मकवानपुर । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।
कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।
आजै बाममती प्रदेशको राजधानी हेटौंडा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठलाई खोप हस्तान्त्रण गर्दै कोरोना विरुद्धको खोपको शुभारम्भ गरेका हुन् ।
मकवानपुरमा कोरोना विरुद्धको पहिलो खोप हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठले लगाएका छन् ।
भवितव्य भए सरकार जिम्मेवार नहुने
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।
नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने यसअघि नै बताइसकेको छ । त्यसैले खोप लगाउने व्यक्तिले भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा गर्नुपर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन । कोरोनाविरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।
कसले नलगाउने ?
यो खोप बायाँ पाखुरामा लगाइन्छ । कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुर्याइसकिएको छ ।