अहिले सबैभन्दा जल्दोबल्दो समस्या बनेको छः स्वास्थ्यको सवाल । कोरोना माहमारीको चपेटा झेलिरहेको बेला नेपालीहरुको महान पर्व दशै सुरु भएको छ । कोरोना महामारीको कारण सङ्कुचित बन्दै दैनिकी गुजार्दै आएको ७ महिना नाघेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि नेपालीहरुको लागि यो अर्को कष्टकर समय हो । हाल कोरोनाको विषम परिस्थितीको कारण समस्याग्रस्त दैनिकी चलाउनु परेको छ । कोरोना माहामारीको समयमा स्थानीय सरकारहरुले के कसरी काम गरिरहेका छन् । स्थानीय नागरिक प्रतिको जिम्मेवारी बहन गर्ने क्रममा के कस्ता कदमहरु चालिएका छन् ? यसबारे हामीले सहीवार्ता स्तम्भका लागि मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाका सामाजिक विकास अधिकृत गोबिन्द अधिकारीसँग कुराकानी गरेको थियौ । प्रस्तुत छ सोही कुराकानिको अंशः–
कोरोनाको महामारीका कसरी काम गरिरहनु भएको छ ? कत्तिको सहज छ काम गर्न ?
सहज पक्कै छैन । तर आम नागरिकको लागि हामीले आफ्नो जिम्मेवारी पुरा गर्ने शिलशिलामा हामी खटिरहेका छौ । हाम्रो गाउँपालिकामा पनि कोरोना महामारीको कारण अन्यत्र जस्तै चुनौति र समस्याहरु छन् । जसलाई हामीले सबै मिलेर सहजिकरण गर्दै आएका छौं । समाजमा जनचेतना फैलाउने, शंकाष्पद व्यक्तिहरुको पीसीआर टेष्ट गराउने, पोजेटिभ आएमा उहाँहरुलाई आइसोलेट गर्ने जस्ता काम गरिरहेका छौ ।
हालम्म यहाँको गाउँपालिकामा कति जनाको पीसीआर टेष्ट गराउनु भयो ? कति जनामा संक्रमण रहेको पुष्टि भयो ?
आजको मिति ( २०७७ कात्तिक २ गते) सम्म हामीले २ सय ९७ जनामा पीसीआर टेष्ट ग-यौ । जसमध्ये १७ जनामा कोरोना पुष्टि भयो । उहाँहरु मध्ये १६ जनालाई निको भैसकेको छ । संक्रमणको समयमा उहाँहरुको स्वास्थ्य अवस्था सामान्य नै थियो । आज (कात्तिक २ गते) पुष्टि भएको एक जनालाई सुर्योदय मावी आईसोलेसनमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य नै छ ।
यस गाउँपालिकामा आईसोलेशन तथा आईसियु छ कि छैन ?
आइसोलेशन छ । २५ बेड क्षमताको १ वटा आइसोलेशन छ । तर आईसियु छैन । संक्रमितको स्वास्थ्य अवस्था जटिल भएमा हामीले हेटौंडा एवम् भरतपुरमा रहेको कोरोना अस्पतालहरसँग समन्वय गरेर उपचार प्रदान गर्ने व्यवस्था मिलाएका छौं ।
कोरोना संक्रमितलाई आफ्नै साथी वा टोल/गाउँवासीबाटै दुर्व्यवहार हुने गरेको कुरा सुन्ने गरिन्छ । यहाँको गाउँपालिकामा चाँही यस्तो भएको छ की छैन ?
हामीलाई यसबारे कुनै लिखित जानकारी प्राप्त भएको छैन । जहाँसम्म लाग्छ यस्ता घटनाहरु भएका छैनन् ।
यस गाउँपालिकाले कोरोनाकालमा कोरोना नियन्त्रणको लागि कति बजेट खर्च ग-यो हालसम्म ?
चालू आवमा भएका खर्चहरुको विवरण तयार हुदैछ । गत असार मसान्तसम्म हामीले कोरोना नियन्त्रण, कोरोना महामारीमा राहत वितरण, जनचेतना प्रचारप्रसार लगायतको शिर्षकमा ६१ लाख ४९ हजार ३ सय ६४ हो खर्च भएको छ । यो विवरण सार्वजनिक भैसकेको छ । हामीले आम सर्वसाधारणलाई पनि खर्च विवरण सार्वजनिक गरिसकेका छौ । विपद व्यबस्थापन समितिको आयोजनामा भएको सार्वजनिक भेला मार्फत हामीले खर्च बारे सार्वजनिक गरेका थियो । यसबारे जानकारी हाम्रो अफिसियल वेबसाइटमा पनि राखिएको छ ।
यस गाउँपालिकामा विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यविधि बनाइएको छ कि छैन ?
बनाइएको छ । उक्त बनाइएको कार्य विधिलाई कोभिड– १९ रेस्पोन्स कार्यविधि समेट्न परिमार्जन पनि गरिसकिएको छ ।
राहत वितरणन सम्बन्धी मापदण्ड कसरी तय गर्नुभयो ? यसबारे पनि सूचनाहरु सार्वजनिक गर्नु भयो कि भएन ?
राक्सिराङ त्यसैपनि गरिबी र खाध्य संकटको समस्यामा पर्ने क्षेत्र हो । अझ कोभिड-१९ को लकडाउनले समस्या बढाईदियो । यस्तो अवस्थामा लकडाउनको सुरुवातदेखि अहिलेसम्म विभिन्न सहयोगी संघसंस्थाको सहयोग एवम् गाउँपालिकामार्फत हामीले धेरै चरणहरुमा गरेर लगभग ६००० जति प्याकेज राहत वितरण ग-यौ । राहत वितरणको लागि राक्सिराङ्ग गाउँपालिका विपद जोखिम न्यूनीकरण तथा व्यबस्थापन गर्न बनेको ऐन २०७५ को दफा १८ अनुसार नै काम गरेका हौं ।
यसको विवरण पनि हामीले सार्वजनिक सार्वजनिक गरिसकेका छौ । विपद व्यबस्थापन समितिको आयोजनामा भएको सार्वजनिक भेला मार्फत नै सामाजिक परीक्षण गराएका हौं ।
कोरोनाकालमा स्वास्थ्य सम्बन्धी औषधी आपुर्ती के कसरी गर्नुभयो ?
केही औषधिहरु हाम्रो स्वास्थ्य शाखाले खरिद ग-यो भने केही स्वास्थ्य कार्यालयसँग माग गरियो ।
कोरोना कालमा यसपालिकामा आत्म हत्याका घटना भए कि ?
आत्महत्याका घटना भएका छन् । तर कोरोना कै महामारीको कारण हो वा अन्य कारण स्पष्ट भएको छैन ।
शिक्षाको बारेमा पनि थोरै कुरा जोडौं, यस गाउँपालिकामा कोरोनाकालमा शिक्षण सिकाइको अवस्था के छ ?
सन्चार सुविधामा अन्यत्र जस्तो पहुँच नहुनाले अनलाइन कक्षाहरू सन्चालन गर्न सकिएको छैन । यध्यपि हाम्रो गाउँपालिकामा पठन पाठन भने सुरु भएको छ । बैकल्पिक सिकाई सहजीकरण क्रियाकलापको सहायतामा कार्य अगाडि बढाइएको छ । तर यसबाट सबै विद्यार्थीहरुले लाभ लिन सकेका छैनन् । सामुदायिक विद्यालयका ५० प्रतिशत बालबालिकाहरुले मात्रै सिकाई क्रियाकलापमा आफ्नो पहुँच स्थापना गर्न सकेको छन् । अरु बञ्चित नै छन् ।
कोरोनाको कारण कतिपय युवाहरुको रोजगारी नै खोसिएको कुरा सुन्ने गरिन्छ । यस गाउँपालिकाको अवस्था के छ ?
हो, कोभिड वा लकडाउनपछि ज्याला मजदुरीमा निर्भर युवाहरु लगभग १००० भन्दा बढीको नोकरी खोसिएको छ । उहाँहरुको दैनिक झन् झन् कष्टकर बन्दै आएकोछ ।