मकवानपुर / कोरोना भाइरसको माहामारीको समयमा वैकल्पिक सिकाइको रुपमा सञ्चालन गरिएको अनलाइन कक्षाको नाममा चर्को शुल्क उठाएको भन्दै मकवानपुरका विद्यार्थी संगठनहरुले आजबाट सुरु हुने गरि आन्दोलन घोषणा गरेका छन् ।
आज विहीबारबाट सुरु हुने गरी मकवानपुरका दुई ठुला विद्यार्थी संगठनहरुल निजी विद्यालय र कलेजको क्रियाकलापको विरोध जनाएका हुन् । अनलाईन कक्षाका नाममा विद्यार्थीहरुसँग चर्को शुल्क असुलेको भन्दै आन्दोलनको घोषणा गरिएको हो । हेटौंडामा सत्तारुढ नेकपा निकट अनेरास्ववियू र नेपाली काँग्रेस निकट नेविसंघले संयुक्त रुपमा केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । विद्यार्थी संगठनहरुले सार्वजनिक गरिएको संघर्षका कार्यक्रम अनुसार आज विहीबार विहान ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा घेराउ गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी भोली असोज १६ गते ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको गेटमा कालोपट्टि बाधेर धर्ना दिने, असोज १८ गते सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने र असोज १९ गते हेटौंडाको बुद्धचोकमा संर्घषका कार्यक्रमकाबारे प्ले कार्डसहित सचेतनामुलक प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको नेविसंघ मकवानपुर सभापति राजु खतिवडाले जानकारी दिए ।
विद्यार्थी संगठनको मागका बारेमा आइतबार वार्ता गर्ने तयारी भएको छ । यसअघि मंगलबार भएको पहिलो चरणको वार्तामा नागरपालिकाले ल्याएको शुल्क सम्बन्धि प्रस्तावमाथि प्याब्सन समहत नभएपछि आइतरबारको लागि दोस्रो चरणको वार्तामा बस्ने गरी बैठक सकिएको थियो । आइतबार बस्ने बैठकमा आन्दोलनरत विद्यार्थी संगठनहरु, नगरपालिका, प्याब्सन, अभिभावक संघका प्रतिनिधिहरु रहने छन् ।
विद्यार्थी संगठनहरुले गत भदौ २९ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाइ हेटौंडालाई र असोज ७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका थिए । हालको अवस्थाको मध्यनजर गर्दै पत्र बुझाएता पनि बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले कुनै पनि शैक्षिक संस्थाले अनलाईन कक्षाको नाममा चर्को शुल्क उठाउनु अवैधानिक भएको बताए । उनले सरकारी नीति विपरित स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारेको बताए ।