मकवानपुर /बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । यस प्रदेशमा शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या १ लाख ८ सय ९९ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रलयले जनाएको छ । जसमध्ये २१ हजार ९ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् भने ७८ हजार ४ सय २ जना निको भएर घर फर्केका छन् । हालसम्म नेपालमा १ हजार ७० जनाको कोरोनाको कारण मृत्यु भएकोमा ५ सय २६ जना बागमती प्रदेशको रहेको मन्त्रालयले जनाएको छ ।
यसै बिच कोरोना संक्रमित दैनिक जसो बढेता पनि बागमती प्रदेशमा सरकारी क्वारेन्टाइन र आइसोलसन वार्डहरु भने आकर्षण घटेको छ । घरैमा बसेर कोरोना जित्न सकिने र होम आइसोलेशनमा जस्तो केयर सरकारी आइसोलेशन र क्वारेन्टाइनमा नहुने भन्दै संक्रमितहरु घरै बस्न थालेका हुन् । कोरोना संक्रमितहरु सरकारी आइसोलेसन र क्वारेन्टाइनमा जान छोडेसँगै त्यहाँका वार्डहरु खालि हुँदै आएका छन् । सरकारी आइसोलेसन र क्वारेन्टीनमा भन्दा घरमै स्याहार पुग्ने र सामाजिक दृष्टिकोणले पनि उपयुक्त हुने भन्दै होम आईसोलेसनमा बढ्नेका संख्या बढेको हो । सरकारी तथ्याङ्क अनुसार बागमती प्रदेशका करिब ८० प्रतिशत संक्रमित घरमै बसेका छन् ।

आइसोलेसन वार्ड रित्तिदै गएपनि कोरोना पोजेटिभको संख्या भने घटेको छैन । प्रदेश सरकारले सबै कारोना संक्रमितको उपचार गर्ने भनेपनि घरमै बस्नेहरुको संख्या बढेपछि सरकारलाई आर्थिक भार भने कम परेको मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी हेटौंडाको सबैजसो टोलटोलमा कोरोना संक्रमित भएपनि उनीहरुमाथि निगरानी शुन्य जस्तै छ ।
कोरोना संक्रमितहरुको पहिले जस्तो कन्ट्रयाक्ट ट्रेसिङ गरिन छाडेको छ । कोरोना संक्रमितहरु खुलेर हिँड्ने गरेकोले पनि कोरोना संक्रमण दर बढिरहेको छ । “म संक्रमित हुँदा घरैमा ठुलो ब्यानर टाँसियो, टोलवासीबाट आफूले ठुलै अपराध गरे जस्तो व्यवहार भोगियो, झण्डै डिप्रेसनको शिकार भइन, अहिले कुनै वास्तै हुन छाड्यो,” २ महिना अगाडि कोरोना संक्रमण भएकी अधिकारकर्मी सर्मिला श्रेष्ठ भन्छिन् “उबेलाको हाउबुजि र अहिलेको बेवास्ता दुबै ठिक हैन ।” पछिल्लो समय सरकारी व्यवस्था प्रति विश्वास नभएकोले संक्रमितहरु घरैमा बस्न थालेको उनको ठम्याइ छ ।
कोरोना संक्रमण भइ एकसाता अघि मात्रै निको भएकी माइति नेपाल मकवानपुरकी प्रमुख माया लामा आफू संक्रमित हुँदा घरैमा बसेको कारण राम्रो स्याहार पाएर चाँडै उठेको बताउँछिन् । “श्वास फेर्न साह्रै गाह्रो हुन्थ्यो, धेरै गाह्रो गरेर १४ दिनमा रिपोर्ट पोजेटिभ आयो, अझै राम्रो सञ्चो भएको छैन, सरकारी आइसोलेशनमा गएको भए बिजोक हुन्थ्यो मेरो” उनले भनिन् “परिवारका माया र सद्भावसँगै हिम्मत बढाउँदा कोरोना जिते ।”
सरकारी सेवा सुविधा निशुल्क भएता पनि अहिले गुणस्तरमा प्रश्न उठ्न थालेको छ । सरकारी अधिकारीहरुको काममा इमान्दारिताको कमिले पनि सरकारी आइसोलेशनमा कोरोना संक्रमितको संख्या कम भएको आइसोलेशनमा बसेर निको भएकाहरु बताउँछन् ।
हेटौंडा–६ गौरीटार आइसोलेसन वार्ड हेटौंडा इन्चार्ज सागर काफ्लेका अनुसार यहाँको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमितको संख्या हाल जम्मा ७ जना मात्रै रहेको छ । १ सय २० बेड क्षमता रहेको आइसोलेसन वार्ड रित्तिदै गएपनि कोरोना पोजेटिभको संख्या भने घटेको छैन ।
जिल्लाभर सरकारी आइसोलेसनमा बस्नेको संख्या अहिले जम्मा १७ जना रहेको छ । आइसोलेसन वार्डहरु रित्तेपनि कोरोना संक्रमितले घरहरु भरिभराउ भएको छ । मकवानपुरमा मात्र होम आइसोलेसनमा बस्नेहरुको संख्या ८ सय ६१ जना रहेका छन् । बागमती प्रदेशमामा मात्रै १८ हजार भन्दा धेरै कोरोना संक्रमित होम आईसोलेसनमा बसेका छन् ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशको १३ जिल्लामा शनिबारसम्म संस्थागत आइसोलेशनमा बसेकाहरुको संख्या ३ हजार ६ सय ३३ जना छन् । भने होम आइसोलेशनमा बसेकाहरुको संख्या १८ हजार ४ सय ६८ रहेका छन् । त्यस्तै होम क्वारेन्टीनमा बस्नेहरुको संख्या शनिबारसम्म १ हजार ३ सय रहेको छ भने सरकारी क्वारेन्टीनमा बस्नेहरुको संख्या जम्मा २ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले सबै कारोना संक्रमितको उपचार गर्ने भनेपनि घरमै बस्नेहरुको संख्या बढेपछि सरकारलाई आर्थिक भार भने कम परेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी पुरुषोत्तम सेढाँईले बताए । होम आइसोलेसनमा बस्नेहरुमा सबैभन्दा धेरै काठमाडौंमा ११ हजार ३ सय ३० जना रहेको छ । यस्तै ललितपुरमा १ हजार ८ सय ३ र भक्तपुरमा १ हजार ७ सय ५० जना रहेका छन् ।