मकवानपुर /बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौ पुग्ने दुरी अझै छोटो हुने भएको छ । यो मार्ग बनेपछि हेटौंडाबाट काठमाडौ ६४ किलोमिटर मात्रै हुनेछ ।
हालको सबैभन्दा छोटो मार्ग कुलेखानी–फाखेलको ७८ किमिभन्दा पनि छोटो मार्ग अब बन्ने भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने सबैभन्दा छाटो मार्ग शुक्रबार शिलन्यास गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ देखि संघीय राजधानी काठमाडौंको सतुङ्गलसम्म जोड्ने सतुङ्गल–मातातिर्थ–देउराली–कुलेखानी सडक शुक्रबार शिलन्यास गरिएको हो ।
बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले शिलन्यास गरे । सडक खण्डको मकवानपुर तर्फमा १२ करोड ३९ लाखमा आह्वान गरेका ठेक्कामा कविन्द्र निर्माण सेवाले ७ करोड ३ लाख ६६ हजारमा सम्भौता गरेको हो । २०७७ असार १७ गते सम्झौता भएको उक्त योजना २०७९ असार १६ गतेसम्ममा सकाउनु पर्ने सम्झौतामा उल्लेख छ । सडक कम्तिमा ८ मिटर चौडाई हुनेछ । मकवानपुर तर्फको सडक पुर्वाधार विकास कार्यालय चितवनले हेर्नेछ भने काठमाडौं खण्डको सडक पुर्वाधार कार्यालय ललितपुरले हेर्नेछ ।
सडक पुर्वाधार विकास कार्यालय ललितपुरका कार्यालय प्रमुख दिपक कुमार दासका अनुसार यो सडक खण्ड बनेपछि संघीय राजधानी काठमाडौं देखि प्रदेश राजधानी हेटौंडासम्मको सबैभन्दा छोटो दुरी हुनेछ ।
सडक खण्डको मकवानपुर तर्फको शुक्रबार शिलन्यास गर्दै बागमती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँलले सरकार विकास र समृद्धिमा लागेको बताए । उनले नेकपाका नेताहरुले जनता सामु गरेका बाचाहरु पुरा हुँदै गएको भन्दै प्रदेश सरकार र संघीय सरकारले गरेको विकास हेर्न ग्रामिण क्षेत्रमा गए थाहा हुने बताएका हुन् ।

नेकपा सरकारले समाजवाद पुग्न हरदम प्रयास गरिरहेको भन्दै सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्यलाई पुरा गरेर छोड्ने बताए । यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले आफ्नो निर्वाचन क्षेत्रमा आफुले बोलेका कुराहरु पुरा हुँदै जाँदा खुसी लागेको बताईन् ।
सरकारले सानादेखि ठुला योजनाहरुमा समेत काम गर्दै आएको भएता पनि केहि ठेकेदार, डोजरवालाहरुले जनतालाइै किनबेच गर्न खोजेको बताईन् । चुनावमा गाउँमा गएर ठेकेदार नेताहरुले ट्रिपर, डोजरदेखि दूई चार लाख रुपैयाँको लोभ देखाएर भड्काउँदैमा जनता नभड्किने बताईन् ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जिवन लामाको अध्यक्षतामा भएको कार्यक्रमा संविधान सभा सदस्य सुभाष चन्द्र ठकुरी, गाउँपालिकी उपाध्यक्ष उमा लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।