मकवानपुर । हेटौंडामा माघ १६ गतेबाट जारी भिडोल विजय यूथ हेटौंडा गोल्डकपमा आयोजक विजय युथ क्लबले मुस्किलले जित हात पारेको छ । जीत सँगै आयोजक क्लब र सेन्ट्रल कलेज भरतपुर पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता,२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक विजय युथ क्लबले सर्लाही जिल्ला फुटबल संघलाई २-० र सेन्ट्रल कलेज भरतपुरले काठमाडौंको एफसी रियालेलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । आयोजक विजय युथ हेटौंडाको जीतमा विदेशी खेलाडी साहिद र हिसुव थपलियाले गोल गरेका थिए । साहिदले खेलको छैठौं मिनेटमा र हिसुब थपलियाले ७२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाका विमल राना म्यान अफ दी म्याच घोषित भए ।
सर्लाहीका खेलाडीहरुले उच्च स्तरको प्रदर्शन गरेता पनि पटक पटकको प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले विफल तुल्याएका थिए । हेटौंडाको तर्फबाट ए डिभिजन लिगमा सहभागी भइसकेका अनुभवी खेलाडीहरुको अगाडि फिनिसिङमा चुकेको देखिन्थ्यो। हेटौंडाका तर्फबाट राष्ट्रिय टोली सदस्य समेत रहेका खेलाडी रञ्जन विष्ट समेत सहभागी थिए ।
यस अघि आईतबार नै भएको खेलमा एफसी रियाले काठमाडौंलाई सेन्ट्रल कलेज भरतपुरले हराएको थियो । भरतपुरको लागि विदेशी खेलाडी जोन ग्लोरीको ह्याट्रिक प्रेरित भरतपुरको जीतमा रञ्जित आले मगरले पनि थप एक गोल गरे । भरतपुरका ग्लोरीले ३५, ३७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । उनी प्रतियोगितामा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका ग्लोरी म्यान अफ दी म्याच समेत घोषित भए । भरतपुरका रञ्जितले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । काठमाडौंका लागि रञ्जित तिवारीले ५७ औं मिनेटमा एकमात्र गोल गरेका थिए ।
एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् ।
भिडाेलले प्रायाेजन गरेकाे प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।