मकवानपुर /मकवानपुरको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय तिव्रतर रुपमा गुणस्तर वृद्धि गरिदै आएको छ । बागमती प्रदेशको राजधानी मकवानपुर हेटौंडाको सबैभन्दा पुरानो र एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सोमबारबाट थप स्वास्थ्य सेवा दिन सुरु गरिएको छ ।
अस्पतालमा तयार गरिएको सघन उपचार कक्ष आइसीयु तथा उच्च उपचार कक्ष एचडीयुको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । अब यस अस्पतालमा आइसीयु कक्षमा एकैसाथ ७ जनाले र एचडीयु कक्षमा एकैसाथ १० जनाले सेवा लिन सक्ने छन् । यसैगरी अस्पतालमा भेण्टिलेटरको समेत समस्या हुदै आएकोमा सोमबारबाट ४ वटा भेन्टीलेटर पनि सञ्चालनमा ल्याइएको छ ।
आइसीयु अभाबका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर गर्नुपर्दा बिरामीका आफन्तलाई उपचारमा भार थपिने गरेको थियो । दुबै कक्षको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्ष अघि आइसियु कक्ष सञ्चालन गर्ने सपना बल्ल पुरा भएको बताए ।
मुख्यमन्त्री पौडेलले आइसीयु कक्ष एचडीयु कक्ष सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा फड्को मार्नेकुरा आफू निश्चिन्त भएको बताए । “हिजोको दिनमा नागरिकले सरकारी अस्पतालमा सेवा नपाएर र निजी अस्पताको महङ्गो उपचारमा पहुँच नपुगेपछि अकालमा मृत्यु वरण गर्नुपरेको तितो सत्य अब हामीमाझ हुने छैन” मुख्यमन्त्री पौडेलले भने “आजबाट सुरु गरिएको सेवामा पनि समयको मागसँगै अपग्रेट गरिनु पर्छ यसतर्फ पनि प्रदेश सरकार सचेत छ ।”
विगतमा सामान्य बिरामी रिफर गरिनुपरेको कारण अस्पतालको चौतर्फी आलोचना हुने गरेको मुख्यमन्त्री पौडेलले स्मरण गरे । हेटौँडा अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन तर्फ आफूहरु लागिपरेको मुख्यमन्त्री पौडेलले बताए ।
एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहात सम्झदै मुख्यमन्त्री पौडेलले अब हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताए । रिफर गर्ने र बदनामको रुपमा रहेको अस्पताल विभिन्न सेवा प्रदान पश्चात देशकै चर्चित अस्पतालको रुपमा चिनाउने उनले बताए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आइसियु सञ्चालन पश्चात अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताए । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएका हरुको लागि आइसीयु कोष स्थापना गरि सेवा दिने बताए ।
प्रतिदिन प्रतिवेड एचडीयुको १५ सय लाग्ने, भेन्टीलेटर सहितको आइसियु ४ हजार र विना भेन्टिरलेटरको आइसीयु २ हजार प्रतिदिन लाग्ने अस्पतालले जनाएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, ओम बहादुर ग्लान, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टरविश्वराज जोशीलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।
