मकवानपुर/ स्वास्थ्य सेवाको व्यवस्थालाई प्रभावकारी बनाउन लागिपरेको बागमती प्रदेश सरकारले स्वास्थ्य शिक्षाको पनि गुणस्तरीयतामा पनि विशेष ध्यान दिंदै आएको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।
मुख्यमन्त्री पौडेलले मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानद्वारा छिट्टै नै हेटौंडामा चिकित्साशास्त्रको पढाइ सुरु गर्ने बताएका छन् । बुधबार प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । हेटौंडा–१, भिन्तुना पथस्थित मकवानपुर सहकारी अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘हेटौंडामा स्वास्थ्य शिक्षा उच्च तहको हुनेछ’ पौडेलले भने ।
जिल्लाको ठुलो रकम स्वास्थ्य उपचारको लागि बाहिर गएको भन्दै अब मकवानपुरमै उच्च स्तरको स्वास्थ्य सुविधा र त्यहि अनुसारको पढाई गर्ने उनले बताए । उद्घाटन कार्यक्रममा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा थप सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गर्दै अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गरेर गुणस्तरमा सुधार गर्ने बताए ।
दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको अध्यक्ष महर्जनले बताए ।