ ले भिटामिन ए खाएको, १२ महिना देखी ५ वर्षका ३ हजार ८ सय ९ जना बालबालिकाले जुकाको औषधी खाएको, गाउँपालिकाको ८ हजार ४ चार ३० घर मध्ये ७ हजार ७ सय ४१ घरमा शौचालय रहेको, ७ हजार ८ सय २१ घरमा पूर्ण सरसफाइलाई व्यवहारमा उतारिएको छ । यसैगरी ५ सय ३६ विवाह मध्ये १८ वर्ष मूनीका २२ ओटा विवाह भएका छन् । विगतको तुलनामा यो तथ्याङ्कमा पनि बाल विवाहको दर घटेकोे उनले बताए ।
गाउँपालिकामा रहेका ३ देखी ४ वर्षका १ हजार २ सय ८७ बालबालिका मध्ये १ हजार २ सय २० जना बाल विकास केन्द्रमा भर्ना छन् ।
गर्भवति आमा संख्या १ हजार ७५ जना रहेको र चारपटक गर्भपरिक्षण गराएका आमाहरुको संख्या ९ सय ९० जना रहेका छन् । यस्तै २ सय २५ वटा आइरन चक्की खाएका गर्भवती आमाहरुको संख्या १ हजार ३८ जना,स्वास्थ्य संस्थामा सुत्केरी भएकाहरुको संख्या ८ सय २६, घरमा सुत्केरी भएकाहरुको संख्या ९६, टी.टी खोप लगाउने आमाहरुको संख्या १ हजार ६७ जना रहेको प्याकुरेलले बताए ।
स्वास्थ्यको सवालमा विभिन्न नयाँ कार्यक्रमहरु ल्याएपछि आधार वर्षको तुलनामा धेरै प्रगति भएको र सेचताको स्तर सकारात्मक रहेको उनले बताए । प्याकुरेलका अनुसार गाउँपालिकामा सुत्केरी पश्चात आमा–बच्चाको स्वास्थ्य जाँच गराउनेको संख्या ८ सय ४९ रहेको छ ।
यसैगरी ६ महिनासम्मको शिशु ४ सय ६६ जना मध्ये पूर्ण स्तनपान गर्न पाएका शिशुको संख्या ४ सय ३९ जना रहेको छ । गाउँपालिकाले विद्यालयहरुमा बालमैत्री सूचकको पालनाको लागि बालबालिका समेतलाई सहभागि गराइ प्रध्यानाध्यापकहरु, व्यवस्थापन समिति तथा सरोकारवालाहरु समेतको उपस्थितीमा विभिन्न चरणमा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष तथा सी.एफ.एल.जी टाक्सफोर्स संयोजक सरला बोलखेले बताइन् ।
गाउँपालिकामा विद्यालय जाने उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको संयोजक बोलखेले बताइन् । उनका अनुसार गाउँपालिकामा बाल विकास केन्द्र ७४ ओटा, बाल समूह १ सय १३ ओटा, बालसमूह संजाल १३ ओटा गठन भएका छन् । यि समूह सञ्जालहरुमा सहभागी सबैले बालमैत्री अभियानला लागि परेको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकालाई आज बालमैत्री घोषणा गरिएपछि यो गाउँपालिका मकवानपुर जिल्लाको दोस्रो ‘बालमैत्री’ गाउँपालिका बन्नेछ । यस अघि मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री घोषणा भइसकेको छ । बकैया गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्नको लागि अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख बजेट छुट्याएको थियो । जिल्ला समन्वय समिति मकवानपुरले बकैया गाउ“पालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तह घोषणा गर्न एक हप्ता अगाडि अनुमति प्रदान गरिसकेको छ ।
जिससको ७२ औं बोर्ड बैठकले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाका १२ वटा वडाहरु बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यान्वयन घोषणा प्रक्रियामा विगतदेखि नै कार्य गर्दै आएको र बालमैत्री स्थानीय तह हुनका लागि तोकिएको मापदण्ड तथा संस्थागत व्यवस्थाहरु पूरा गरेको प्रतिवेदनका आधारमा अनुगमनपछि निर्धारित सूचक तथा मापदण्ड पूरा गरेको आधारमा घोषणाको अनुमति दिइएको हो ।