मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिकाले डेढ दर्जन क्रसर तथा बालुवा उद्योगलाई जरीबाना तिराउने भएको छ । गाउँपालिकाले स्टक प्रमाणित भएको भन्दा बढी परिमाणको ग्रेबल थुपारिएको पाइएपछि जरीबाना तिराउने भएको छ ।
मनहरी गाउँपालिकाले गाउँपालिकाभित्रका डेढदर्जन क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुलाई जरिबाना गर्दै राजश्व असुली गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले बताए । गाउँ कार्यपालिकाको बुधवार भएको बैठकले जिल्ला समन्वय समिति मकवानपुरको निर्देशन बमोजिम राजश्व संकलन गर्ने निर्णय गरेको हो । प्रति घनमिटर ६७ रुपिया ५० पैसाको दरले राजश्व संकलन गरिने छ । सो रकम बराबरको जरिबाना तिर्न व्यवसायीहरु पनि सहमत भएको बताइएको छ ।
गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत देवराज चौलागाईंका अनुसार कुल १ लाख ८२ हजार घनमिटर ग्रेबल बापतको जरिबाना रकम उठाइने छ । जस अन्तरगत १ करोड २४ लाख ७ हजार ४ सय रुपियाँ जरीबाना उठ्ने छ । साथै उक्त परिमाणको प्रशोधनपछि निकासी हुँदा निकासी कर पनि थपिनेछ ।
गाउँपालिकामा लामो समयपछि बसेको बैठकले मनहरी अस्पतालको डिपिआर तयार गरी एकमहिनाभित्र ठेक्का प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसैगरी जग्गा नापी गरी लालपुर्जा बितरणका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगले पठाएको कार्यविधि अनुसार तत्कालै गाउँपालिका तह र वडातहमा आयोग गठन गरी प्रक्रिया अघि बढाउने र गाउँपालिकामा कर्मचारीको बन्दोबस्त भूमिसम्बन्धी डेस्क सञ्चालन गर्ने निर्णय भएको छ ।
गाउँपालिकाले अघिल्लो महिना मनहरी गाउँपालिका ६ नं वडामा उद्घाटन गरेको गाउँघर क्लिनिकमा तत्कालै जनशक्ति उपलब्ध गराएर नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय समेत गरिएको छ । बैठकले गाउँपालिकाको काम कारबाही तथा उपाध्यक्ष मनिला बिष्टका सम्बन्धमा बाहिर आएका समाचारहरुका बारेमा ध्यानाकर्षण जनाउँदै अप्रमाणित समाचारका कारण मनहरीबासीमा पर्न गएको भ्रमबाट मुक्त हुन सबैमा आग्रह समेत गरेको चौलागाईले जानकारी दिए ।