मकवानपुरकाे बकैया गाउँपालिकालाइ माघ २९ गते बालमैत्री स्थानीय तहकाे रूपमा घाेषाणा गरिदै छ । सामाजिक विकासकाे लागि सबैभन्दा उत्कृष्ट मानिएकाे बालमैत्री स्थानीय शासन अबलम्वनकाे तयारीका पेरिफेरीमा गाउँपालिका उपाध्यक्ष तथा सी.एफ.एल.जी टाक्सफाेर्स समिति संयाेजक सरला बाेलखेसँग गरिएकाे कुराकानीकाे सार :
बालमैत्री स्थानीय तह घोषणाको तयारी कहाँ पुग्यो ?
हामी अब घोषणाको अन्तिम तयारीमा छौ । बालमैत्रीका न्यूनतम सूचकहरु पुरा गर्ने, तिनीहरुको अवस्था विश्लेषण गर्ने, उच्च निकायबाट अनुगमन गर्ने जस्ता कार्यक्रमहरु सकिएका छन् । १०० प्रतिशत पुरा हुनु पर्ने १७ वटा सूचकहरुमा हामी सतप्रतिशत नै छौ । २२ वटा सूचक ८० प्रतिशतभन्दा माथि पुरा गर्नुपर्ने हुन्छ । अब हामीले सूचकलाई मापन गर्दा अन्तिम अवस्था ८० प्रतिशत पुरा हुनुपर्ने सूचक पनि ९० भन्दा माथि छौ । ९८ सम्म पुगेको छौ हामी । गाउँपालिकाको १२ वटै वडामा जिल्ला समन्वय समितिले भिजिट गरेको छ । सूचकको अवस्था मुल्याङ्कन गरेको छ । हरेक विद्यालय, हरेक स्वास्थ्य संस्था तथा प्रतिनिधिमुलक रुपमा अनुगमन भएको छ । समुदाय स्तरमा समेत उहाँहरु पुगेर क्रस चेकिङ समेत गर्नु भएको छ ।
गाउँसभाको ६४ जना सदस्यहरु, विद्यालयका प्रअहरु, बालमैत्री अभियानका स्वंयमसेवक तथा सहजकर्ताहरु, सबैको उपस्थितिमा मुल आयोजक कमिटीको गठन तथा बैठक पनि सकिएको छ । पत्रकारहरुलाई समेत हामीले आफ्नो अवस्थाबारे जानकारी गराएका छौ । अब हामी २९ गतेको कार्यक्रमको तिव्र तयारीमा छौ ।
बालमैत्रीको लागि सबैभन्दा चुनौतिको कुरा बाल विवाहको रहेको पाइन्छ ? बकैया गाउँपालिकाभित्र बाल विवाहको अवस्था के छ ? यो सूचक पनि पूर्ण छ भयो त ?
३९ वटा सूचकहरु मध्ये हामीलाई केही चुनौतिपूर्ण भएको सूचक बाल विवाह नै हो । तर गर्दै जाँदा सकिदो रहेछ भन्ने सिकाइ हामीलाई भएको छ । किनभने संविधानले बाल विवाहलाई गैर कानूनी नभनुञ्जेल त कति बाल विवाह भए नि हैन त ? जब कानुन बनेर आयो, अनि न कानुनको पालन गर्दै बाल विवाह कम हुदै आए । हामीले पनि २ वर्ष अगाडिबाट बाल मैत्री स्थानीय शासन अबलम्वन गर्ने घोषणा ग-यौ, त्यसपछि विस्तारै बाल विवाह, बाल श्रमिकहरुको विषयलाई प्राथमिकतामा पार्दै आयौ । आजसम्म आइपुग्दा धेरै सफलता मिलको छ ।
२०७५ भदौमा कानुन बने पनि हामीले २०७४ बाटै बाल विवाह गर्नुहुदैन, विवाहवारी २० वर्ष पारी भन्ने अभियान सुरु गरिसकेका थियौ । कानुन पनि त्यसैगरी बनेर आयो हामीलाई झनै सहज भयो । कानुन कार्यान्वयन गर्ने पर्ने अवस्थामा चुनौति भएपनि, कानुनको पालना गर्नै पर्छ । भोटाधिकारको लागि उमेर पुग्ने तर,विवाह गर्न उमेर नपुग्ने भनेर केही सुझाव त आएका छन्, तर सुझाव प्राप्त भए पनि अहिले कानुन नै मान्नु पर्ने अवस्था हो । संविधान परिवर्तन गर्ने कुरा सहज पनि हैन, हामीले गर्ने कुरा पनि भएन, सुझावसम्मको कुरा मात्रै हो ।
अहिले भागेर विहे गरेका केस हामीले फिर्ता गरेका छौ, अभिभावक आफैं संलग्न भएर बिहे गरेका घटना भेटिन छाडेका छन् । बिहेको लागि घरभरी आएका जन्ति भागाभाग भएर, घरमा लगेर भित्र्याइएको नानीलाई समेत हामीले दुई परिवार राखेर पराशर्म गरेर छुटाएका थियौ । १९ वर्ष ६ महिना उमेरकी नानीको बिवाह हामीले ६ महिना रोकेर, त्यसपछि सोही परिवारमा विवाह
गराएका घटना समेत छन् ।
घोषणाको तयारी सकिएको भन्नुभएको छ, अब यो घोषणा सकिएपछिको योजना के छ ?
घोषणा गरिसक्नु भनेको हामीलाई निरन्तरताको लागि अर्को कदम सुरु हुनु पनि हो । मान्छे, जन्मने र मर्ने प्रक्रिया त सकिदैन, चलिनै रहन्छ । चेतनाको स्तर सधैं उँचो रहनु पर्छ । आगामी दिनको लागि पनि हामी सचेत छौं । ३ वर्षे आवधिक योजना प्रत्येक वडामा बनाएका छौ । पञ्चवर्षिय योजना पनि बनाएको छौ । बालबालिकाको स्थितीपत्र तयार गरेका छौ । यो कार्यक्रम निरन्तर जाने कार्यक्रम हो । घोषणा गरेपछि सकिने कार्यक्रम हैन । विद्यालय, बाल समूह, बाल क्बल बालमैत्री स्वयमसेवक, गाउँपालिकामा रहेका फोकल पर्सन सबैजना अहिले जुन स्थितीमा रहेर काम गरेका छौ, भोलिका दिनमा पनि त्यहि स्थितीमा रहेर काम गरिरहेनेछौ ।

बाल उद्यानको व्यवस्था गर्ने योजना बनाएका छौ बकैया गाउँपालिकाले निर्माण गर्न लागेको गौतम बुद्ध पार्कलाई बालमैत्री बनाउनको लागि डिपिआर तयार भएको छ ।
बालमैत्री भनिसकेपछि स्वास्थोपचमरमा पहुँचका कुरा पनि जोडिन्छन्, गर्भवतीहरुले टी.टी खोप पनि नपाउने गरेको अवस्था यस पालिका भित्र विगतमा थियो, अहिले स्वास्थ्योपचारको सुनिश्चितता कसरी गर्नुभएको छ ?
अवश्य पनि हो । हामी जनप्रतिनिधिको रुपमा गाउँपालिका आउँदा यहाँका धेरै आमाहरुले गर्भावस्थामा सुइ समेत नपाएको अवस्था थियो । स्वास्थ्य संस्थामा मात्रै सुत्केरी हुने, बालबालिकालाई पुर्ण खोप लगाउने भन्ने कुरा कतिपय लाई थाहा नै थिएन । केही वडाहरुमा यो सुविधा पनि थिएन । यो अवस्थालाई सुधार गर्न हामीले जिरो होम डेलिडरीका कार्यक्रमहरु ल्यायौ ।
अहिले धरै कुराको व्यवस्था भएको छ । गर्भवति हुँदा, नियमित जाँच गराउँने, भिडियो एक्सरे गरेर गर्भको अवस्था जानकारी राख्ने, स्वास्थ्य संस्थामा मात्रै सुत्केरी हुने कुरालाई हामीले पूर्ण रुपमा व्यवस्थित गरेका छौ ।
भिडियो एक्सरे निःशुल्क गरेका छौ । २ वटा वडामा हामीले नै बर्थिङ सेन्टर स्थापना गरेका छौ । जो स्वास्थ्योपचारको पहुँचमा पुग्न सक्ने अवस्था थिएन, हामीले उहाँहरुकै लागि लक्ष्यित गरेर बर्थिङ सेन्टर खोल्यौ, पालिका सबै वडामा स्वास्थ्य संस्था छ, बथिङ सेन्टर ६ वटा मात्रै हुँदा सेवा लिन समस्या भएपछि हामीले २ वटा थपेर ८ वटा पु¥याएका छौ । स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन प्रोत्सहनको लागि हामीले गाउँपालिकाबाट १ हजार ५ सय रुपियाँ दिने गरेका छौ । पालिकाभन्दा बाहिरको स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुभएको अवस्थामा हामीले अर्को थप ५ सय पनि दिने गरेका छौ । नेपाल सरकारले दिने सुविधामा यो थप सुविधा बकैया गाउँपालिकाले दिएको हो ।
यसैगरी गाउँपालिकाभित्रको जो कोही बिरामी परेमा निःशुल्क रगत उपलब्ध गराउने गरेका छौं । मकवानपुरको हकमा हामीले ब्लड बैंक हेटौंडासँग सझौता नै गरेका छौ । बाँकी अन्य अस्पतालमा गएर रगत हाल्नु भएको छ भने डक्टरले प्रमाणित गरेको बिल ल्याएपछि हामीले वडाको स्वास्थ्य संस्था मार्फत पैसा दिने गरेका छौ ।
विद्यालय बाहिर कति बालबालिका छन् ?
कत्ति पनि छैनन् । विद्यालय बाहिर बालिबालिका नै छैनन् । ५ वर्ष उमेरका सबै बालिबालिका विद्यालयमा भर्ना भएका छन् । सूचक अनुसार ३ देखि ४ वर्ष उमेर पुगेका बालबालिकाहरु प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका हुनुपर्ने, ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकाले आधारभुत शिक्षा (१ देखि कक्षा ८ सम्म) पुरा गरेको हुनुपर्ने, कक्षा १ को लागि विद्यालय जाने उमेर समूहका सत्प्रतिशत बालबालिकाहरु विद्यालय भर्ना भएका हुनुपर्ने, विद्यालय जान नपाएका बालबालिकाहरुले अनौपचारिक शिक्षा प्राप्त गरेको हुनुपर्ने, प्रत्येक विद्यालयमा छात्रछात्रा को लागि अलग अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, प्रत्येक विद्यालयमा अतिरिक्त कृयाकलाप सम्बन्धी कार्यक्रम संचालन भएको हुनुपर्ने छ । हामीले यि सबैमा काम गरेका छौ । सबै सूचक मिट गरेका छौ । गाउँपालिकामा १७ हजार ४ सय ६० जना बालबालिकाहरु छन् । सबै बालबालिका तोकिएको सूचक अन्तरगत छन् ।
विद्यालयको अवस्था के छ ?
हामीसँग सामुदायिक र संस्थागत गरेर ८१ वटा विद्यालयहरु छन् । यि विद्यालयहरुमा बालमैत्री शौचालय, पानीका धाराहरु, सेनिटरी प्याडको व्यवस्था, सिकाई सम्बन्धी अतिरीक्त क्रियाकलापहरु नियमित छन् ।
बालश्रमको अवस्था ?
यो मुद्दा हाम्रो गाउँपालिकाको हैन । किन हैन भने हामीकहाँ यसको समस्या नै छैन । यसो बुझ्दा बालबालिकाहरु आमाबुबासँग घाँस काट्न गए, पानी खेप्न गए भन्दा बालश्रमको कुरा जोडिन्छ । सक्दा र भ्याउँदा आमाबुबासँग कामको सिकाइ पनि जरुरी छ । हामी कहाँ निकृष्ट प्रकारको बाल श्रम छैन ।

अरु चुनौति के के देख्नु भएको छ ?
अब चुनौतिकै कुरा गर्ने हो भने त केही छन् । मानौ एउटा बाटोको ट्रयाक ओपन गर्न लागियो भने केही दिनमा छ्याङ्ग हुन्छ । हेर्दा चटक्क देखिन्छ, ओहो यो पो विकास भन्ने बुझाइ हुन्छ । तर एउटा मान्छेको चेतनामा विकास गर्न समय लाग्छ । उसको मानसिकता परिवर्तन ल्याउन धेरै मेहनत लाग्छ । समय कुर्नुपर्ने हुन्छ । मान्छेले विगतदेखि जुनखालको क्रियाकलाप गर्दै आएको छ, त्यसलाई छिटै परिवर्तन गर्न सकिदैन । हेर्दा देखिन समय लाग्छ, के भयो र खै भन्ने सवाल पनि उठ्छ । कतिपयले घोषणाको लागि घोषणा हो भनेर कम आँकलन गरिदिनु हुन्छ । उहाँहरुलाई कन्भिस गराउन समय लाग्छ । तर कन्भिन्स भएपछि उहाँहरु हामीसँगै हाम्रो अभियानमा लाग्नु हुनेछ ।
अर्को कुरा भौगोलिक विकटता छ । ४६ हजार ४ सय जनसंङ्ख्याको गतिविधिलाई नियाल्न केही चुनौति त पक्कै छ नि ।
बालमैत्री शासनको फाइदा के छ ?
बालमैत्रीको पाटोमा हामीले सफलता हासिल गर्न सक्दा हामीलाई सामाजिक क्षेत्रमा अरु काम गर्न
धेरै सहज छ । लैङ्गिक सवाल, अपाङ्गताको सवाल, ज्येष्ठ नागरिकको सवाल, शिक्षा, स्वास्थ्य, खाद्य जस्ता सवालमा हामीलाई काम गर्न धेरै सहज हुने रहेछ । छोटकारीमा भन्नुपर्दा बालमैत्री शासन सबैभन्द श्रेष्ठ शासन हो ।