मकवानपुर/बालमैत्री गाउँपालिका घोषणाको तयारीमा रहेका मकवानपुरका गाउँपालिकाहरुले आफ्नो तयारीलाई तिव्रता दिएका छन् ।
हालसम्म जिल्लाको मनहरी गाउँपालिकामात्रै बालमैत्री गाउँपालिका घोषणा भएको छ । जिल्लाको बकैया गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणाको तयारीलाई लगभग अन्तिम चरणका पु¥याएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताएका छन् । गाउँपालिकाले बालमैत्री घोषणाका चरणहरु पार गरेको र यसको निरन्तरताका लागि योजनाबद्ध रुपमा अगाडि बढेको अध्यक्ष खनालले बताए ।
गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक विभिन्न कार्यक्रमहरु निरन्तर जारी राखेको खनालले बताए । बकैया गाउँपालिकामा बुधबार आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले बालबालिका नै देशका कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्न नहिचकिचाउन सुझाव दिएका छन् ।
प्रमुख खुलालले समाज रुपान्तरण नै विकासको मापन भएकाले समाजलाई परिस्कृत बनाउन सक्नुपर्ने बताए । उनले भौतिक उपलब्धीले मात्र विकासको मापन गर्न नहुने भन्दै समाजिक क्षेत्रमा समेत प्रयाप्त बजेट व्यवस्थापन गर्न आग्रह समेत गरे । समाजिक क्षेत्रमा गरिएका कामले समाज परिर्वतन गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बालमैत्री स्थानीय तह घोषणाले सामुदायिक विकासमा टेवा पुग्ने बताइन् । उनले बालमैत्री स्थानीय तह घोषणाका सुचकहरुको दीगोपनामा ध्यान दिन सुझाव दिइन् । यसैगरी जिल्ला समन्वय अधिकारी आन्नदराज पोखरेलले बालमैत्रीका सुचकहरुको गुणस्तरीयता, स्थानीयकरण र दीगो कार्यान्वयनको पक्षमा ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष खनालले बालमैत्री स्थानीय शासन र यसका चरणहरुका बोरमा, उपाध्यक्ष सरला बोलखेले बालमैत्री स्थानीय शासन स्थापनाका लागि बिगत ३ वर्षमा गरिएको काम, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बालमैत्री स्थानीय शासनका सुचक र बालमैत्री सहजकर्ता फणिकरमण प्याकुरेलले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरिएका कृयाकलाप, तथ्याङ्किय अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिसस सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्हजन, गाउँपालिकाका १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिका स्तरीय बाल सञ्जाल समितिका अध्यक्ष सरस्वती जिम्बा, बालअधिकार समितिका संयोजक झलक बहादुर थिङ, गाउँपालिकाका वाल क्लब, बालसञ्जालका पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।