मकवानपुर/जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा फरार रहेका ६ जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।
जसमा २१ वर्ष अघिदेखि फरार सूचिमा रहेका प्रतिवादीदेखि २ वर्ष अगाडिबाट फरार सूचिमा रहेकाहरु छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार जिल्ला अदालत मकवानपुरले २०५६ असार १६ गतबाट फरार हरेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रहेका छन् ।
१६ असार २०५६ मा जिल्ला अदालत मकवानपुरको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय तोकिएका साबिक ठेगाना मकवानपुर जिल्ला बुढिचौर गाविस–५ घर भई हाल मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बस्ने ७३ वार्षीय फरार प्रतिवादी देवलाल रुम्बालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । रुम्बालाई मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका– ८ बाट पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रनाउ रानाले बताए ।
यसैगरी जिल्ला अदालत मकवानपुरले २२ जेठ २०७५ को फैसलाले लागू औषध मुद्दामा १० महिना कैद सजाय तोकिपछि फ रार रहेका मकवानपुर जिल्ला मनहरी गाउँपालिका– ९ बस्ने ४८ वर्षीय फरार प्रतिवादी चेपाङ माइला भन्ने भोजबहादुर प्रजालाई पनि प्रहरीले पक्राउ गरेको हो । प्रजालाई मकवानपुर जिल्ला मनहरी गाउँपालिका–८ बाट पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको रानाले बताए ।
यसैगरी वन मुद्दामा विभिन्न मितिको फैसलाले दश हजार जरीवाना तोकिएपछि फरार रहेका ४ जना फरार प्रतिवादीलाई पनि प्रहरीले सोमबार नै पक्राउ गरेको छ । जिल्ला अदालत चितवनले २० असार २०७४ को फैसलाले वन मुद्दामा दश हजार जरीवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी जिल्ला मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ बस्ने ४३ वर्षीय राम सिंह लोप्चनलाई पनि प्रहरीले सोमबार नै पक्राउ गरेको छ । लोप्चनलाई मनहरी गाउँपालिका–६ बाट पक्राउ गरिएको हो ।
यसैगरी जिल्ला अदालत चितवनले २० असार २०७४ को फैसलाले वन मुद्दा नै दश हजार जरीवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षिय कान्छा भन्ने राज कुमार तामाङ, घरैबाट पक्राउ गरिएको छ । यसैगरी जिल्ला अदालत चितवनले २० असार २०७४ को फैसलापछि फरार रहेका प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २९ वर्षिय छिरिङ मोक्तान र सोही स्थान निवासी ३८ वर्षिय प्रतापसिंह जिम्बालाई प्रहरीले पक्राउ गरेको हो ।
मोक्तान र जिम्बालाई दुबैलाई प्रहरीले घरैबाट पक्राउ गरेको बताएको छ । प्रहरीले पक्राउ गरिएका सबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य पक्रिया सुरु गरेको प्रनाउ रानाले बताए ।