मकवानपुर । शनिबार देशभर थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हाल ३ सय ७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।
विश्वमा काेराेना संक्रमित ४ कराेड बढी
विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख भन्दा बढी पुगेको छ । ओर्ल्डोमिटरले दिएको जानकारी अनुसार शनिवार बिहानसम्म विश्वभर सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख ९७ हजार ३ सय ७९ पुगेको छ ।
अमेरिकामा मात्रै ८७ लाख ४७ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । २ लाख २९ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै भारतमा ७८ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख १७ हजार पुगेको छ ।
विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ लाख ४९ हजार भन्दा बढी रहेको छ । हालसम्म ३ करोड १४ लाख बढीले कोरोना सङ्क्रमण जितेका छन् ।
गत डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट चीनमा भने हालसम्म ९१ हजार १ सय ८ जना सङ्क्रमित भइसकेका छन्। चीनमा शुक्रवार थप २८ सङ्क्रमित भेटिएका थिए।सङ्क्रमितमध्ये चीनमा ४ हजार ७ सय ३९ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै ८५ हजार ९ सय ५० निको भइसकेका छन् ।