मकवानपुर / सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व बुधबारबाट सुरु भएकाे छ । विशेषतः तराई समुदायको पर्वको रुपमा बुझ्दै आएतापनि पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि उत्तिकै उपस्थिती देख्ने गरिन्छ यो पर्वमा । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई ।
यद्यपि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को प्रभावको कारण सागरमा भव्य व्यवस्थापनका साथ मनाइने छठ पूजा पनि प्रभावित भएको छ । मकवानपुर जिल्ला प्रशासनले सागरमा भिडभाड गरेर पूजामा सहभागी नहुनको लागि आग्रह गरेपछि पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको छैन । प्रतिघरबाट एक जना व्रतालु र एक जना सहयोगी मात्रै आफ्नै व्यवस्थापनमा सागर जान पाउने गरी आन्तरीक तयारी गरिएको बुझिएको छ । पूजाकाे लागि पानी थुन्ने, सागर सृगार गर्नेलयागतकाे कुनै पनि काम समितिले गरेकाे छैन । सागरमा व्रतालुहरूकाे उपस्थिति समेत देखिन्न ।
सागरमा नपुगि छठ पूजाको अर्थ नै नहुने भन्दै, भिडभाड नगरिकन, छुट्टाछुट्टै बसेर पूजा गर्ने, रातभर सागरमा पनि नबस्ने तयारी गरेको नेपाली काँग्रेस नेतृ तथा छठपूजाको व्रतालु इन्दीरा न्यौपानेले बताइन् । “छठ पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको छैन, हामी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अलक्कै बसेर पूजा विधि गर्नेछौ” न्यौपानेले भनिन् । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भई कार्तिक शुक्ल सप्तमीको विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन् । यसले एक–आपसमा नजिकिने मौका दिन्छ । चतुर्थीको विधिमा अरबा (अरबाइन) गरिन्छ, जसलाई नहाय अर्थात खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा विधिको समापन गर्ने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको जोरजाम एक महिना अघीदेखि नै गरिन्छ । छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान –पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ र अपरान्न अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला,केरा, नाङ्गलो,कोनिया,सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुगी सुर्य अस्ताउन्जेलसम्म पुजा आराधना गरी फर्कने गरिन्छ ।
यसैगरी छठ पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन रहेको छ । छठ पर्वलाई पारिवारिक जमघटको पर्वको रुपमा पनि हेरिन्छ । परिवारबाट टाढा बसेका हरू छठ पर्व मनाउन घर फर्कने गर्दछन् । छठ पर्व पारिवारिक मेल र आत्मियता अभिवृद्धिको अवसर समेत हुने गर्दछ ।
छठ पर्व धार्मिक सँगसँगै जातीय भेदभाव विरुद्धको पर्व समेत रहेको हेटौडाका धर्म तथा संस्कतिका जानकार रामचन्द्र आचार्य फुर्सदी बताउँछन् । उनका अनुसार यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एकै ठाँउमा पूजा अर्चनाका लागि सामेल हुन्छन् । जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबैभन्दा महत्वपूर्ण पक्ष यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त बनाउनु हो ।
कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ । छठमा प्रायः महिलाले व्रत वस्छन् भने पुरूषले उनीहरूको पुजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन ।
One Comment
Pingback: छठमा मकवानपुरका सागरहरू सुनसान - Khabar Break | Khabar Break