मकवानपुर । रेडियाे मकवानपुर र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना बार्षिकोत्सवको अवसरमा सुरु भएको सप्ताहाव्यापी कार्यक्रम अन्तरत पहिलो दिन शुक्रबार शहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ ।
शहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने प्रथम, त्रिभुवन नमूना माविका सुजन ढुङ्गाना द्वितीय, भानु माविका जेनिशा चौलागााइँ तृतीय, शारदा माविका कविना सञ्जेल र बालज्योति मावि पिप्लेका रिजाय कार्की शान्त्वना भएका छन् ।
प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयको २३ जना विद्यार्थीहरु सहभागी रहेका थिए । कविता प्रतियोगितामा साहित्यकारद्वय दीपक गौतम र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना भएका विद्यार्थीहरुले क्रमश: नगद ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको प्रमुख आतिथ्यता रहेको थियो । रेडियो मकवानपुरले सामुदायिक रेडियो हुनुको नाताले आफ्नो धर्म निर्वाह गर्दै आएकोमा खुसी स्टेसन म्यानेजर अधिकारीले खुशी व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, दिव्यतारा सहकारीका व्यवस्थापक रमेशप्रसाद कोइारालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सवको अवसरमा शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्न जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ सहयोग, २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।