मकवानपुर/सहकारीहरु एकीकरणको लागी प्रेरित गर्न गाउँपालिकाले बजेट व्यवस्थापन गरे पनि प्रयोगमा नआएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगाईंले बताएका छन् ।
एक वडामा एकमात्र बिषयगत सहकारी रहने गरी एकीकरण तर्फ प्रेरित गर्न गाउँपालिकाले व्यवस्था गरेको बजेट प्रयोगमा नआएको अध्यक्ष हुमगाईंले बताए । गाउँपालिकाको वडा ५ मा महिला कल्याण सहकारीको २२ साधारणसभामा अध्यक्ष हुमगाईले यस्तो बताएका हुन् । समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएका सहकारीहरुले आफ्नो वार्षिक साधारणसभा पुर्व नै सदस्यहरु बिच पुगेर सुझाव संकलन गर्नुपर्ने उनले बताए । ग्रामीण क्षेत्रमा स्थापित सहकारीहरुले कृषि, पशुपालनलगायत लघु उद्यममा विशेष ध्यान दिनुपर्ने हुमगाईंले बताए ।
कार्यक्रममा मकवानपुर गढी गाउँपालिका वडा ५ का अध्यक्ष जितबहादुर घिमिरेले सहकारीको समृद्धिको लागि स्थानीय सरकार सधैं सचेत रहेको बताए । जे प्रयोजनका लागि कर्जा लिईएको हो त्यही काममा प्रयोग भए नभएको सञ्चालक समितिले ध्यान दिनुपर्ने अध्यक्ष घिमिरेले बताए । सहकारीहरु समय सापेक्ष प्रबिधिमैत्री बन्नुपर्ने घिमिरेले बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लेखा समिति संयोजक सुलोचना स्याङ्तानले सहकारीको विकासको लागि सदस्य खोज्दाको दुःखद् अवस्था स्मरण गर्दै अबको प्रगतिको लागि सबै लाग्नुपर्ने बताए । महिला कल्याण सहकारी संस्थाको लेखा तथा सुपरीवेक्षण समिति संयोजक समेत रहेकी स्याङ्तानले केन्द्रिय सहकारीको निर्देशन अनुसार सहकारीले प्रगति गरेको र व्यवसायमुखी बनाउन पहल जारी राखेको बताइन् ।
संस्थालाई समृद्ध बनाउन गाउँको टोलटोल पुगेर ५६ जना सदस्यबाट सुरु गरेको सहकारीमा हाल १ हजार २ सय सदस्य पुग्नु खुसीको पक्ष भएको संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनीले बताइन् ।
कोभिडको कारण एक साता लगाएर साधरण सभा गरेको सहकारी संस्थाले कार्यविधी बनाएर सात वटा केन्द्र बनाएर साधारण सभा गरेको सहकारी अध्यक्ष देवकी चौलागाईंले बताइन् ।

संस्थाले क्षेत्रगत लगानीलाई अझै फैलाउन पर्ने, व्याजदरमा हेरेफेर गर्नुपर्ने, संस्थाको सुरक्षाको लागि सिसि क्यामराको व्यवस्थापन हुनुपर्ने, सहकारीले ऋण र बचतको मात्रै कारोवार गर्ने नभई समृद्धिको लागि पहल गर्नुपर्ने जस्ता सुझाव शेयर सदस्यबाट आएको र त्यसको लागि आगामी बर्षमा पहल गरिने लक्ष्य राखेको अध्यक्ष चौलागाईंले बताइन् ।
साधारणसभामा सहभागीलाई सहकारी संस्था उपाध्यक्ष पार्वती फुयालले स्वागत गरेकी थिइन् ।
साधारणसभामा सहकारीको पुर्व अध्यक्ष निर्मला न्यौपाने, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो सहकारी सचिव सरिता ढुङ्गानाले बताइन् ।
सहकारीले आगामी वर्ष १ हजार २ सय २२ जना सदस्यबाट १ हजार ४ सय ६७ जना पु-याउने कार्य योजना बनाइएको सचिव ढुङ्गानाले बताइन् ।