मकवानपुर / लामो समय स्थानीय जनप्रतिनिधि विहिन रहेको अवस्थामा ग्रामिण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति निर्माणलगायतको लागि बित्यो । अब विस्तारै ग्रामिण तथा शहरी क्षेत्रमा स्थानीय सरकारको भौतिक उपस्थिति देखिन थालेका छन् ।
स्थानीय नागरिकहरुले आफूहरुको आवश्यकताको रुपमा पहिचान गरेका विकास निर्माणको गतिविधि मार्फत स्थानीय सरकारले आफ्नो भौतिक उपस्थिति देखाउन थालेको हो । स्थानीय वासिन्दाको माग अनुसार धेरै जसो क्षेत्रमा सडकको विस्तार भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । यसैगरी विजुलीबत्ती विस्तार, विद्यालयहरु भवनहरु निर्माण तथा मर्मत, पाटीपौवा देवालयहरु निर्माण, सडक बत्तीको व्यवस्थाहरुमा स्थानीय सरकारमा माग बढी आउने गरेको छ ।
संसद विकास कोषको बजेट पनि अधिकांश सडक विस्तारमा नै खर्च हुने गरेको छ । केही महिना अगाडि मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–८ पुगेको प्रतिनिधि सभा सदस्य विरोध खतिवडासँग स्थानीयहरुले पक्कि सकडसँगै सडकको माग गरेका थिए । सांसद खतिवडाले हालैमात्र उक्त क्षेत्रमा सडक निर्माणको लागि शिलान्यास गरेका छन् ।
गाउँगाउँ सम्म सडक पु¥याउने लक्ष्य सहित काम गरिरहेका भिमफेदी गाउँपालिकाको ७ र ८ हुदै कान्तिलोकपथ जोड्ने सडकको शिलान्यास गरिएको छ । गाउँपालिकाको कोगटे र धार्के हुदै कान्तिलोकपथ जोड्ने सडकको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले शिलान्यास गरेका हुन् ।
गाउँको उत्पादन शहरसम्म पु¥याउने र शहरसँग सहज पहुँचका लागि पालिकाले आन्तरिक स्रोत परिचालन गरी निर्माण गर्न लागेको सडकबाट स्थानीयलाई ठुलो राहत मिल्ने बताइएको छ । महाभिरसम्म पुगेको सडकलाई थप विस्तार गर्ने गाउँपालिकाले भ्याट सहित ७५ लाख ९८ हजार २ सय ९७ रुपियाँको लागतमा सडक निर्माण थालेको हो ।
ठेक्का मार्फत निर्माण थालिएको सडकको काम हेटौंडाको शास्वत कन्ट्रक्सनले गर्ने छ । शिलान्यास गर्दै सांसद खतिवडाले सडकले गाउँलेको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सडकसँगै यहाँको उत्पादन बजारसम्म जाने र गाउँमा आर्थिक उपार्जनमा जनताको सहभागिता बढ्ने उनको भनाई थियो । उमेरले ७७ बर्ष पुगेका भिमफेदी गाउँपालिका—८ महभिरका देवानसिं गोले आफ्नो घरै छेउमा आइपुका सांसद खतिवडासँग खुसि हुँदै भने ‘यो जुनिमा घरछेउको सडकमा गाडी गुडेको देख्न पाइन्न कि भन्ने थ्यो,देख्न पाएँ, आज धेरै खुसि छु ।’
उनले सडक अभाबका कारण गाउँबाट बजार धाउनु परेको विगत स्मरण गरे । सडक सञ्जालले गाउँलाई छोएकोमा उनले खतिवडालाई मुस्कुराउँदै धन्यवाद भने । सडकसञ्जालले नजोडिएका कारण गाउँका कति मानिस मोटरै नदेखि बिते, कति समयमा उपचार नपाएर ज्यान गुमाए अब सडकसँगै गाउँमा खुसी आएको उनले बताए । ढल्कदो उमेरमा गाउँसम्म सडक आयो, अब गाडिसँगै अन्य सुबिधा गाउँसम्म आउछ भन्दै उनले खुसी व्यक्त गरे ।
जिल्ला सदरमुकाम त टाढाको कुरा गाउँपालिका भिमफेदीसम्म पुग्नका लागि एकदिनको यात्रा गर्नुपर्ने बाध्यताबाट गाउँले मुक्त भएका छन् । भिमफेदी गाउँपालिकाले २ बर्ष लगाएर डेढ करोडको लागतमा गाउँसम्म बाटो पु¥याएपछि महभिर, बाह्रघरे सहित गाउँका ३ सय घरका वासिन्दा लाभाम्बित भएका छन् । शहरसम्म पहँुच नभएका स्थानीयले गाडिको समेत नदेखि बिते अब गाउँबाटै गाडि चढेर बजारसम्म आउने अवस्था बनेको छ ।
भिमफेदी—कोगटे—देउराली—सिस्नेरी सडक खण्डको भिमफेदी—७ मेलटारबाट गाउँपालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएपछि गाउँलेको गाडि देख्ने र सवारी चढेर हिड्ने सपना साकार भएको हो । हामीले अहिले बाटो गाउँसम्म आउने कल्पना समेत गरेका थिएनौं ६६ बर्षिय दिलबहादुर घलानले भने ‘गाउँसम्म जाने सडक खण्डमा पर्ने चक्कुभीर चिरेरै बाटो गाउँसम्म बाटो आउँने कुरा सोचेका पनि थिएनौ ।’
हिड्नपनि मुस्किल हुने भिर काटेर गाउँपालिकाले बाटो निर्माण गरेपछि गाउँमा सवारीसँगै गाउँको उत्पादन शहरसम्म ल्याउने अवस्था बनेको छ । बोकेर स्वास्थ्य संस्थासम्म लैजान नसक्दा धेरै बिरामीले उपचारको अभाबमा ज्यान गुमाएको वडा सदस्य सिता थिङले बताइन् । ‘अब उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाबाट मुक्ती पाएका छौ’ उनले भनिन् । गाउँसँग सडकसञ्जाल जोडिएपछि स्थानीयले आफ्नो बारीमा उत्पादन भएको केराउ, सिमी बिक्री गरेर आर्य आर्जन गरेको उनले बताइन् ।
जनताले सेवा लिनका लागि गाउँपालिकासम्म आउने वाताबरण तयार गर्नका लागि सबै वडाकार्यालयसम्म सडक पु¥याउने गरी काम भैरहेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
‘सडक नभएका कारण सेवा लिनबाट जनतालाई बञ्चित गराउन हुदैन भन्ने लक्ष्यका साथ हामीले काम गरीरहेका छौं’ उनले भने । सडक सञ्जालले गाउँलाई समेटने अभियानमा गाउँपालिका रहेको भन्दै अब चाडै ट्रयाक खोल्ने काम सकेर स्तरीकरणको काम गर्ने योजना गाउँपालिकाले बनाएको उनले जानकारी दिए ।