मकवानपुर / हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना लामाले महिलाको सवालमा गैससहरुले गरेको काम प्रभावकारी भएको बताएकी छन् । स्थानीय निकायहरुका उपप्रमुखहरुको लागि अझैसम्म बलियो पहुँच पुर्याउन संघर्ष आवश्यक रहेको उनले बताइन् ।
नारी सिप सिर्जना केन्द्र हेटौंडाले आयोजना गरेको छलफल कार्यक्रममा उपप्रमुख लामाले यस्तो बताएकी हुन् । “भोलिको दिनमा महिलालाई स्थानीय निकायको प्रमुख बनाउनको लागि सिकाई र शिक्षण अझै जरुरी छ” लामाले भनिन् । नेपालमा महिला नेतृत्वको परिवर्तनकारी नेतृत्व कार्यक्रम बारे छलफल कार्यक्रममा उनले यस्तो बताइएकी हुन् । नारी सीप सिर्जना केन्द्रको आयोजना तथा अस्फाम नेपालको साझेदारीमा महिलाको नेतृत्व विकासको लागि आगामी दिनमा के कस्ता कार्यक्रम गर्ने भन्ने बारेमा छलफल गरिएको थियो ।
जनप्रतिनिधिहरुको अनुभव, चुनौती, आदन प्रदान गर्ने भाषण कलाको विकास गर्ने, राजनीतिमा महिलाको नेतृत्व बढाउनको लागि तालिम प्रदान गर्ने, जनप्रतिनिधि महिलाको लागि साथी सहयोग कार्यक्रम सिकाई केन्द्रको स्थापना तथा हस्तान्तरण कार्यक्रम रहेको नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले बताए । निर्वाचित जनप्रतिनिधि महिलाको सन्जालिकरण, क्षमता विकास कार्यक्रम, लैङ्गिक मापदण्डको आधारमा महिला अधिकार र नेतृत्वको बिषयमा नेतृको परिवारको पुरूष सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने तयारी रहेको नारी सिक सिर्जना केन्द्र अध्यक्ष सरस्वती बर्तौलाले बताईन ।
कार्यक्रम मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले मनहरी गाउँपालिका बालमैत्री स्थानीय तह भएकोले टोल टोलमा महिला बालबालिका लक्ष्यित कार्यक्रम रहेको बताइन् । जनप्रतिनिधि महिलाको क्षमता विकासको लागि पालिकाभित्र कार्यक्रम माग गरिएको छ,तर लागू गराउन भने समस्या भएको उनले बताइन् ।
पालिकाले नै न्याय सम्पादनको अनुभव आदन प्रदान गर्न जरुरी रहेको उपाध्यक्ष विष्टले बताइन् ।
“हामी आफैं न्यायिक समिति संयोजक, हामी नै न्यायको खोजीमा कहाँ जाने भन्ने अवस्था छ” उनले भनिन् “महिला बालबालिकाको समस्या चरम बन्दै आएको छ ।” पालिका स्तरको कार्यक्रम व्यवहारिक बन्न नसकेको उनले बताइन् । समस्याको निकास दिन जनप्रतिनिधिको सन्जालिकरण गर्नु जरुरी रहेकोले यो कार्यको तयारी भएको नारी सिप सिर्जना केन्द्रकी अध्यक्ष बर्तौलाले बताइन् ।
परियोजनाको फोकल पर्सन कल्पना बिश्वकर्माले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिकाका उप मेयर खड्ग गोपाली, इन्द्र सरोवर गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामा, राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुरगढी गाउँपालिका वडा ३ का अध्यक्ष भागवत घिमिरे, भिमफेदी गाउँपालिका वडा ६ का अध्यक्ष सिताराम थापालगायतको उपस्थिति रहेको थियो ।

