मकवानपुर/ मकवानपुरको शिक्षा क्षेत्रमा सुधारको माग गर्दै स्थानीय तहह!रुमा ज्ञापन पत्र बुझाइएको छ । शिक्षा क्षेत्रको विकास र सुधारका लागि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) मकवानपुर र नागरिक समाज मञ्च मकवानपुरले जिल्लाका ३ स्थानीय तहलाई २४ बुँदे माग ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा, स्वास्थ्यमा संविधान प्रदत्त नागरिकको अधिकार अनुसार स्थानीय सरकारलाई जवाफदेही बनाउन र प्रभावकारी सेवा प्रवाह गर्दै सार्वजनिक शिक्षा सुदृढीकरण, अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित तथा सुशासन प्रवर्ध्दन लागि, लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरणसहितको सामाजिक न्यायको तत्काल सम्बोधन आग्रह समेत गरेको छ ।
स्थानीय तहले कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने, शिक्षा अनिवार्य र निःशुल्क बनाउँदै माध्यमिक तहसम्मको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले लिनुपर्ने, स्थानीय तहको शिक्षा नीति र नियमावली समय सापेक्ष परिमार्जन गर्नुपर्ने, विद्यालयमा बाल क्लव गठनसँगै अनलाइन शिक्षाको लागि डिभाइसहरुको व्यवस्था गर्नुपर्ने, सीपमुलक, आयमुलक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने लगायतको माग राख्दै ज्ञापनपत्रमा बुझाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेर मीनाकुमारी लामा, राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमाँगाई लगायतलाई ज्ञापन पत्र बुझाइएको छ । हेटौंडा उपमहानगरकी उपमेयर लामाले शिक्षा क्षेत्र सुधारका लागि सवै पक्षले समन्वय गर्नुपर्ने बताउँदै स्थानीय सरकारलाई पहलप्रति आभार प्रकट गरिन् ।
राक्सीराङ्गका अध्यक्ष मल्लले विपन्न र दुर्गम क्षेत्र भएकाले राम्रा शिक्षकको अभावसँगै संघीय सरकारले शिक्षा क्षेत्र स्थानीय तहलाई हस्तान्तरण नगर्दा निक्कै समस्या रहेको बताए ।

मकवानपुरगढीका अध्यक्ष हुमाँगाईले शिक्षा क्षेत्र सुधार गर्न गाउँपालिकाले पहल गरिरहेको भन्दै शिक्षक संघसंगठनहरुले अधिकारसँगै कर्तव्यतिर ध्यान दिनुपर्नेमा जोड दिए । एनसीई नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडा, मकवानपुर संयोजक बुद्धवीर लामा, नागरिक समाज मञ्चका सदस्य साधुराम चौलागाई, डेक मकवानपुरका कार्यक्रम संयोजक मानबहादुर वाईबालगायतको टोलीले पालिका कार्यालयहरुमै पुगेर ज्ञापनपत्र बुझाएको थियो । जिल्लाको सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउने अभियान जारी रहेको एसीईले जनाएको छ ।