
- सम्झना घिमिरे
हाल उनी आफ्नी बुहारीसँगै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी हुन्छिन् । प्रजनन् स्वास्थ्य सम्बन्धी कुराहरु खुब चासो दिएर बुझ्न खोज्छिन् र जानेको कुरा निर्धक्कले बोल्न सक्छिन् ।
मकवानपुर / सामान्यतः प्रजनन् स्वास्थ्य भन्ने बित्तिकै महिलाले सन्तान जन्माउने अधिकार भन्ने आम बुझाइ छ । प्रजनन् स्वास्थ्य के महिलाको लागि मात्र हो ? कि पुरुषको लागि पनि हो त ? केही दिन अगाडि रिर्पाटिङ्को शिलशिलामा एक जना दिदी भेटिनु भयो । ११ वर्षमा विहे । १५ वर्षमै आमा बनेकी उनी ।
उनी हुन् हाल ७२ वर्षीया लालमाया लुम्बा । लालमायाको नाम मात्रै माया । मायाको सुगन्ध कहिल्यै पाइनन् जवानीमा । १५ वर्षको उमेरमा आमा बनेकी लालमाया सुत्केरी भएको ७ दिनमै घरायसी सारा कामको भार थाम्न तयार भईन् । तयार नहुनु पनि कसरी आफ्नो संस्कार नै त्यही थियो । समाजमा चलेको परम्परा अनुसार नै उनी कामको लागि तयार भइन् ।
तामाङ समुदायमा तीन दिनमा सुत्केरी चोख्याउने परम्परा । त्यसै अनुरुप चोखिएपछि अब काम गर्न सक्छे भनेर परिवारबाट कुरो आयो । लालमाया भन्छिन्ः “सबैले अब घरायसी काम गर्नु पर्छ भनेपछि आफूले पनि गरे ।” कुराकानीको शिलशिलामा उनले भनिन् : “ उबेला त सन्तान पाउने मात्र हाम्रो काम रैछ भन्ने लाग्यो, त्यही गरियो” उनी मन्द मुस्कुराइन् । “अब बुझ्दै छु प्रजनन् स्वास्थ्यको कुरा ।”
७२ वर्षको उमेर आफूले यसबारे चासो राखेर प्रजनन् स्वास्थ्यको कुरा सुन्ने गरेको उनले बताइन् ।
“स्वास्थ्य भन्ने कुन जन्तुको नाम था थेन १२ सन्तान जन्माइयो, ७ छोरा र ५ छोरी ।” उनका अनुसार उनले आफ्ना ४ छोरी सानैमा गुमाइन् । राम्रो स्याहार सुसार नपाएरै ।
हाल उनी आफ्नी बुहारीसँगै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी हुन्छिन् । प्रजनन् स्वास्थ्य सम्बन्धी कुराहरु खुब चासो दिएर बुझ्न खोज्छिन् र जानेको कुरा निर्धक्कले बोल्न सक्छिन् । मकवानपुरको बकैया गाउँपालिकाको विकट क्षेत्र च्यौ च्यौ हो उनको घर । उनी सँगै यहाँका महिलाहरु हाल प्रजनन स्वास्थ्यकाबारेमा रुचि राख्छन् ।
हालै आयोजना गरिएको प्रजनन् स्वास्थ्य बारेको कार्यक्रममा सहभागी थिइन् बास्ना माया भोलन पनि । उनले पनि १८ वर्षमा विहे गरिन् ।

लगातार चार सन्तान जन्माइन । भोलनले सुत्केरी भएको चार दिनमा घरायसि काम गर्न थालिन् बिस्तारै ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने समस्या देखिन थाल्यो, सुत्केरी स्याहार नभएर यस्तो समस्या आएको तीनलाइ राम्रोसँग जानकारी थिएन त्यतिबेला ।
“अहिले थाहा पाए मेरा स्वास्थ्यको समस्याहरु प्रजनन् स्वास्थ्य प्रति सजग नभएरै रहेछ” उनी भन्छिन् । “सन्तान जन्माउदा केही वर्ष फरक पार्नु पर्ने, कम्तिमा ४५ दिन पुरै आराम गर्नु पर्ने रहेछ भन्ने था नभएरै स्वास्थ्यमा समस्या आयो अहिले ३८ वर्षको उमेरमा था पाए पाए ।” प्रजनन् स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरूपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो ।
सिनियर अनमी निरीक्षक लक्ष्मी चापागाईंका अनुसार प्रजनन् स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन् अंगहरूको स्वास्थ्य, प्रजनन र यौनसम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । तर साधारण तया प्रजनन् स्वास्थ्य महिलासँग मात्र जोडेर हेर्ने गरिन्छ । यो गलत हो । हेटौडा अस्पतालमा कार्यरत चापागाईं प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको करिव दुई दशक भयो उनी आफ्नो अनुभव सुनाउदै भन्छिनः प्रजनन् स्वास्थ्य महिलाको मात्र लागि हो भन्ने सोचाइ छ । पुरुषहरुले पनि यो विषयमा उत्तिकै चासो दिनु पर्ने देखिन्छ । प्रजनन अंग महिलाको मात्र हुन्न पुरुषको पनि हुन्छ । तर समाजमा यो सम्बन्धी बुझाइमा धेरै समस्या भएकोले पनि महिलाहरुको स्वास्थ्यमा बढी समस्या देखिन्छ ।
प्रजनन् स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अंगहरूको स्वास्थ्य, प्रजनन र यौन सम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । तर साधारणतया प्रजनन स्वास्थ्य महिलासँग मात्र जोडेर हेर्ने गरिन्छ । यो गलत हो ।
मानिस प्रजनन रूपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन् अंगहरु ठीक,सबल हुनुमात्र नभई प्रजनन् तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण, अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ । त्यस्तै मानिस सामाजिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौन हैरानि गर्ने कार्यलाई पनि प्रजनन् अस्वस्थताको संज्ञा दिेने गरिन्छ ।
प्रजनन् स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन् अंगहरूको स्वास्थ्य, प्रजनन र यौन सम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । यस अन्तर्गत व्यक्तिहरूले ससुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन् । सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् । कोरोना भाइरसको संक्रमण विश्वमा फैलिरहेको अवस्थामा समेत ग्रामिण स्तरमा महिलासँग सम्वन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनमा लागि परिरहेकी महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपानेले कोभिड १९ मा सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भइरहेको बताइन् ।
उनका अनुसार लकडाउनमा कारण हाल महिलाहरु अनिच्छित रुपमा गर्भवति हुन बाध्य भएका केसहरु पनि बाहिर आएका छन् । जस्ले गर्दा महिलाहरुले अबैधानिक रुपमा गर्भपतन गराउन बाध्य भइरहेका छन् । नेपाल सरकारले महिलाको प्रजनन् स्वास्थ्यको ख्याल राख्दै सुरक्षित गर्भपतनको सुविधा ल्याएको छ तर ग्रामिण होस या शहरि क्षेत्रका महिलाहरु समेत अवान्छित गर्भवति हुनाले बाध्य भएर गर्भपतन गराउनु परेको त छँदै छ अर्को तिर शारिरिक सम्बन्ध नराखेकै भरमा सम्बन्ध विच्छेदका घटनाहरु दिनानुदिन बढिरहेको उनको भनाई छ ।
कोभिड १९ को समयमा महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यानमा राख्दै महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले ग्रामिण महिलाहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । टेवा नेपालको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बकैया गाउपालिकाका वडा नं ७ र ९ का महिलाहरुको सहभागिता रहेको थियो । तर जब स्वास्थ्य , महिला बालबालिका सम्बन्धी कार्यक्रम हुन्छ तब पुरुष पात्रको सहभागिता भने अत्यन्त न्यून हुने गरेको ग्रामिण स्वास्थ्य स्वमंसेविकाहरुको भनाइ रहेको छ । पुरुषहरु राजनितिक कार्यक्रममा अघि बढ्ने तर अन्य क्षेत्रमा भने न्युन उपस्थित हुनुले पनि महिलामा प्रजनन् स्वास्थ्य समस्या अझै गहिरायिमा पुगेर समाधानको उपाय अवलम्बन गर्न नसकिएको अध्यक्ष न्यौपानेले बताइन् ।