मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका १ स्थित धोपीमा ठुलोबुवा नाता पर्ने ६२ वर्षका वृद्धबाट २२ वर्षीय अशक्त युवती बलात्कृत भइन् । युवतीलाई घरमा कोही नभएको बेला धम्की दिएर बलात्कार गरेको प्रहरीलाई दिइएको उजुरीमा उल्लेख छ ।
घटनाका दिन उनी एक्लै घरमा सुतिरहेकी थिइन् । उनलाई घाँटीमा समाई, खुकुरी देखाएर बलात्कार गरेको बताइएको छ । महिला वा पुरुष कोही पनि व्यक्तिमाथि हिंसा हुन नदिन सामाजिक अभियान्ताहरु लागि परिरहेका छन् । टोल तथा वडा वडामा स्थानीय सरकारको उपस्थिती छ, तर हिंसाका झनै डरलाग्दा घटनाहरु बाहिरी रहेका छन् ।
पीडितलाई न्यायको लागि स्थानीय सरकारले जिम्मेवारी बहन गर्नमा कम चासो दिएको कारण न्यायमा पहुँच नपुगेको अधिकारकर्मीहरुको गुनासो छ । प्रभावितहरू घटना बाहिर ल्याएर न्यायका लागि लड्नभन्दा इज्जतकाे ख्याल राख्दै घटना लुकाउनतर्फ लाग्ने गरेका छन् । स्थानीय सरकारले घटनापछि अभिभावकत्व ग्रहण नगर्दा पनि प्रभावितहरूले न्यायकाे लागि लड्न हिम्मत नगर्ने गरेकाे पाइएकाे छ ।
दर्तामा आएका घटनाहरु पनि न्यायको अन्तिम लडाईसम्म पुग्ने गरेका छैनन् । तीन वर्षीया बालिकालाई बलात्कारपछि विभत्स हत्या गरेको घटनामा समेत स्थानीय सरकार (गाउँपालिका) ले खासै चासो नदिएको बताउँछिन् अधिकारकर्मी आरती पाठक । अशक्त व्यक्तिमाथि भएको अपराधिक घटनाको कारण पनि कानुनको प्रभावकारी कार्यान्वयन नहुनु नै रहेको अधिकारकर्मीहरूको बुझाइ छ ।
प्रभावितलाई अदालत बाहिर रहंदा जत्तिकै मनोबल अदालत भित्र पनि टिकाइराख्नको लागि गहिरो परामर्शको आवश्यकता पर्ने जिल्ला बार एशोसियनका अध्यक्ष ऋषि के.बीको भनाइ छ । अदालत बाहिर घटना भएको बताउने प्रभावितहरु भित्र छिरेपछि बकपत्रमा बोल्न सक्दैनन्, उनीहरुको मनभित्रको डर, धक हटाउन उच्चस्तरीय मनोसामाजिक परामर्शको जरुरी छ’ उनले भने । पीडित प्रभावितहरुलाई न्यायभन्दा सामाजिक इज्जतको डर बढी भएकोले न्यायको लागि घटना बाहिर ल्याउन नचाहने गरेको अभियन्ताहरुको भनाई छ ।
‘दुइ तीन महिना थुनेर पीडक धरौटीमा छुट्छ, समाजमा फर्केर उसैको फुर्ति ठूलो हुन्छ, हामीमाथि लागेको धब्बा सधैं रहन्छ, किन न्यायको नाममा आफ्नो इज्जत पखाल्नु ?’ एक प्रभावितले भनिन् ‘एकातिर अहिले कानुन लागि लडाईमा धाउँदा धाउँदा दुख पाउनु, अर्कोतिर आफ्नै परिवारको बेइज्जत ।’
पछिल्लो समय मकवानपुरमा लैङ्गिक हिंसाका घटना बाहिरीने क्रम बढेको छ । लैङ्गिक हिंसा सहेर बसेरभन्दा घटनाको उजागर गर्दा न्याय पाइने भन्ने भरोसा बिस्तारै बढेको छ । यद्यपि सबै घटनाहरु अझै बाहिरीने गरेका छैनन् । लैङ्गिक हिंसा प्रभावितलाई परामर्श र उपचारमा समन्वय गर्दै आएको हेटौंडा अस्पतालमा स्थापित एकद्धार संकट व्यवस्थापन केन्द्रको तथ्याङ्क हेर्ने हो भने विगतको तुलनामा बढेको छ ।
न्यायमा पहुँच साह्रै कम
हिंसात्मक घटनाबाट प्रभावित भएपछि कानुनी उपचारको प्रक्रियामा जानेहरुको संङ्ख्या नगन्य अर्थात धेरै कम छ । सुरुमा घटना बाहिर ल्याउनै नचाहनेको संङ्ख्या अधिक रहेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाको भोगाई छ ।
‘सञ्जाललगायत विभिन्न गैससहरुको सहयतामा कानुनी उपचारको क्रममा दर्तासम्म भएका केसहरु पनि अन्तिम अवस्थासम्म न्यायको लागि डटी रहेने गरेको धेरै कम छ’ लामाले भनिन् ।महिला तथा पुरुषले भोगेको हिंसामध्ये ३ प्रतिशत मात्रै कानुनी प्रक्रियामा जाने गरेको अर्यालले जानकारी गराईन् । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्युन वर्गका महिलाहरु रहेको तथ्याङ्कमा उल्लेख छ । पीडितका मनोबल उठाउन केन्द्रका कर्मचारीले परामर्श पनि गर्ने गरेका छन् ।
बालिकाहरुको केसमा बाल न्यायको लागि अभिभावकलाई नै परामर्श गर्नु परेको सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावली बताउँछन् । ‘परिवारमा अरु पनि बालबच्चा छन्, यो माथि घटना भै हाल्यो, अरुको इज्जतको लागि पनि यो घटना बाहिर ल्याउन चाहन्नौ भन्ने अभिभावकहरु धेरै हुनुहुन्छ’ ज्ञावलीले भने ।
५ महिनामा १ सय १९ हिंसा
चालु आर्थिक २०७७/०७८ मा १ सय १० वटा हिंसाका घटनाहरु भएका छन् । जसमा महिला १ सय १ जना र पुरुष ९ जना रहेका छन् । हिंसा महिलामाथि मात्रै भएका छैनन्, पुरुषमाथिको हिंसाको उजुरीहरु खुल्ने क्रम सुरु भएको छ । बलात्कारका घटना श्रावणमा ६, भदौमा ३, असोजमा ९, कात्तिकमा ७ र मंसिरमा ८ गरि जम्मा ३३ जना रहेका छन् । यौनजन्य घटना श्रावणमा १, असोजमा १, कात्तिकमा २, मंसिरमा १ गरि जम्मा ५ जना रहेको एकद्धार केन्द्रले जनाइएको छ ।
शारिरिक हिंसा अन्नरगत श्रावण, असोज र कात्तिकमा ४/४, मंसिरमा १७ गरी जम्मा २९ वटा घटना भएका छन् । जबरजस्ती विवाह (बेचविखन) साउन र असोजमा ४/४ वटा, कात्तिकमा १, मंसिरमा २ गरि ११ जना, घरेलु सम्बन्धी घटनामा मंसिरमा मात्र ७ वटा घटना भएको तथ्याङ्क रहेको छ ।
यसैगरी मानसिक सम्बन्धी श्रावणमा १, मंसिरमा ५ गरि जम्मा ६ वटा रहेको छ । अन्यमा श्रावणमा ८, भदौमा २, असोजमा ९, कात्तिकमा ६ र मंसिरमा ४ गरि जम्मा २४ जना हिंसाको शिकार भएका छन् । जसमध्ये गाउँपालिकाहरुमा श्रावणमा ११, भदौमा ३, असोजमा १५, कात्तिकमा १३ र मंसिरमा १२ गरि जम्मा ५४ वटा घटनाहरु रहेका छन् । नगरपालिकामा साउनमा ११, भदौमा २, असोजमा ११, कात्तिकमा ६ र मंसिरमा २२ गरि जम्मा ५२ वटा घटना भएका छन् ।
एकद्धार संकट व्यवस्थापन केन्द्रका कर्मचारी अस्मिता आर्यालले बलात्कार, जबरजस्ती विवाह, पितृसत्तात्मक सोच , लैड्डिक विभेद, मनोवैज्ञानिक असर तथा आफन्तलगायतका कारण लैंड्डिक हिंसा हुदै आएको बताईन् । व्यवस्थापन केन्द्रमा ३ वर्ष देखि ९६ वर्ष उमेर समुहका महिला हिंसाको शिकार भएको तथ्याङ्क छ ।