मकवानपुर । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित भएको छ। कोरोनाको जोखिम देखाउदै बुधबारको मन्त्रिपरिषद् बैठकले आउँदो मङ्सिर २७ गते हुने भनिएको निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो।
निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा कोभिडका कारण देखाउँदै अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन दोस्रोपटक स्थगन भएको एक मन्त्रीले बताए । त्यसअघि ट्रेड युनियनको निर्वाचन सरकारले गत असोज २४ गते तय गरेको भएपनि कोभिड सङ्क्रमणको जोखिमका कारण देखाउँदै मङ्सिर २७ गतेलाई सारिएको थियो।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर २७ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको सबै तयारी पूरा गरेको थियो । निर्वाचनको लागि चाहिने खर्च तत्काल उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको कार्यालयले २७ गते हुने तय भएको निर्वाचनको लागि देशभरबाट प्राप्त मतदाता नामावली आफ्नो वेबसाईटमा अपलोड गर्ने कार्य सम्पन्न गरिसकेको थियो ।
कार्यालयले विभागस्तरीय ३० र जिल्लास्तरीय ७७ गरी सबै एक सय सात वटै निर्वाचन कार्यालयहरूबाट गरी ४५ हजार ६ सय १३ जना कर्मचारीको मतदाता नामावली कार्यालयको वेवसाइडमा अपलोड गरेको हो । उक्त मतदाता नामावलीमा दाबी विरोध प्रयोजनकै लागि सबै निर्वाचन अधिकृतहरूले आ–आफ्नो विभाग स्तरीय र जिल्ला स्तरीय निर्वाचन कार्यालयमा निर्वाचन कार्यक्रम अनुसार १० गते मतदाता नामावली प्रकाशन गरिएको थियो ।
यस्तै नेपाल मधेसी निजामती कर्मचारी मञ्चले मङ्सिर २७ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
थ्रेसहोल्ड, स्वास्थ्य र स्थानीय तहका नव कर्मचारीलाई चुनावी प्रक्रियामा सहभागी नगराएकोले तत्काल चुनाव रोक्नु पर्ने मागसहित मञ्चले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइ दायर गरेको हाे ।
यसै गरि सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवत्रय गोकर्ण दवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।
प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा गरेकोमा पहिलो नम्बरका दुवाडी बढुवा भएका छन् भने कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा क्रमशः कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यलाई बढुवा गरेको गरिएको हो ।