मकवानपुर । मकवानपुरका दुई ठुला विद्यार्थी संगठनहरुल पछिल्लो समय मकवानपुरका निजी विद्यालय र कलेजले अनलाईन कक्षाका नाममा विद्यार्थीहरुसंग चर्को शुल्क असुलेको भन्दै आउँदो असोज १५ गतेदेखि आन्दोलन गर्ने भएका छन् ।
सोमबार हेटौंडामा सत्तारुढ नेकपा निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसंघले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । विद्यार्थी संगठनहरुले गत भदौ २९ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाइ हेटौंडालाई र असोज ७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका थिए । हालको अवस्थाको मध्यनजर गर्दै पत्र बुझाएता पनि बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए ।
संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले कुनै पनि शैक्षिक संस्थाले अनलाईन कक्षाको नाममा चर्को शुल्क उठाउनु अवैधानिक भएको बताए । उनले सरकारी नीति विपरित स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारेको बताए ।
विद्यार्थी संगठनहरुले सार्वजनिक गरिएको संघर्षका कार्यक्रम अनुसार असोज १५ गते विहान ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा घेराऊ गर्ने, असोज १६ गते ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको गेटमा कालोपट्टि बाधेर धर्ना दिने, असोज १८ गते सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने र असोज १९ गते हेटौंडाको बुद्धचोकमा संर्घषका कार्यक्रमकाबारे प्ले कार्डसहित सचेतनामुलक प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको नेविसंघ मकवानपुरका सभापति राजु खतिवडाले जानकारी दिए ।
