मकवानपुर । नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। यही माघ ९ गते काठमाडौंमा आमसभा गरेको सो समूहले आज शक्ति प्रदर्शन गर्न लागेको हो।
यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो। मंगलबार कोटेश्वरको पेरिसडाँडामा बसेको समूहको बैठकमा शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन्।
प्रतिनिधि सभा विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ। दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्।
प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो। यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ। साे समूह हिजो निर्वाचन आयोगमा पुगेर दुई चरणमा निर्वाचन गर्ने जिल्ला र प्रदेशको नाम पनि टुंगो लगाएको छ। ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो।