मकवानपुर/ बालबालिकाहरुको व्यवसायिक यौन शोषणको घटनालाई कानुनी दायरामा ल्याउनको लागि कानुन पटक पटक संशोधन गरिए तापनि प्रभावकारी कार्यान्वय र व्यवहारीक पाटो भने दरिलो बन्न सकेको छैन ।
पीडित बालबालिकाहरुलाई अदालतमा प्रस्तुत गर्दा बाल मस्तिष्कमा उत्पन्न हुने डर, धक (लाज) जस्ता कारण मुद्दा दर्ता भएर कानुनी रुपमा अगाडि बढेपनि पीडितले वास्तविक न्याय पाउने गरेका छैनन् । बालबालिकाहरुमाथि गैरकानुनी कार्य भएपछि उनीहरुको सवाललाई कानुनको ढोकासम्म पु-याइञ्जेल अनेकन कठिनायिहरु भोग्नु परेको अधिकारकर्मीहरुको भोगाइ छ । पीडित बालबालिकाहरुलाई प्रभावकारी मनोसामाजिक पराशर्मकै आभावमा मुद्दा फिर्ता हुने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । परामर्श गर्दा बकपत्रको लागि तयार भएको पीडितले एकैछिनमा बोलि फेर्ने गरेको कारण न्याय दिलाउन आफूहरुको सहयोग नदेखिने गरेको उनले बताइन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञावलिका अनुसार अधिकांश अभिभावहरु आफ्ना बालबालिकाहरुको घटना बाहिर ल्याउन चाहँदैनन् । ‘बालबालिकाको घटनालाई अभिभावकले नै बेवास्ता गरेको पाइन्छ’ ज्ञावली भन्नुहुन्छ ‘केस आईसकेपछि पनि हैन भनेर टार्न खोज्नुहुन्छ अभिभावकहरु नै ।’ घटना भएपछि आइपर्ने अड्चनहरुलाई पन्छाउनको लागि घटना हुनसक्ने अवस्थाको आंकलन गरेर रोक्नतर्फ लाग्नु पर्ने र यसै अनुरुपमा सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने ज्ञावली बताउँछन् ।
पछिल्लो समय कानुनले हिंसा तथा शोषणको दायरा फराकिलो गराएको छ । नछोइकन परैबाट पनि बाल यौन शोषण हुने कुरालाई कानुनले समेटेको छ । तर, यसको प्रमाण नपुग्ने गरेको कारण पीडितहरुले न्याय पाउन सकेका छैनन् । बाल यौन शोषण नहोस् भनेर कानुन बन्यो तर कसरी रोक्ने भन्ने भएन । जिल्ला बार एशोसियसनका अध्यक्ष अधिवक्ता रिषी के.बी यस्ता घटनामा प्रमाणको कमीकै कारण पीडकले उन्मुक्ति नपाउने बताउँछन् । प्रयाप्त प्रमाण नपाएको आधारमा मुद्दा अगाडि नबढ्ने अवस्था अब नरहेको उनको तर्क छ ।
‘पीडितले मुद्दा दर्ता गर्नु नै एउटा प्रमाण हो, जाहेरी दिएपछि त्यसैलाई पहिलो प्रमाण मान्ने नजिर भएकोले पीडक उम्कन नपाउने गरि लागिपर्न उनले आग्रह गरे । पीडितलाई अदालतमा प्रस्तुत गर्नु अगाडि उच्चस्तरीय काउन्सिलिङ हुनुपर्ने उनले बताए । ‘अदालत बाहिर दरिलो गरी आफ्नो समस्या राख्न सक्नेलाई त्यही हिम्मतका साथ अदालत भित्र पनि बोल्न सक्ने गरी मनोसामाजिक परामर्श आवश्यक भएको उनी बताउँछन् ।

‘मुद्दा होस्टाईल हुनु परामर्शको कमि हो,यसरी बालबालिका झन् बढी पीडित हुदैछन, उनले भने ‘सचेतना अभिवृद्धिको पाटो कमजोर छ ।’ सरकारी वकिल कार्यालयका अधिवक्ता नेत्रप्रसाद आचार्य धेरैजसो घटना अदालतमा दर्ता कै रुपमा नआएको बताउँछन् । कसैप्रती डर नभएको मानसिकताको कारण समस्या भएको उनी बताउँछन् ।
बाल यौन शोषण तथा व्यवसायिक बाल यौन दुर्व्यवहारको घटना सहमतिमा समेत हुने गरेको कारण यसबाट बालबालिकालाई बचाउन अभिभावकस्तरमै चेतनाको खाँचो रहेको बताउँछिन् हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछाने । अभिभावहरुले आफ्ना बालबालिकाहरुको साथी संगति ख्याल नगर्ने, बोलीचाली तथा आदतबारे वास्ता नगर्ने गर्दा पनि मोवाइलको माध्यमबाट सहमति मै यौन दुर्व्यवहारका घटना बढीरहेको उनको भनाई छ ।
‘बालबालिकाहरुको समहति मै यस्ता गतिविधि भएको भएपनि कानुनले त त्यो मान्दैन, तर हामीले कन्ट्रोल गर्न सकेका छौनौ’ प्रमुख महिला विकास अधिकृत लामिछानेले भनिन् । स्थानीय निकायहरुले सहमति हुने दुव्र्यवहार विरुद्धको कार्यक्रम स्थानीय तहसम्म लैजादा पनि सामाजिकिकरणको प्रभाव देखिएको उनले बताइन् ।
‘अभिभावकले सामाजिकिकरण चासो नदिने गरेको कारण समस्या छ, अभिभावकले आफ्नो बालवालिकाले कहाँ जान्छन् ? के गर्छन् ? साथी संगत कस्तो छ ? उनीहरुको खास चासो के मा छ ? भन्ने बारे सचेत हुनु पर्ने उनले बताइन् । बालबालिका स्वसचेत हुने उमेरमा हुदैनन्, तर उनीहरुलाई नै परामर्श गर्न सकिएको छैन, यो सबैभन्दा ठुलो समस्या हो’ लामिछानेले भनिन् ।
माइती नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको बालबालिकाको व्यवसायिक योन शोषण विरुद्ध सरोकारवालासँग परामशै बैठकमा सहभागीहरुले पीडित बालबालिकालाई न्यायन दिलाउन समस्या भएको बताएका हुन् ।
नेपालको संविधान २०७२ को धारा ३९ मा मौलिक हक अन्तरगत बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ । यस अन्तरगत ‘कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन, कुनै पनि बालकालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक बनाई राख्न पाइने छैन, कुनै पनि बालकालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा साँस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित कार्यको लागि प्रयोग गर्न पाइने छैन’ भनिएको छ ।

तर नेपालमा बाल यौन शोषणको घटना अन्त्य हुन सकेको छैन । विभिन्न होटल,रेष्टुरेन्ट तथा बार, दोहोरी साँझ,खाजाघर, पर्यटन क्षेत्र, उद्योग, बसपार्क जस्ता क्षेत्रमा बाल यौन शोषण तथा व्यवसायिक बाल यौन शोषण हुनेक्रम घटेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा मात्रै व्यवसायिक बाल यौन शोषणका ४ वटा मुद्दाहरु दर्ता भएका छन् । इमेल इन्टरनेटको माध्यमबाट यस्ता घटनाहरु हुने क्रम विस्तारै बढ्दै आएको सरोकारवालाले बताएका छन् ।
यसको अन्त्यको लागि विभिन्न गैरसकारी संघसंस्थाहरु लागि परेको भएपनि प्रभावकारी कार्यान्वयन भएको देखिदैन । बालबालिकालाई यस्ता घटनाको शिकार हुनबाट बचाउँन अभिभाव स्वयम् र स्थानीय तहको सरकारले जिम्मेवारी बहन गर्नु जरुरी छ । बालमैत्री व्यवहार सुधारको निमित्त नियमित रुपमा परामर्श गर्ने र योजनावद्ध रुपमा दीर्घकालिन सोचका साथ कार्यक्रम गर्नु जरुरी रहेको अधिवक्ता ललिता श्रेष्ठले बताइन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा व्यवसायिक बाल यौन शोषण भनेर किटानीका साथ ४ वटा मुद्दा दर्ता भएको भएपनि अन्य शिर्षकमा समेत बालबालिका पीडित भएको केसहरु रहेको प्रहरी नायव निरीक्षक विमल गिरीले बताए ।
पछिल्लो समय माइती नेपाल मकवानपुरले बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध पनि विद्यालय स्तरमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । परामर्श बैठकमा हिमराइट्स मकवानपुरकाे प्रमुख कुमारी वाइवा, मकवानपुर महिला समूहकाे कार्यक्रम संयाेजक निशा लामा, एकद्वार शंकट व्यवस्थापन केन्द्रकी विन्दा बर्ताैला, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतकाे उपस्थिति रहेकाे थियाे ।