चितवन । हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले शनिबार चितवनमा प्रदर्शन गरेका छन्। हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै हजारौं समर्थकहरूले र्यालीमा सहभागिता जनाएका हुन्।
भरतपुरस्थित बसपार्कबाट सुरू भएको र्याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुनः बसपार्क पुगेर टुंगिएको थियो। सहभागीहरुले सरकार, भ्रष्टाचार, गणतन्त्र, धर्मनिरपेक्षता र संघीता विरोधी नारा लगाएका थिए।
यस्ताै राजसंस्थाको पक्षमा शनिबार काठमाडौं उपत्यकामा समेत प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।