मकवानपुर /मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले यस वर्षको दशैमा आफन्तकोमा टिका लगाउन नजान गाउँपालिकाबासीलाई आग्रह गरेको छ । कोरोना संक्रमणको त्रास फैलिएको भन्दै गाउँपालिकाले आफन्तकोमा टीका लगाउन नजान र आफन्तलाई पनि आफ्नो घरमा नबोलाउन आग्रह गरेको छ ।
गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले आफन्तकोमा गएर टिका लगाउने र आफन्तलाई टिका लगाउनका लागि आमन्त्रण गर्ने कार्य रोक्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए । गाउँपालिकाले आज मंगलबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । सूचनामा भनिएको छ : “विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम उच्च हुँदै गएकोले दशैं तथा तिहार घरमै बसी मनाउनु हुन, आफन्तजनलाई आमन्त्रण नगराउनु हुन तथा टीका थाप्ने प्रयोजनका लागि यस बर्षलाई आफन्तजनहरुकोमा जाने काम नगर्नु नगराउनु हुन त उच्च सतर्कताका साथ चाडपर्व मनाउनुहुन समस्त गाउँपलिकाबासीहरुलाई हार्दिक अनुरोध गर्दछ ।”
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा दशैं तथा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउनु पर्ने, टिका लगाउन आफन्तकोमा जान नपाइने, शक्तिपिठ, मन्दिरहरुमा नियमित पूजा मात्र हुने, सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ हालेर सामुहिक रुपमा खेल्ने, लङ्गुर बुर्जालगायतका खेलहरु खेल्न, खेलाउन जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यसैगरी जुवा,तास, ध्रमपान, मध्यपानलगायत खेल्ने / पिउने कार्य नगर्ने, दशैंमा टिका लगाउने प्रयोजनका लागि हिँड्डुल गर्न नदिने, तिहारमा द्यैसी तथा भैलो खोल्न नपाइनेलगायतका कुरा उल्लेख छ ।