- यश लामा
देश यसरी चलेको छ
धनजिते कार्की
लोलाएका हात
इस्तेमाल गरेर बदाम बेच्छ
र मन खोलेर देशलाई सिर्तो बुझाउँछ ।
जुरेली धोबी
किम्मती पसिनाले लुगा धुन्छे
र मन खोलेर देशलाई सिर्तो बुझाउँछे ।
बुनिया बुढाथोकी
कुँजिएको गोडाले कल चलाउँछे
र मन खोलेर देशलाई सिर्तो बुझाउँछे ।
कान्छा सार्की
आँसुको छाला काटेर जुत्ता सिउँछ
र मन खोलेर देशलाई सिर्तो बुझाउँछ ।
सूर्यवंशी ठाकुर
औँलाको नशा च्यापेर
लय मिलाउँदै कपाल काट्छ
र मन खोलेर देशलाई सिर्तो बुझाउँछ ।
मङ्गली तामाङ
ढाडमा छोरा बोकेर
सेलो गाउँदै बालुवा चाल्छे
र मन खोलेर देशलाई सिर्तो बुझाउँछे ।
युवापुस्ता
हात,गोडा,ढाड,मस्तिष्क बेचेर
प्रवास चलाउँछन्
र मन खोलेर देशलाई सिर्तो बुझाउँछन् ।
आखिर
देश यही सिर्तोले न चलेको हो ।
दास कोरल्ने माउहरूले त केवल
मुख मात्र बजाएको छ
सङ्घीयता भजाएको छ
गणतन्त्र भजाएको छ
समाजवादको सपना पकाएको छ
र ढुकुटी पचाएको छ ।
कसले के गरेको छ र ?
आखिर
देश भुइँ मान्छेको श्रमले चलेको छ ।