१
अर्काको भरोसामा पर्नेलाई छुट छ
नजिक हुँदा टाढा सर्नेलाई छुट छ
सत्य सत्य नै हुन्छ सक्नुपर्छ कुर्न
झुटको खेती दिनहुँ गर्नेलाई छुट छ
२
आफ्नोलाई पराइ भनेर त सिद्दियौ
व्वाँसाको पाइला गनेर त सिद्दियौ
उचाल्नेले पछार्छ भन्ने बुझ्नु पर्ने हो
उसैको आज्ञाकारी बनेर त सिद्दियौ
३
विषयलाई पटकपटक गुन्ने गर्नु है
कुविचारलाई मनभित्रै थुन्ने गर्नु है
आफ्नो कुरा लागू गराउनु छ भने
अरुको कुरालाई पनि सुन्ने गर्नु है
४
इर्ष्या त्यस्तो रोग हो गलाउँछ आफैलाई
अनियन्त्रित बनाएर चलाउँछ आफैंलाई
बेलैमा सुझबुझ हुन सकेन भने जिन्दगीमा
ढाल्न खोज्दा अरुलाई ढलाउँछ आफैलाई
५
आजकलको माया प्रेम खोटो हुँदोरहेछ
पैसा रहुन्जेल मात्र नाता मोटो हुँदोरहेछ
स्वार्थ र वासना मिसिएर होला नि है ?
सर सङ्गतको अवधि छोटो हुँदोरहेछ
६
सँगै हिँडाउदा नि भएन छोड्दा पनि भएन
जनम जनमको सम्बन्ध तोड्दा पनि भएन
खेदिरह्यौ आखिर के ? देख्यौ र कमजोरी
बारम्बार दुई हात मैले जोड्दा पनि भएन
७
कहिलेकाही तिमीले पातैभरि लेख्थ्यौ
फेरि कहिले कापीमा रातैभरि लेख्थ्यौ
सायद मेरो माया धेरै लागेर हुनुपर्छ
नाम अनि के के हो हातैभरि लेख्थ्यौ
८
मायामा मायाको रङ भर्न मन पराउँछु
आफ्नाहरूको नजिक पर्न मन पराउँछु
तिरस्कार कसैले नगर्नु दुईदिने चोलामा
म त अक्षरको खेती गर्न मन पराउँछ
९
बोली मुटु छेड्ने भालो रहेछ
सहिरहनु पर्ने मेरो पालो रहेछ
बाहिर देखेर मात्र नहुने भयो
गोरो मान्छेको मन कालो रहेछ
१०
मायाले तिमीलाई घेर्न चाहन्थेँ म
अङ्गालोमा सदा बेर्न चाहन्थेँ म
अवसर दिएनौ भयौ तिमी बेग्लै
फूलको नजरले हेर्न चाहन्थेँ म
११
कहिल्यै चाहन्नँ कसैलाई फसाउन पाए हुन्थ्यो
बरु चाहना हुन्छ हृदयमा बसाउन पाए हुन्थ्यो
जिन्दगीमा अक्सर यस्तै यस्तै कुरा खेल्छन्
आफू हाँसेर अरुहरूलाई हसाउन पाए हुन्थ्यो
१२
नाटक देखाइ रुनेसँग केही लाग्दैन
कहालिदै शिर छुनेसँग केही लाग्दैन
सुधार्न जति प्रयासहरू गरेता पनि
नियत खराब हुनेसँग केही लाग्दैन
१३
मन बरालेर अन्त तिमी जानु हुन्न है
खराब बाटोमा आफूलाई लानु हुन्न है
मन र मुटु दुवै दिन्छु भन्दाभन्दै तिमीले
कुनै हालतमा हरेस खानु हुन्न है
१४
तिम्रै यादमा प्रत्येक पल तड्पिने त मै हुँ नि
क्षितिज भन्दा पारिबाट कल्पिने त मै हुँ नि
छटपाउँदै रात बित्यो भुलभुलेको यादमा
तिमीले कहिल्यै सम्झिनौ सम्झिने त मै हुँ नि
चितवन