मकवानपुर । युनाईटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आइतबार बाँडफाँड भएको छ। ३ दिन अघि प्रि अलटमेन्ट गरेकाे क्यापिटलले शेयर बाँडफाँड गरिसक्नुपर्नेछ भएकाेले आइतबार आइपीओ बाँडफाँड गरेकाे हाे ।
आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गाेलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएकाे छ।
बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ। आइपीओ आवेदन दिने ८६१ जनाको आवेदन रद्द भएकाे छ। आईपिओमा ५ लाख ४० हजार ४०२ याेग्य आवेदकले ९४ लाख ८३ हजार ८४० कित्ता शेयर खरिदकाे लागि आवेदन दिएका थिए। यो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११.६९ गुणा धेरै हो।
कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरेको हो।
माउन्टेन इनर्जीकाे आइपीओ बुधबार बाँडफाँड हुने
यस्तै माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ मंशिर १७ गते बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले मंशिर १४ गते आइतबार प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने जनाएको छ।
माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो।
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन्। यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।