मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन् ।
मगलबार बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले नारायणकाजी श्रेष्ठ प्रकाशलाई हटाएर ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसै गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका छन् । उनले साेमबार थप गरेको भनिएका सदस्यहरुलाई मगलबारको बैठकमा बोलाएका थिए । उनले नेकपाकाे ४ सय ४७ जना मौजुदा सदस्यमा ५ सय ५६ जना थप गर्ने निर्णय गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट मकवानपुरका ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित भएका छन् । प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्तप्रसाद पौडेल, बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
आज मगलबार उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले जानकारी दिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।
यसै गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।
आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।