मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिकाले संभवत पहिलो पटक मनोविमर्श कार्यक्रम गरेको छ । लामो समय कोरोनाको कारण अस्तव्यस्त भएको दैनिकीले मानसिक समस्या आइपर्नसक्ने भन्दै गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मनोविमर्श कार्यक्रम गरेको हो । गाउँपालिकाका सिमान्तकृत समुदाय (राई, माझी) स्थानीय सहकारीका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि तथा पालिकाका कर्मचारीहरुलाई लक्ष्यित गरेर मनोविमर्श कार्यक्रम गरेको हो ।
कोभिड–१९ का कारण महिला तथा बालबालिकामा परेको मनोसामाजिक असर न्युनिकरण गर्ने उद्देश्यले १ दिने कार्यशाला आयोजना गरेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । जात, वर्ग, लिङ्ग कुनैपनि आधारमा कसैले पनि कसैमाथि हिंसा गर्न नहुने बताउँदै गाउँपालिका अध्यक्ष खनालले मनोविशर्म कार्यक्रममा सहभागीहरुको सहयोगमा आगामी दिनमा हिंसामुक्त गाउँपालिका निर्माण अभियानमा सहयोग पुग्ने आशा व्यक्त गरे ।
‘नबोलेरै पनि हिंसा हुन्छ,मानसिकतामा परेको चोटले शारिरको चोटभन्दा बढी पीडा दिन्छ,व्यक्तिलाई आत्महत्यसम्म पु-याउँछ’ नेपालको पहिलो दुर मनोविमर्शकर्ता प्रतिमा शर्माले भनिन् । कोरोनाको कहरपछि महिलाभन्दा पुरुषहरु बढी प्रभावित भएको उनले बताइन् । समाजले पुरुषलाई घरपरिवार चलाउने जिम्मेवारी दिएको कारण परिवारिक जिम्मेवारी सहर्ज चलाउन समस्या भएपछि पुरुषहरुले आत्महत्या बढी गरेको विमर्शकर्ता शर्माले बताइन् ।
“‘घर चलाउने जिम्मेवारी महिला–पुरुष दुबैलाई समाजले दिएको भए, अफ्ठ्यारो परिस्थितीमा पुरुषले ज्यान फाल्ने थिएनन्” उनले भनिन् “यो पनि समाजले पुरुषमाथि गर्दै आएको हिंसा कै रुप हो ।” कोभिडपछि मानसिक हिंसाको रुप भयावह हुँदै आएको उनले बताइन् । “कोभिडका कारण दैनिक २० जनाको मृत्यु हुँदा ठुलो रुपमा लिइयो तर कोडिको कारण मानसिक तनाव लिएर दैनिक २२ जनासम्मले आत्महत्या गरेको कुरा खासै चासोको रुपमा लिइएन” उनले भनिन् ।
मनोविशर्मको क्रममा महिलाभन्दा बढी पुरुषहरु हिंसाको शिकार भएको आफूले पाएको उनले बताइन् । समाजले पुरुषलाई पीरचिन्तामा मन खोलेर रुन समेत नदिएको,मनको कुरा आपसमा शेयर गर्न पनि नदिएको कारण मनमा कुण्ठा हुँदाहुँदा पुरुषहरुको हार्ट आट्याक्टको कारण ज्यान जाने गरेको उनले बताइन् । परम्परागत भनाईलाई आधार मानेर छोरा/ पुरुषलाई बन्देज गरिएका संस्कार तथा पुरूषालाइ मात्रै दिइएकाे जिम्मेवारीले पुरुषमाथि हिंसा भएको उनले बताइन् ।
कोरोना महामारीका कारण पुरुषसँगै महिला तथा बालबालिकामा तनाव, एक्लोपन महशुस, डर, त्रास चिन्ता, डिप्रेशन र रक्सी तथा लागूऔषधको प्रयोग बढेकोले मनोसामाजिक असर परेको परेको उनले बताइन् । कार्यशाला गोष्ठिमा सहजिकरण गर्दै विमर्शकर्ता शर्माले कोभिडले पारेको मनोसामाजिक असर न्युनिकरणका लागि नियमित योग अभ्यास, ब्यायाम वा थेरापीलाइ पनि नित्यकर्म कै रुपमा लिन सुझाव दिएकी छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले महिला–पुरुष, बालबालिका वा जो कोहिलाई पनि हिंसा हुन नुहने र हिंसाको कारण भविष्यमा हुने ठुलाक्षतिलाई कम गर्न पहल स्वरुप मनोविमर्श कार्यक्रम गरिएको बताइन् । कामको चापको कारण दैनिक जीवनलाई व्यवस्थित गर्नतर्फ समय दिन नसक्दा पनि मानसिक रुपमा विक्षिप्त हुने अवस्था आउने भन्दै उपाध्यक्ष बोलखेले हिंसात्मक व्यवहार कोही कसैबाट गर्न नहुने बताइन् ।
सिबिन बाल हेल्पलाइन, शान्ति फाउण्डेशनलगायतका संस्थाहरुको समन्वय र सहकार्यमा गाउँपालिकाले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका करिब १ सय भन्दा बढी महिला तथा बालबालिकाको सहभागिता थियो । कार्यक्रममा गाउँकार्यपालिका सदस्य लक्ष्मी माया माझि, निर्मला राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, महिला विकास शाखा प्रमुख कविता भट्टलगायतकाको उपस्थिति रहेको थियो ।