मकवानपुर । बागमती प्रदेश स्तरीय रेफ्री कोर्स सोमबारबाट हेटौंडामा सुरू भएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यक्रमको उद्घाटन गरेर रेफ्री तालिम सुरू गरेकाे हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशका ३६ जनालाई रेफ्रीको लागि चौंथो तह(आधारभुत) तालिम सुरु भएको हो ।
सात दिन चल्ने तालिममा फुटबल खेलाउँदा हुने मैदानको विषय, खेलाडी र रेफ्री भूमिकाको विषयमा साेमबार सिकाईएको थियाे । यस्तै मंगलबार खेल समय, खेल सुरु हुने समय र समापन गर्ने विषयमा शारिरिक र सैद्धान्तिक विषयकाे प्रशिक्षण रहेको आयाेजकले जनाएकाे छ । यस्तै खेल अवधीमा खेलाडीहरुको गतिविधि, बल भित्र बाहिरको शैली, अफसाईड,फ्रि कि, पेनाल्टी र कार्डहरुको प्रयोगबारेमा मैदानमा सिकाईने फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताए ।
तालिमको उद्घाटन गदैै शेर्पाले नेपालको फुटबल क्षेत्रमा रेफ्रीहरुको माग बढ्दै गएको बताएका थिए । उनले रेफ्रीहरु निष्पक्ष, क्षमतावानको प्रतिक भएकोले त्यहि अनुसार तालिम र तयारी गर्न आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, नेपाल महिला राष्ट्रिय फुटबल टिमकी पुर्व कप्तान तथा वरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको उपस्थिती रहेको थियो । कार्यक्रम फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको थियो ।