मकवानपुर । माघ १६ गते शुक्रबारबाट पहिलाे ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा हुन लागेको विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
माघ १६ गते शहिद दिवसको दिनबाट सुरु हुने खेल २३ गते फाइनल खेल हुने छ । प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको आयोजक एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले बताए । प्रतियोगिताको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुने आयोजकले जनाएको छ ।
वन विज्ञान अध्ययान संस्थानको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष राजबाहकले बताए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए ।
विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
माघ २३ गतेबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने भनिएको उक्त गोल्डकप विद्यार्थीको परीक्षाका कारण १६ गतेबाट गर्नु परेको आयोजक विजय युथ क्लबले जनाएको छ ।