मकवानपुर/मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपािलकाले ‘शिक्षक स्वर्णिम अवकाश कार्यक्रम’ ल्याएको छ । ८ वर्षभन्दा कम सेवा अवधि बाँकी रहेका शिक्षकहरुलाई लक्ष्यित गरेर गाउँपालिकाले शिक्षक स्वर्णिम अवकाश कार्यक्रम ल्याएको हो । गाउँपालिकाको कार्यालयले सूचना जारी गदै इच्छुक शिक्षकहरुका लागी दरखास्त पेश गर्न आह्वान गरेको छ ।
युवा पुस्तालाई शिक्षक बनाए समयसापेक्षिक प्रविधिमैत्री शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।
कार्यक्रम अन्तर्गत गढी गाउँपालिकामा रहेका अवकाशका लागि ईच्छुक शिक्षकहरुलाई प्रोत्साहन स्वरुप निश्चित रकम सहित बिदाई गर्न २० लाख रुपैया बजेट छुट्याइएको छ । ८ वर्षभन्दा बढी सेवा अवधि बाँकी छन् शिक्षकलाई ५ लाख प्रोत्साहन रकम सहित विदा गरिनेछ । यसैगरी ५ वर्षदेखी ७ वर्षसम्म सेवा अवधि बाँकी भएको शिक्षकले ४ लाख,२ वर्षदेखि ४ वर्षसम्म सेवा अवधी बाँकी भएका शिक्षकलाई ३ लाख प्रोत्साहन रकम प्रदान गरिने छ ।
त्यसैगरी १ वर्षदेखि २ वर्षभन्दा कम सेवा अवधि बाँकी भएको शिक्षकले २ लाख प्रोत्साहन रकम पाउनेछन् । राहत शिक्षकले भने जुनसुकै उमेर समूहको भए पनि एकमुष्ठ ३ लाख रुपैयाँ प्रोत्साहन रकम पाउनेछन् । गाउँपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर घलानका अनुसार ईच्छुक शिक्षकहरुले २०७७ पौष ३० गते सम्म निवेदन दिनुपर्ने छ ।
निवेदनपछि अवकाश कार्यक्रम सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार मकवानपुरगढी गाउँ शिक्षा समितिमा निहित हुने उनले बताए । घलानका अनुसार हाल गाउँपालिकाभित्र ४० वटा विद्यालयहरु छन् । यि विद्यालयमा १ सय ४४ जना स्थायी शिक्षकहरु तथा अस्थायी, राहत शिक्षकहरुको संख्या १ सय १ जना रहेका छन् ।