मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको प्रस्ताव प्रदेश सभा भबन हेटौंडामा शुक्रबार दर्ता गरिएको हो । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल प्रस्तावक र सांसद अरुण नेपाल समर्थक रहि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

त्यस्तै बागमती प्रदेश सरकारका ३ मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।
प्रचण्ड माधव नेपाल समुहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताब गरेको छ । नेकपाको विभाजन पुर्व नेकपा बागमती प्रदेशकी इन्चार्ज समेत रहेकी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको लागि प्रस्ताब गर्दै आज बागमती प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश भएको सांसद जम्कट्टेलले बताए । पार्टीको सिनियर नेता अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको प्रक्रिया अघि बढाएका छौ उनले भने ।

बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
अविश्वासकाे प्रस्ताव र हस्ताक्षर गर्ने सांसदहरू

