मकवानपुर । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।
बितेको २४ घण्टामा देशभर हालसम्मकै सर्वाधिक संख्यामा काेराेना भाइरसकाे संक्रमण थपिएकाे मन्त्रालयले जानकारी दिएकाे छ । शुक्रवार थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।
यस्तै आज शुक्रबारसम्म देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।