मकवानपुर/ छरितो स्वास्थ्य सेवाको माग गर्दै नागरिक समाज मञ्च मकवानपुरले हेटौंडा सामुदायिक आँखा अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
दैनिक ३ सयभन्दा बढी बिरामीलाई सेवा दिंदै आएको हेटौंडा सामुदायिक आँखा अस्पतालले कोडिभको कारण पछिल्लो समय सेवामा कोटा निर्धारण गरेपछि नागरिकलाइ सेवा प्रवाहमा समस्या भएको भन्दै मञ्चले ध्यानाकर्षण पत्र बुझाएको हो ।
आँखाको उपचार सबैले सर्वसुलभ र छरितो पाउन अति जरुरी भएको र अस्पतालले टोकन प्रणाली मार्फत निश्चित बिमारीको आँखा उपचार गरेपछि टाढाबाट उपचारको लागि आएकाहरुको समस्यालाई व्यवस्थापन गर्न समाजले माग गरेको अध्यक्ष रमिला सापकोटाले बताइन् ।
अस्पतालले हाल विहान साँढे ७ बजेबाट टोकन बाँड्ने समय सुरुगर्दा रातिदेखि नै बिरामीहरु लाइन बस्नुपर्दा समस्या भोग्नु परेको गुनासो आएको अध्यक्ष सापकोटाले बताइन् ।
यसैगरी दैनिक १ सय २५ वटा मात्रै टोकन वितरण गर्ने गरेको कारण लामो समय लाइनमा बसेकाहरु उपचार नपाई फर्कनु पर्ने वाध्यतालाई अस्पताल प्रशासनले व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।
अस्पतालको समयमा आउने सबैले टोकन प्राप्त गर्ने तर उसको पालो आउने मिति समयको जानकारी प्रदान गरेर पठाउनु पर्ने ताकी उसले टोकन नपाएर फर्किने अवस्था नआओस् भन्ने माग गरिएको हो । यसैगरी एक परिवारको एकभन्दा बढी व्यक्ति आँखा जाँचको लागि आएमा एकाघर परिवारको एक जनामात्रै लाइन बसेर आवश्यक अन्य सदस्यले पनि टोकन पाउनु पर्ने माग गरिएको हो । ध्यानाकर्ष पत्र बुझाएपछि हेटौंडा आँखा अस्पतालका प्रशासकीय प्रमुख सुधिर श्रेष्ठले अस्पतालमा स्वास्थ्य सेवालाई प्रभावकारी र छरीतो पार्नको लागि पहल जारी राखेको बताए ।
कोभिडको कारण स्वास्थ्य सुरक्षा अपनाउँदा सेवा प्रवाहमा केही समस्या आइपरेको उनले बताए । ‘बिरामीहरु उपचार नभए फर्कनु पर्दा हामीलाई पनि राम्रो लाग्दैन’ श्रष्ठले भने ‘अब कार्यालय समयभन्दा बाहेकको समयमा पनि सेवा प्रवाह गर्नको लागि अन्तिम तयारीमा पुगेका छौ’ उनले भने । आँखा उपचारको लागि नोभेम्बरबाट टोकन बिना नै दिउँसोको समयमा थपशुल्क सहित आँखा जाँचको प्रवन्ध मिलाउन लागिएको उनले बताए । हेटौंडा सामुदायिक आँखा अस्पतालमा हेटौंडा बाहेक प्रदेश २ का विभिन्न जिल्लामा बिरामीहरु आँखा जाँचको लागि आउने गरेका छन् ।