मकवानपुर । नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । नेपाल टेलिकमले १७ औ बार्षिकोत्सवको अवसरमा वाईफाइको रुपमा फोरजी वायरलेस होम ब्रोडव्यान्ड सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् टेलिकमले जनाएकाे छ । सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ । सेवा सुरु गरेको बताउदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले याे सेवा मुलुकभरका लागि ल्याइएको बताए ।
यो सेवाको लागि ग्राहकले प्रति महिना नौ सय रुपैयाँमा ६० जीबी, १ हजार ५ सय रुपैयाँमा १२० जीबीमा ग्राहकले सेवा लिन सक्ने छ । त्यस्तै वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७२० जीबी र १६ हजार रुपैयाँमा १४४० जीबीमा उक्त सेवा उपलब्ध हुने बताइएको छ । १६ हजार रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटा शुल्क ११.११ रुपैयाँमात्र पर्न आउने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको फोरजी ६ सय २० स्थानीय तहमा
नेपाल टेलिकमले ६ सय २० वटा स्थानीय तहमा फोरजीको पहुँच पुगेको बताएको छ । योसंगै टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ । सबै जिल्लामा गरी कुल ६ सय २० वटा स्थानीय तहमा फोरजी सेवा पुगेको भएपनि चिसोको कारण उच्च हिमाली क्षेत्रमा फोरजी पुर्याउन कठिन भएको टेलिकमको भनाई छ ।
कम्पनीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको रुपमा एड्भान्स फोरजी तथा एलटीई सेवा विस्तारको काम जारी रहेको बताएको छ । कम्पनीले विहीबार स्थापनाको १८ औं वार्षिकोत्सव मनाउँदै आगामी केहि महिना भित्र सबै स्थानीय तहमा फोरजीको पहुँच पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले फोरजी विस्तारको कार्य तीव्रताका साथ भइरहेको भन्दै फोरजी सेवाको देशव्यापी विस्तारसँगै प्रमुख चार सहरमा फाइभजी सेवाको समेत परीक्षण गर्ने तयारी गरेको जानकारी दिए’ । कम्पनीले एउटै फाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिने कार्यलाई समेत तीव्र रुपमा विस्तार गर्न थालेको छ । यो सेवा हाल देशका ४२ जिल्लामा पुगिसकेको कम्पनीले जनाएको छ ।