मकवानपुर/विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् ।
लामो समय कोरोना भाइरस (कोभिड)को कारण बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रमा उद्योगहरु पछिल्लो साताबाट प्राय सबैजसो पुनः सञ्चालनमा आएका छन् । लामो समय बन्द रहदा ठुलो घाटा व्यहोदै उद्योगिहरुले अब हिम्मत गरेका छन्’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने ।
उद्योग, प्रतिष्ठान र कार्यालय गरी १ सय २८ वटा निकाय रहेको हेटौंडा औद्योगिक क्षेत्रभित्र हाल १ सय १२ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । कोरोनाकालको कारण बन्द भएका नौ उद्योगहरु मध्ये अब ३ वटा उद्योगमात्रै बन्द रहेको उनले बताए ।
सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान तथा कार्यालयले वार्षिक करिब १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका थिए । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् ।
ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तः शुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक करिब १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक कँडेलले जानकारी दिए । कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट ९० करोड र निजी क्षेत्रबाट ५५० करोड रकम लगानी भएको देखिन्छ । ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४ सय जना कर्मचारी कार्यरत छन् ।
३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको हटौंडा औद्योगिक क्षेत्रमा उद्योग बन्द गर्ने र जग्गामात्रै ओगट्ने प्रवृत्तिलाई निरुत्साही गदै आएको व्यवस्थापक कँडेलले बताए ।
उक्त क्षेत्रफलमध्ये विकसित २ हजार ८ सय १ दशमलब ४८ रोपनी (भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनवेल्ट ४ सय २६ दशमलब ५२ रोपनी जङ्गल क्षेत्र पर्दछ । कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १ सय ७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल,विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५ सय ९७ रोपनी रहेको छ ।
औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् । औद्योगिक क्षेत्रभित्र विद्युत क्षमता १० एमभिए, पानी क्षमता एक हजार १५३ (प्रति दिन) र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर (प्रति दिन) रहेको छ । औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १ सय ३२ वटा, गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक संघ/संस्था पाँच रहेका छन् ।
औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योग ६, प्लाष्टिक सामग्री तर्फको उद्योग २८, विद्युत् तथा विद्युतीय सामान ३, खाद्यन्न तथा पेयपदार्थ १५, फर्निचार सामान÷काठ चिरान १०, इन्जिनीयरिङ १४, प्याकेजिङ सामान ४, केमिकल सामग्री रङरोगन १०, पाल्ट्री तथा दाना उद्योग २ , टेक्साटाइल्स उद्योग १, खानीजन्य उद्योग १०, अन्य उद्योग चुरोट, ईन्धन, डिपो, बोन प्रोसेसिङ, टायर रिसोलिङ, रेग्जिङ गरी १० हाल १ सय १२ उद्योग प्रतिष्ठान रहेका छन् । अन्य कार्यालय तथा संघ संस्था १३, जग्गा सम्झौता र निर्माणाधीन उद्योग २० रहेका छन् ।