मकवानपुर/६५ वर्ष उमेरका उनी फर्निचरका सामग्री बनाउन तल्लिन छन् । उनी अर्थात मकवानपुर गढी–३ का गुणनिधि दाहाल । उनले ४१ वर्षदेखि फर्निचर व्यवसाय गर्दै आएका हुन् । परम्परागत औजारको सहायताले फर्निचर निर्माण गर्दै आएका उनी अब आधुनिक हतियारको सहायताले सहज तरिकाले काम गर्न पाउँदा खुसि छन् ।
स्वरोजगार बन्नको लागि बीउँपूजि स्वरुप उनलाई राडो नेपालमार्फत २५ हजार बराबरको आधुनिक सामग्री सहयोता प्राप्त भएपछि ढल्कदो उमेरमा काममा सहजता महसुस गर्ने भएका हुन् । ‘बुहारी (तुलसा) पनि मेरो काममा सघाउँछिन, उनैको नाममा यि औजार सहयोग प्राप्त भएको हो’ उनले भने ।
स्वरोगार बन्नको लागि हौसला मिलेको छ गढी ३ कै युवा नवराज अर्याललाई । गाई फार्म सञ्चालन गर्दै आएका उनले भिरालो जग्गामा तरकारी खेति गर्ने मनासाय बनाए । तर पानीको समस्या देखियो । ३ सय मिटर तल खोल्साको पानी माथि तानेर जम्मा गर्दै भिरालो जग्गा रसिलो बनाएर तरकारी फलाउने उनको रहरलाई पनि राडो नेपालले सहजिकरण गरिदिएको छ ।
उनैको आवश्यकता अनुसार पाइप र पानी तान्ने मिसेन खरिदको लागि २५ हजार बराबरको सामग्री किन्न सहयोग गरेपछि उनी अहिले गाई पालनसँगै तरकारी खेतिमा लागि परेका छन् । उनले १६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका छन् ।
शुक्रबार जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवति पुडासैनी, गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, वडा ३ का वडा अध्यक्ष भागवत घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, राडो नेपालका कार्यवाहक अध्यक्ष रामजी सापकोटालगायतको टोलीले स्थानीयहरुको स्वरोजगारमुलक पेशा/व्यवसायको अनुगमन गरेको छ ।
राली इन्टरनेशनल नेपालको आर्थिक सहयोग मकवानपुरगढी गाउँपालिकाको समन्वय र राडो नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा आइ.सी.एस वाई सी.आर कार्यक्रम अन्तर्गत कोभिड -१९ प्रभावित मकवानपुरगढी गाउँपालिका भित्र ६० घर परिवारहरुलाई उद्यममा प्रेरित गर्ने उदेश्यले प्रति परिवार बढीमा २५ हजारका दरले उनीहरुले नै रोजेको उद्यमको लागि सहयोग गरिएको राडो नेपाल मकवानपुरका कार्यक्रम संयोजक विष्णु धितालले बताए ।

कोभिड –१९ बाट प्रभावित भएर आय आर्जनमा परेको नकारात्मक असरले गर्भवती तथा सुत्केरी महिलाहरुमा पोषिलो खाना खाने सन्देश सहित सोहि गाउँपालिकाको विकट वडाहरु १ र ८ मा रहेका सबै सुत्केरी तथा गर्भवतिहरुलाई पोषण किट वितरण गरिएको राडो नेपालका कार्यवाह अध्यक्ष रामजी सापकोटाले बताए । यि दुई वडाका १ सय ३० घर परिवारलाई पोषण किट वितरण गरिएको फिल्ड अफिसर रोशन खनालले बताए ।
यसैगरी सोहि गाउँपालिकाको ४ वटा विद्यालयहरुमा सरसफाईको लागि ह्याण्ड वासिङ्ग स्टेशन (हात धुने स्थान) वितरण गरिएको तथा मनहरि गाउँपालिकामा रहेको कोभिड अस्पतालको लागि करिव १ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको कार्यवाहक अध्यक्ष सापकोटाले बताए ।
गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा अन्तरगत विभिन्न कार्यक्रम गरेको र यस्ता कार्यक्रमले युवाहरुलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष हुमगाईले बताए । ‘स्थानीय सरकारको जिम्मेवारीको काममा गैससहरुले सहयोग गर्दा हामीले समन्वय गरेका हौ, हामी चाहन्छौ सबै युवाहरु आफ्नो ठाउँमा स्वरोजगार बनुन्’ वडा अध्यक्ष घिमिरेले भने ।
वडा वडामा कृषि प्राविधिक तथा जेटिएहरु खटाइएपछि पालिका भित्र स्वरोजगारको लागि फर्म दर्ता हुने क्रमपनि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बताए । चालु आर्थिक वर्षको साउन यतामात्रै १५० वटा फर्महरु दर्ता भइसकेको उनले बताए ।