मकवानपुर/ बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा गर्भावस्था सम्बन्धी जटिलताको कारण १६ जना महिलाहरुको ज्यान गएको छ ।
प्रदेशको १३ जिल्लामा ४ सय ३९ वटा बर्थिङ् सेन्टर, ४० वटा जटिल उपचार केन्द्र तथा ७ वटा प्रसुतिबारे विशेषज्ञ सेवा प्रदान गर्ने स्वास्थ्य निकायहहरु हुँदा हुँदै पनि एक वर्षमा १६ जना महिलाहरुले गर्भावास्था सम्बन्धी जटिलताको कारण ज्यान गुमाएका हुन् । यस बिचमा ९३ जना नवजात शिशुको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य सेवामा महिलाकाे पहुँच अझै कमजाेर रहेकाे याे तथ्याङ्कले देखाएकाे छ ।
प्रदेशको राजधानी हेटौंडामा पत्रकार अन्तरक्रिया गर्दै निर्देशनालयले यस्तो जानकारी सार्वजनिक गरेको हो । पत्रकारहरुसँगको अन्तरक्रियामा गत आवको प्रगति विवरण तथा चुनौतिबारे चर्चा गरिएको थियो । बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ७३ दशमलव ६५ प्रतिशत अर्थात ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले पत्रकारहरुसँगको अन्तरक्रियामा जानकारी दिएको छ ।
प्रदेशको ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा दिएको जनाइएको निर्देशनालयले जनाएको छ । खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको निर्देशनालयले जनाएको छ । यसैगरी ३ सय ३४ जनामा कोरोना विरुद्धको खोपले सामान्य असर देखाएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएका हुन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतले हालसम्म खोप सेवा लिएका छन् ।
निर्देशनालयले नागरिकको आकर्षण वैकल्पीक चिकित्सा तथा आयुर्वेदमा बढ्दै गएकाले सबै स्थानिय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको सुरुवात गरिएको छ । गत आर्थिक वर्षमा मात्रै ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना गरिएको निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले बताए ।
निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले गाउँ घर क्लिनिकले गाउँ स्तरबाट स्वास्थ्य सेवा प्रदान भैरहेकाले दुर्गम क्षेत्रसँग दुरी कम गरिरहेको बताए । कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।