मकवानपुर । लोक सेवा आयोगले अदालतकाे अल्पकालिन आदेश पछी उपसचिव र सहसचिवको दरखास्त लिने कार्य स्थगन गर्ने निर्णय गरेको छ । दरखास्त लिने कार्य कार्तिक १९ गते बुधबारबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी(प्राविधिक र अप्राविधिक) पदमा दरखास्त लिने कार्य स्थगन गरेकाे छ । यस्तै स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला तर्फकाे सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगन गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले हस्ताक्षर गरी जारी गरिएकाे सूचनामा जनाएइएकाे छ ।
सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टा छुट्टै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । यससँगै सर्वोच्च अदालतले लोक सेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
